आज यी प्रदेशमा बर्षाको सम्भावना
वि.सं.२०८३ असोज २५ आइतवार ०९:५०
shares

आज (आइतबार) पनि देशका केही स्थानमा वर्षाको सम्भावना देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भेगको आकाशमा आंशिक बादल लाग्नेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोसी, बागमती र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा भने मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।
यस्तै आज राति देशका हिमाली र पहाडी भेगको आकाशमा आंशिक बादल लाग्नेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ। कोसी, बागमती र कर्णाली प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना छ। तराईका थोरै भूभागमा बिहानपख हुस्सु लाग्ने सम्भावना छ।हाल नेपालमा पश्चिमी र मनसुनी दुवैथरी वायुको प्रभाव रहेको मौसम महाशाखाले जनाएको छ।मौसम महाशाखाले यही असोज १७ गते जारी गरेको ‘मनसुन बहिर्गमन बुलेटिन-१’ अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पूरै भागबाट मनसुन हटिसकेको छ भने लुम्बिनी प्रदेशको पश्चिमी भागका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भागका थोरै ठाउँबाट पनि मनसुन बाहिरिसकेको छ।
मनसुन बाहिरिँदै गर्दा देशभर पश्चिमी वायुको प्रभाव फैलिएको छ।नेपालबाट वर्षा यामको मौसम प्रणाली मनसुन बाहिरिने औसत मिति अक्टोबर २ तारिख हो। यद्यपि यो औसत मिति मात्र भएकाले मनसुन ठ्याक्कै यही दिन नेपालबाट बाहिरिँदैन, यसको केही दिन अघि वा पछि बाहिरिन्छ। यसपटक औसत मितिको भोलिपल्ट अर्थात् अक्टोबर ३ तारिखका दिन देशका केही प्रदेशबाट मनसुनको प्रभाव हटेको हो। अब केही दिनमा देशका बाँकी स्थानबाट पनि मनसुन बाहिरिने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।
नेपालमा मनसुन भित्रिने औसत मितिचाहिँ जुन १३ तारिख हो। यस वर्ष मनसुन यो मितिभन्दा ६ दिन ढिला जुन १९ तारिख (असार ५ गते) कोसी प्रदेशबाट प्रवेश गरेको थियो र क्रमश: फैलिँदै जुन ३० तारिख (असार १६ गते) सुदूरपश्चिम प्रदेशसम्म पुगेको थियो अर्थात् देशव्यापी भएको थियो।मनसुन अवधिमा नेपालमा मनसुनी अर्थात् पूर्वी वायु चल्छ भने यसको अन्त्यपछि पश्चिमी वायुको प्रभाव बढ्छ।मनसुन पूर्ण रूपमा अन्त्य भएपछि पोस्ट-मनसुन सुरु हुन्छ। यो सिजन २ महिना- अक्टोबर र नोभेम्बरसम्म रहन्छ। अनि डिसेम्बरदेखि विन्टर अर्थात् जाडो याम लाग्छ। विन्टर अर्थात् हिउँद ३ महिना अर्थात् फेब्रुअरीसम्म रहन्छ।
अनि मार्च १ देखि प्रि-मनसुन लाग्छ। प्रि-मनसुन ३ महिना-मार्च, अप्रिल र मेसम्म रहन्छ।यद्यपि मनसुन नभित्रिँदासम्म प्रि-मनसुन नै रहेको मानिन्छ। मनसुन सुरु भएपछि यो सिजन अन्त्य हुन्छ।मौसमविद्का अनुसार प्रि-मनसुन, मनसुन, पोस्ट-मनसुन र विन्टर गरी नेपालको मौसमलाई जम्मा ४ भागमा वर्गीकरण गरिएको छ।मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।
मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।





































