२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुरू भयो बडादशै, आज आइतबार जमरा राखिँदै

182
shares

काठमाडाैं । आज बडादशैंको पहिलो दिन अर्थात् आश्विन शुक्ल प्रतिपदालाई घटस्थापना भनिन्छ । यस दिनदेखि नेपालीहरूको महान् चाड बडादशैं औपचारिक रूपमा सुरु हुन्छ । यस दिनको धार्मिक, सांस्कृतिक र पौराणिक महत्त्व धेरै ठूलो छ ।

पौराणिक कथा अनुसार, महिषासुर नामका एक शक्तिशाली राक्षसले स्वर्ग र पृथ्वीमा ठूलो आतंक मच्चाएका थिए । उनको अत्याचारबाट देवताहरू समेत त्रसित भएर भाग्नुपरेको थियो । राक्षसको अन्त्यका लागि ब्रह्मा, विष्णु र महेश (शिव) लगायतका प्रमुख देवताहरूले आफ्नो तेज (ऊर्जा) मिलाएर एक महाशक्तिशाली नारी शक्तिको सिर्जना गरे, जसलाई माता दुर्गा भनियो । माता दुर्गा र महिषासुरबीच लगातार नौ दिनसम्म भीषण युद्ध भयो । नौ रातको यो युद्धपछि दशौं दिनमा देवीले महिषासुरको वध गरिन् र सत्य, न्याय तथा धर्मको विजय भयो । यही नौ दिनको लडाइँको सम्झनामा नवरात्रभर देवीको आरधाना र पूजा गर्ने चलन बसेको हो । धर्मशास्त्र अनुसार यस दिन माता दुर्गा स्वर्गलोकबाट पृथ्वीलोकमा आगमन गर्छिन् भन्ने धार्मिक विश्वास रहेको छ ।

अर्को ऐतिहासिक तथा पौराणिक ग्रन्थ रामायणका अनुसार त्रेतायुगमा भगवान् रामले लंकाका राजा रावणसँग युद्ध गर्न जानुअघि विजय प्राप्त गर्नका लागि आश्विन शुक्ल प्रतिपदाकै दिनदेखि चण्डी पाठ र नवरात्र व्रत सुरु गरेका थिए । भगवान् रामले नौ दिनसम्म विधिपूर्वक देवीको पूजा गरेपछि दशमीको दिन माता दुर्गाबाट विशेष शक्ति र आशीर्वाद प्राप्त गरी रावणमाथि विजय हासिल गरेकाे विश्वास गरिन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्षको बडादशैंअन्तर्गत जमरा राख्ने (घटस्थापना) शुभ साइत बिहान ११ बजेर ४७ मिनेटमा उत्तम रहेको छ । तर, घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले पूजा तथा जमरा राख्नुपूर्व तिनको शान्ति (दोष निवारण) गर्नुपर्ने समितिले जनाएको छ ।यस दिन घरको पूजाकोठा वा दशैं घरमा पवित्र बालुवा र माटो मिसाएर उसमा जौ, गहुँ, मकै वा धान छर्ने गरिन्छ । यसलाई ‘जमरा’ भनिन्छ, जुन विजयादशमीका दिन टीका लगाउँदा मान्यजनको हातबाट प्रसादको रूपमा लगाइन्छ ।

घटस्थापनाका दिन पूजाकक्षमा जलले भरिएको कलश (घट) स्थापना गरिन्छ । यस कलशमा गणेश, वरुणादी देवता र नवदुर्गाको आह्वान गरी पूजा गरिन्छ । कलशको माथि आँप वा अशोकको पालव (पल्लव) राखेर त्यसमाथि नरिवल राखिन्छ । घडालाई ब्रम्हा, विष्णु र महेशसहित सम्पूर्ण देवी-देवता, सागर, सप्तद्वीप र तीर्थहरूको प्रतीक मानिन्छ । यसमा जल राखेर तामा वा माटो माथि जौ छर्ने ठाउँ बनाइन्छ । यस दिनदेखि नवरात्रभरि (नौ रात दश दिन) शक्ति स्वरूपा नवदुर्गा भवानी (शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री)को विधिपूर्वक आह्वान र आरधाना गरिन्छ ।

घटस्थापनामा उमार्ने गरिने जौको जमरालाई आयुर्वेदमा औषधीय गुणले युक्त मानिन्छ । जमराको रस स्वास्थ्यका लागि अत्यन्त लाभदायक मानिन्छ, जसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ । महान चाडपर्वको सुरुआतसँगै घर टोल सरसफाइ गर्ने, पूजापाठ र सकारात्मक वातावरण सिर्जना गर्ने परम्पराले मानसिक ताजगी र सामाजिक सद्भाव अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्छ । घटस्थापनाले व्यक्तिभित्र रहेका नकारात्मक प्रवृत्ति, अहङ्कार र विकारहरूलाई हटाएर सदाचार, शक्ति र सकारात्मक ऊर्जा प्राप्त गर्ने प्रेरणा प्रदान गर्दछ ।

नौ दिनको यो अवधिलाई साधकहरूले आत्मिक शुद्धता, संयम र मानसिक एकाग्रताको समयको रूपमा लिन्छन् । यस अवधिमा मन, वचन र कर्मले शुद्ध भएर देवीको उपासना गर्नाले घरमा सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports