नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

लोकमाथि झेल, लोकतान्त्रिक खेल, पार्टीहरूको पेलमपेल !

507
shares

 

राजन कार्की

नैतिक सीमामा बसेर चल्ने र चलाउने व्यवस्था हो लोकतन्त्र । बिगत १५ वर्षदेखि नैतिकतामा पहिरो गइरहेको छ र नैतिकहीन देखिनेहरुको हातमा लोकतन्त्र चलिरहेको छ । यसैले देश सकसमा छ । लोकमाथि झेल, लोकतान्त्रिक खेल र पार्टीहरुको पेलमपेलमात्र बढेको छ । यसैले विधिमा चल्ने व्यवस्थाप्रति जनआकर्षण घट्दै गएको छ । आमनागरिक बरु पुरानै व्यवस्था ठिक भन्न थालिसकेका छन् ।
परिवर्तन भनेको राम्रोको लागि हो । परिवर्तन अग्रगमनका लागि हो । बढी सभ्य र शान्तिका लागि हो । समृद्धि र सुशासनका लागि हो । नेपालमा जे जस्तो परिवर्तन भयो, नयाँ नेपाल बनाउने नाममा भयो, सर्वहारा र सिमान्तकृतलाई अधिकार सम्पन्न बनाउन तथा समानताका नाममा भयो तर कुनै पनि एजेण्डा व्यवहारमा उतार्न सकिएन । जसले नेतृत्व लिए तिनले जिम्मेवारी बहन गर्नै सकेनन् । परिवर्तनका बाहक जो थिए, शासक तिनै छन् । तिनलाई उज्यालो छर्न कुनै बाधा अड्चन छैन तर तिनले दियो बाल्न सकेनन् । मै खाउँ मै लाउँको नीति अँगाल्दा आमनागरिक नेतृत्वसँग रुष्ठ छ । रुष्ठ नागरिक बिद्रोह गर्न सक्दैन, यसकारण लोकमाथि जालझेल चलिरहेको छ । शासन सत्तामा यिनै झेलझाल, पेलपाल गर्नेहरुको सेटिङ चलिरहेको छ ।
सर्पले सर्पको खुट्टा देख्छ भनेझैं एक नेताले अर्को नेताको कमजोरी बुझेको छ । यसकारण त बुढी गण्डकीमा ३ पूर्वप्रधानमन्त्रीले ३–३ अर्व खाएका छन् भनेर अर्का पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सार्वजनिक रुपमा आरोप लगाइसक्दा पनि कुनै छानबिन हुँदैन । हरेक ठूला नेता हरेक साना ठूला भ्रष्टाचारमा मुछिएका छन्, न छानबिन हुन्छ, न कारवाही । सत्ता परिवर्तन हुन्छ र हरेक सत्ताले भ्रष्टाचारका मामिलालाई छोपछाप पारेर दबाउने गरेका छन् ।
यसरी लोकमाथि झेल, लोकतान्त्रिक खेल, पार्टीहरुको पेलमपेल निरन्तर जारी छ । बागमती ढलमती बनेर बगिरहेझैं लोकतन्त्र चलिरहेको छ ।
नेताहरुको झेलका कारणले लोकतन्त्र फेल भयो । पद्धति, प्रणालीमात्र फेल भएको भए हुनुथियो, देश नै फेल अवस्थामा पुग्यो र पो कहाली लाग्न थालेको छ । देशलाई सम्हाल्ने, नेतृत्व दिने सक्षम नेतृत्व देखिएन । जुन पार्टी वा नेता सत्तामा पुग्छन्, उनीहरु आफ्नो स्वार्थ मात्र हेर्छन् । भनिन्छ, सक्षम नेतृत्वले नित्य अनुशासनको प्रयोग गर्नुपर्दछ, नियमलाई मात्र हेर्नु हुँदैन । नियमको साथमा अनुशासनलाई सधैं पालना गर्नुपर्छ । हाम्रो राजनीति, प्रशासन सदैव अनुशासन र नियमलाई स्वार्थमा प्रयोग गर्ने हतियार बनाइदिए । जसका कारणले नेतृत्व झेली देखियो, लोकतन्त्र फेल भयो । संविधान कागजको खोस्टो बन्यो । अराजकता, निरन्तर अराजकताको सिकार बन्नपुग्यो मुलुक ।
हाम्रो राजनीतिले पालना गर्न नसकेको विषय भनेको सहनशीलता र दूरदर्शिता हो । शासन प्रशासनको अन्धकार यही हो । चेतना हुनुपर्ने हो अन्धकार प्रकाशतर्फ चल्दछ, अन्धोपन मृत्युतर्फ । नेपाली राजनीति अन्धकारमात्र होइन, अन्धोपनबाट पनि ग्रसित देखिन्छ । यसकारण त नेतृत्व होसमा छ, चेतमा पनि छ तर घमण्डले चूर छ ।
यतिबेला नेपालको राजनीति चुनावतर्फ उन्मुख छ । चुनाव नियमित प्रकृया हो लोकतन्त्रमा । तर नेतृत्वले जहिले पनि चुनावलाई जीवन मरणको सवाल बनाएका छन् । घोषणापत्र, कार्यक्रमको खाका, दिन खोजेको उपलब्धि भाषणमा सिमित राख्छन् । सुखद भ्रम फैलाउँछन् र सुख कहिले पनि दिने प्रयास गर्दैनन् । यसकारण त १५ वर्षे लोकतन्त्रलाई सुकेनास लागेको छ । कहिल्यै हल्किन सकेन । लोकतन्त्रजस्तो विश्व खुश राख्नसक्ने व्यवस्था पाएर पनि नेपालमा मुर्खहरुको अड्डाजस्ता बन्नपुगेको छ ।
स्थानीय चुनाव जति जति नजिकियो, सत्तारुढ र प्रतिपक्षीबीच पेच हानाहान बढ्दै गएको छ । सत्तारुढ गठबन्धनका ५ दलबीचको पिरलो गठबन्धन भत्किएला र अस्तित्व संकटमा पर्ला भन्ने रहेको छ भने प्रतिपक्षी एमाले गठबन्धन भत्काउन सकिएन भने गठबन्धनले बढार्ला भन्ने चिन्ता रहेको देखिन्छ । शीर्ष नेतामा नेतृत्व असफल होला भन्ने हुटहुटी छ भने दोस्रो र तेस्रो तहका नेताहरू टिकट नपाइएला भन्ने उकुसमुकुसमा छन् ।
सत्तारुढ दल आफ्ना नेताहरू प्रतिपक्षीमा जालान् भन्ने समस्यामा छन् भने प्रतिपक्षीलाई सत्तारुढका चुनाव जित्नसक्ने खालका नेताहरूलाई आफ्नो दलमा प्रवेश गराउन पाए हुनेथियो भन्ने छ । यही उद्देश्यका लागि सत्तारुढ पाँचै दल र प्रतिपक्षी एमाले हिमाल, पहाड, तराई सबैतिर दौडादौड गर्न थालेका छन् । अर्थात्, यसपल्टको स्थानीय चुनावले प्रदेश र केन्द्रको चुनावको परिदृश्य देखिनेछ भन्छन् निर्वाचन विशेषज्ञहरू ।
अन्य साना दलहरूका आआफ्नै समस्या छन् । राप्रपाजस्तो बैकल्पिक शक्ति बन्छु भन्ने दलले समेत हलो चिन्ह नपाए चुनाव बहिष्कार गरिन्छ भन्ने घोषणा गर्न पुग्यो । राप्रपा नेपाल, जसपा, मधेश लोकतान्त्रिक र अन्य साना दलहरुको छटपटी कुन कुन पार्टीसँग गठबन्धन गर्न पाए चुनाव जितिन्थ्यो भन्ने रहेको छ ।
यसैबीच नेकपा क्रान्तिकारी अर्थात वैद्य समूहले चुनाव बहिष्कार गर्ने घोषणा गरिसकेको छ भने अन्य केही दलले नो भोटको माँग गरिरहेका छन् । यसपल्ट पनि नो भोट र राम्रो काम नगरेका जनप्रतिनिधिलाई फिर्ता गर्नसक्ने अधिकार मतदाताले नपाउने भएका छन् ।
चुनावको कडी गठबन्धन सरकार र प्रमुख प्रतिपक्षी एमालेमा छ । उनीहरू चुनावका लागि तानाबाना बुनेर चुनाव जित्ने रणनीतिमा लागिसकेका छन् । गठबन्धनका दुई ठूला घटक भनिएका माओवादी केन्द्र र नेकपा सका अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल प्रधानमन्त्रीलाई मनाएर जसरी पनि गठबन्धनका साथ चुनावमा जान चाहन्छन् । नेपाल कांग्रेस भनेको शेरबहादुर देउवा र उनी नै प्रधानमन्त्रीसमेत रहेकाले उनको निर्णय नेपाली कांग्रेसमा निर्णायक हुने पक्का छ । गगन थापाहरु एक्लै चुनावमा जाने भनेर चिच्याउँदैमा केही हुनेवाला छैन । घरदैलो कार्यक्रममा गठबन्धन कहाँ कहाँ गर्ने भनेर सुझाव पनि संकलन भइरहेकाले त्यसपछि कांग्रेसले गठबन्धनका साथ चुनावमा जाने निर्णय गर्नेछ ।
त्यसो त कांग्रेसलाई पनि एमसिसीका कारणले एमालेले स्वीप गरेर चुनाव जित्ला भन्ने भय छ । प्रचण्ड र माधवलाई त अस्तित्वकै संकट परेको देखिन्छ । यसकारण गठबन्धनका साथ एमालेको आमने सामने टक्करपर्ने निश्चित छ ।
चुनाव लाग्यो, देश चुनावमय बन्दै गएको छ । अर्थमन्त्रालयले बजेट दिए वा नदिए पनि चुनाव हुन्छ । सत्तारुढ गठबन्धन ‘जसरी पनि’ एमालेलाई पछार्ने मनस्थितिमा पुगेका छन् ।
तर, देश र जनतालाई सोच्ने कोही छैनन् । एमसिसी पारित भएपछि चीनका विदेशमन्त्री चैत्र १२ गते नेपाल भ्रमणमा आउने छन् । उनले बीआरआईको प्रश्नमात्र उठाउने छैनन्, एमसिसी पारित गरेपनि नेपाल किन आइपिएसजस्तो अमेरिकी सैनिक रणनीतिमा प्रवेश गरेको ? भन्ने प्रश्नको जवाफ पनि खोज्नेछ । त्यसो त ग्लोबल टाइम्समा राष्ट्रपति विद्यादेवी भण्डारीले हालै एक अन्तर्वार्ता दिएर नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धता जनाएकी छिन् । नेपालको कथनी र करनीमा भिन्नता बढेपछि चीन नेपाली नेताहरूप्रति सशंकित भएकै कारण चीनका विदेशमन्त्री नेपाल भ्रमणमा आउन लागेका हुन् ।
चीनले नेपालको झण्डै १४ सय किलोमिटर लामो सीमामा आफ्नो सैनिक उपस्थिति बढाएको खबर छ । नेपालसँगको सीमामा सैनिक सिल बढाउनु भनेको नेपालप्रतिको विश्वासको भर चीनले नगरेकै हो । लामो समयदेखि चीनले नेपालसँग जोडिएका नाकामा कडीकडाउ गर्दै आएको छ ।

नेपाल चीनबीचका व्यापारमा कटौति गरेको छ । चीनले केही कन्टेनर सेवा रसुवानाकाबाट खोल्ने भने पनि तातोपानी नाका अर्थात मितेरी पुलको मितेरी साइनो भूकम्पपछि साँघुरिएको छ ।
पञ्चशील र असंलग्न परराष्ट्रनीतिमा नेपाल चुक्दै जानुले नेपालको कूटनीतिक क्षमतामा ह्रास आएको पक्कै हो । स्थानीय र त्यसपछि प्रदेश तथा संघीय चुनावका बेलामा राजनीतिक तिक्तता बढ्ने र नेपालको कूटनीतिमा ध्यान कम जाने भएकाले नेपालको विश्व व्यक्तित्व अरु चाउरिनेछ ।
देश र जनताप्रति संवेदनशील हुनुपर्ने स्थायी सरकारको रुपमा रहेको प्रशासन, नागरिक समाज, बुद्धिजीवी, प्रेसले राजनीतिकरण भइदिंदा नेपालको अस्तित्व जोखिममा पर्दैगएको छ । यसतिर ध्यान दिने कसले ?

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports