हृदयेश त्रिपाठीको हैसियत स्वाहा
वि.सं.२०७९ वैशाख १२ सोमवार २१:०४
shares

परासी । जनता प्रगतिशिल पार्टी नामको नयाँ दल दर्ता गरेर स्थानीय तह निर्वाचनमा सहभागी भएका पूर्वमन्त्री हृदयेश त्रिपाठीले आफ्नै जिल्ला पश्चिम नवलपरासीका अधिकांश पालिकामा उमेदवार नै उठाउन सकेनन् ।
उनी आफ्नै जिल्लामा कमजोर देखिएका छन् । त्रिपाठीले १७ जिल्लामा पार्टीको संगठन रहेको दाबी गर्दै आएका थिए । तर उनले ७ वटा पालिका रहेको पश्चिम नवलपरासीमा अधिकांश ठाउँमा उम्मेदवार नै भेटेनन् । उनको दलले आफ्नो ठाउँ प्रतापपुर गाउँपालिकामा मात्र प्रमुख सहित सबै पदमा उमेदवारी दिएको छ ।सुस्ता गाउँपालिकामा एउटा वडामा उमेदवार नपाए पनि अध्यक्ष र उपाध्यक्ष सहित अन्य वडामा उमेदवारी परेको छ । केही पालिकामा वडा तहमा उमेदवार उठाए पनि सुनवल नगरपालिका र सरावल गाउँपालिकाका कुनै पनि पदमा उनको पार्टीले उमेदवार उठाउन सकेन ।
सदरमुकामको रामग्राम नगरपालिका सहित जिल्लाका कुनै पनि नगरपालिकाकामा प्रमुख र उपप्रमुख उठाउन सकेनन् । रामग्राममा ३ वटा वडा र बर्दघाटमा ३ वटा वडामा अध्यक्ष पदमा मात्र उमेदवारी दिएको जनता प्रगतिशिल पार्टीका जिल्ला अध्यक्ष राधेरमण पाण्डेले बताए ।
त्रिपाटीको दल बाट पाल्हीनन्दनमा एउटा वडामा मात्र अध्यक्ष पदमा उमेदवारी परेको छ । उमेदवारी दिने व्यक्ति नै पाउनु भएन भन्ने प्रश्नमा जिल्ला अध्यक्ष पाण्डेले भने, ‘उमेदवार नै पाएनौं भन्दा पनि नयाँ दल भएर थोरै गाह्रो भएको हो ।’ एमालेको सूर्य चिन्ह लिएर पश्चिम नवलपरासी प्रतिनिधि सभा क्षेत्र नं. १ बाट त्रिपाठीले प्रतिनिधि सभा चुनाव जितेका हुन् । केपी ओली नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री समेत रहेका त्रिपाठीले तत्कालीन राजपा छाडेर सूर्य चिन्ह बाट चुनाव लडेका थिए ।



































