एसिया कपमा छनोट भएको नेपाली क्रिकेट टोलीलाई क्यानले ३० लाख पुरस्कार दिने घोषणा
वि.सं.२०८३ कात्तिक ९ सोमवार ०९:५२
shares

काठमाडौँ- नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी एसिया कपमा स्थान बनाउन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ।
नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले टोलीका लागि पुरस्कार रकमको घोषणा गरे।
नेपालले गत सेप्टेम्बरमा संयुक्त अरब इमिरेट्स (युएई)लाई ४४ रनले हराउँदै दोस्रोपटक एकदिवसीय एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको थियो। एसिया कपमा छनोट हुनु नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण उपलब्धि रहेको उल्लेख गर्दै अध्यक्ष चन्दले टोलीका लागि सरकारले पनि पुरस्कार घोषणा गर्नुपर्नेमा जोड दिए।
अध्यक्ष चन्दका अनुसार एनपिएलले देशको अर्थतन्त्र र खेलकुद क्षेत्रलाई चलायमान बनाउन ठूलो टेवा पुर्याएको छ। उनले कठिन परिस्थितिका बाबजुद सबै निकायबीच समन्वय गरेर प्रतियोगिता आयोजना गरिएको बताए।साथै, पहिलो संस्करणको तुलनामा दोस्रो संस्करणमा एनपिएलको वित्तीय पारदर्शिता र लेखापरीक्षण (अडिट) प्रक्रियामा उल्लेख्य सुधार आएको पनि उनले जानकारी दिए।


































