यस्तो हुने भयो कांग्रेस पदाधिकारी सहितको केन्द्रीय समिति
वि.सं.२०८३ असोज १९ सोमवार १६:१६
shares

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी र केन्द्रीय समितिको आकार बढ्ने भएको छ । सोमबार महाधिवेशनस्थल खुलामञ्चमा बसेको केन्द्रीय समिति बैठकले पदाधिकारी तथा केन्द्रीय सदस्यको संख्या टुंगो लगाएको हो ।
बैठकले कांग्रेसमा १ सभापति, १ वरिष्ठ उपसभापति, ३ उपसभापति, ३ महामन्त्री, १५ सहमहामन्त्री र १ कोषाध्यक्षसहित २४ सदस्यीय पदाधिकारी रहने निर्णय गरेको छ । यस्तै एक जना प्रवक्ता रहनेछन् । हाल कांग्रेसको विधानमा २ जना उपसभापति र २ जना महामन्त्री रहने व्यवस्था छ ।बैठकले उपसभापति र महामन्त्रीको संख्या बढाएर ३–३ जना बनाउने निर्णय गरेको हो । यस्तै यसअघि ८ जना सहमहामन्त्री रहने व्यवस्था रहेकामा ४ जना मनोनीत महिलासहित १५ जना सहमहामन्त्री रहने व्यवस्था गर्न लागिएको छ ।
कांग्रेसभित्र पदाधिकारीका आकांक्षी धेरै भएपछि संख्या बढाएर भागबण्डा मिलाउन खोजिएको एक नेताले बताए । यसैगरी कांग्रेसको केन्द्रीय समिति २३२ सदस्यीय हुने भएको छ । त्यसमध्ये १७१ जना निर्वाचनबाट निर्वाचित हुनेछन् भने ६१ जना मनोनीत हुनेछन् ।केन्द्रीय समिति बैठकले तय गरेको संरचनाअनुसार प्रत्यक्ष खुलातर्फ ४५ जना, महिला प्रत्यक्षतर्फ १२ जना, प्रदेशतर्फ २८ जना, दलिततर्फ १२ जना, आदिवासी जनजातितर्फ १७ जना र खसआर्यतर्फ १५ जना निर्वाचित हुनेछन् ।यस्तै मधेसीतर्फ ११ जना, थारुतर्फ ५ जना, मुस्लिमतर्फ ३ जना, पिछडिएको क्षेत्रतर्फ २ जना, अल्पसंख्यक र अपांगतातर्फ १–१ जना तथा श्रमिकतर्फ ३ जना निर्वाचित हुनेछन् ।
पेशागततर्फ ७ जना र युवा (प्रदेश) तर्फ २१ जना निर्वाचित हुने व्यवस्था गरिएको छ । यस्तै प्रजातन्त्र सेनानी, द्वन्द्वपीडित र सहिद परिवारबाट गरी ३ जना निर्वाचित हुनेछन् । केन्द्रीय समिति र पदाधिकारीसम्बन्धी सोमबारको निर्णय महाधिवेशनको बन्दसत्रबाट पारित भएपछि मात्रै कार्यान्वयनमा जानेछ ।




































