उपत्यकाका तीनवटै जिल्लामा दसैँको सुरक्षाका लागि ८ हजारभन्दा बढी प्रहरी परिचाल
वि.सं.२०८३ असोज २९ बिहीवार १४:०१
shares

काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा दसैँको सुरक्षाका लागि ८ हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरमा ८ हजार १५ जना प्रहरी परिचालन गर्नेगरी उपत्यका प्रहरी कार्यालयले दसैँ सुरक्षा योजना लागू गरेको हो ।
असोज ३१ गते फूलपातीदेखि दसैँको बिदा सुरु हुन्छ । सुरक्षा योजना छठसम्म लागू गरिने उपत्यका प्रहरी कार्यालयका डीआईजी गोविन्द थपलियाले बताए ।दसैँमा धेरै किनमेल हुने बजार, व्यापारिक केन्द्र, बसपार्क र उपत्यका प्रवेश गर्ने नाकाहरूमा सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ । उपत्यका प्रवेश गर्ने मुख्य नाका थानकोट, साँगा, फर्पिङ, मुड्खु, टोखा, जर्सिङपौवा र भट्टेडाँडामा सादा पोसाकका सुरक्षाकर्मीसँगै तालिमप्राप्त कुकुर प्रयोग गरेर चेकजाँच थालिएको छ ।
नाकामा डग स्निफिङ गरेर चेकजाँच थालिएको डीआईजी थपलियाले बताए । उनले भने, ‘मुख्य बजार क्षेत्रमा ड्रोनबाट निगरानी गरिएको छ, लुटपाट र पाकेटमारी हुन सक्ने स्थानमा माइकिङ पनि गर्नेगरी सुरक्षा योजना लागू भएको छ ।’सैले विस्फोटक पदार्थ र लागुऔषध ल्याएमा तालिमप्राप्त कुकुरले सुँघेर पत्ता लगाउँछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित उपत्यकाभर ३७ ठाउँमा नागरिक सहायता कक्ष राखिएको छ । काठमाडौं जिल्लामा मात्रै १५ ठाउँमा यात्रु सहायता कक्ष राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेले बताए ।
सार्वजनिक यातायात र निजी सवारीचालकले मादक पदार्थ र लागुपदार्थ सेवन गरेर चलाउन सक्ने आशंकामा उपत्यका ट्राफिक प्रहरी कार्यालयले २४ सै घण्टा मापसे र लापसे चेकिङ गरिरहेको छ । असोज २५ देखि नयाँ बसपार्क, कलंकी, भक्तपुरको जगाती र ललितपुरको टिकाभैरवमा लापसे र मापसे चेकिङ सुरु गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी सुरेश काफ्लेले बताए ।सुरक्षा योजना लागू भएपछि लापसे गरेर सवारी चलाउने १२ जना र मापसे गरेर सवारी चलाउने २४६ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये १८ जना सार्वजनिक सवारीका चालकले मापसे गरेर चलाएको भेटिएको एसएसपी काफ्लेले बताए ।
स्विप अपरेसन सञ्चालन गरेर उपत्यकामा रातको समयमा शंकास्पद तरिकाले हिँडडुल गरेका ३४१ जनालाई नियन्त्रणमा लिएर प्रहरीले स्क्रिनिङ गरेको छ । दसैँको सुरक्षा योजना लागू भएसँगै प्रहरीले काठमाडौं उपत्यकाबाट ७ जनालाई फलामको रडसहित फेला पारेर अनुसन्धान गरिरहेको छ । चाडपर्व सुरक्षा योजना लागू भएपछि पक्राउ परेकाहरूलाई स्क्रिनिङ गर्दा १२ जनाको रेकर्ड प्रहरीको सीआरएस (क्रिमिनल रेकर्ड सिस्टम) मा मेल खाएको छ । मुद्दा चलेर फरार रहेका आरोपीहरूलाई प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
बैंक तथा वित्तीय संस्था, सुनचाँदीको कारोबार हुने ठाउँ र आर्थिक कारोबार हुने स्थानमा सीसीटीभीमार्फत २४ सै घण्टा निगरानी भइरहेको डीआईजी थपलियाले बताए । काठमाडौं उपत्यका प्रहरी कार्यालयले उपत्यकामा हुन सक्ने सम्भावित ९ वटा घटनालाई मुख्य सुरक्षा चुनौतीका रूपमा पहिचान गरेको छ । सुरक्षा चुनौतीकै आधारमा आफ्नो सुरक्षा रणनीति तयार गरेर अघि बढाएको हो । सुरक्षा योजनाअनुसार आर्थिक अपराध र ठगीलाई प्रमुख चुनौतीका रूपमा हेरिएको छ । विशेषगरी कारोबार तथा लेनदेनसम्बन्धी ठगी, बैंक तथा वित्तीय ठगी र पछिल्लो समय डरलाग्दो रूपमा बढ्दै गएको अनलाइन स्क्यामलाई प्रहरीले उच्च निगरानीमा राखेको छ ।
दैनिक उपभोग्य सामानको अस्वाभाविक मूल्यवृद्धि, गुणस्तरहीन वस्तुको वितरण, कृत्रिम अभाव र कालोबजारीलाई पनि सुरक्षा चुनौतीको सूचीमा राखेर प्रहरीले बजार अनुगमनलाई तीव्रता दिएको छ ।भौतिक सुरक्षातर्फ चोरी, लुटपाट, गुण्डागर्दी, झैझगडा तथा वादविवाद हुन सक्ने भन्दै प्रहरीले सम्भावित क्षेत्रमा गस्ती बढाउने गरी सुरक्षा योजना लागू गरेको छ । सवारी दुर्घटना र यात्रुलाई बिचौलियाले हैरानी पार्न सक्ने सम्भावनालाई सुरक्षा चुनौतीका रूपमा विश्लेषण गरिएको छ ।अघिल्ला वर्षहरूमा पनि टिकट अभावको बहानामा यात्रुलाई बिचौलियाहरूले हैरानी दिने र ठग्ने गरेका थिए । ठगी नियन्त्रण गर्न विशेष ट्राफिक व्यवस्थापन र निगरानी गरिने सुरक्षा योजनामा उल्लेख छ ।
यसबाहेक, समाजमा विकृतिका रूपमा फैलिने जुवातास तथा सट्टेबाजी सञ्चालन हुन सक्ने आकलन गरिएको छ । पटका लगायतका विस्फोटक पदार्थको प्रयोग हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रहरीले कडा कारबाही गर्नेगरी सुरक्षा योजना लागू गरेको छ । सुरक्षा योजनाअनुसार काठमाडौंको नयाँ बसपार्कमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ । धेरै मानिसहरू नयाँ बसपार्क हुँदै बाहिरिन्छन् । टिकटमा कालोबजारी र यात्रुलाई हैरानी पार्ने गतिविधि नियन्त्रण गर्न बसपार्क क्षेत्रमा नियमित ड्युटीमा खटिनेबाहेक थप ३० जना प्रहरी परिचालन गरिएको काठमाडौंका एसएसपी दिलीप घिमिरेले जानकारी दिए ।




































