स्वर्गीय पत्रकार बसन्तप्रकाश उपाध्यायको परिवारलाई नेजा मार्फत १६ लाख भन्दा बढी नेपाल पत्रकार महासंघ मार्फत हस्तान्तरण
वि.सं.२०८३ कात्तिक ३ मंगलवार १४:४५
shares

काठमाडौँ । स्वर्गीय पत्रकार बसन्तप्रकाश उपाध्यायको परिवारलाई सहयोग गर्न नेपाल अमेरिका पत्रकार संघ (नेजा) को पहलमा संकलित १६ लाख रुपैयाँभन्दा बढी रकम नेपाल पत्रकार महासंघमार्फत हस्तान्तरण गरिएको छ ।
स्वर्गीय उपाध्यायकी धर्मपत्नी इन्दिरा कार्की उपाध्यायको मिर्गौला रोगको उपचार तथा उनका ९४ वर्षीय बुबा छायाँदत्त उपाध्यायको हेरचाहका लागि उक्त रकम संकलन गरिएको हो ।
नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले यही कात्तिक २ गते सोमबार इन्दिरा कार्की उपाध्यायलाई १२ लाख ५ हजार ८७५ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरणका क्रममा महासंघका कोषाध्यक्ष रामकृष्ण अधिकारी र तनहुँ अन्तर्राष्ट्रिय समाजका राजन त्रिपाठी पनि उपस्थित थिए ।
नेजाको पहलमा संकलित कुल १६ लाख ७ हजार ८३२ रुपैयाँ ९ पैसामध्ये बाँकी ४ लाख १ हजार ९५७ रुपैयाँ दशैंलगत्तै छायाँदत्त उपाध्यायको हेरचाहका लागि उनकै बैंक खातामा जम्मा गरिने महासंघले जनाएको छ ।
सहयोग रकम जुटाउन पहल गर्ने नेजा परिवार, अमेरिकामा रहेका तनहुँका शुभचिन्तक, तनहुँ अन्तर्राष्ट्रिय समाज र तनहुँ समाज पोखराप्रति महासंघले आभार व्यक्त गरेको छ ।





































