को कहाँ बाट उम्मेदवार भए पत्रकारहरू
वि.सं.२०७९ वैशाख १३ मंगलवार २०:५९
shares

काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पत्रकारहरु पनि प्रतिस्पर्धामा छन् । देशैभरिका ७५३ वटै स्थानीय तहमध्ये नगरपालिका, गाउँपालिकाको प्रमुख, उपप्रमुख र वडाध्यक्षको पदमा पत्रकारिता पेसा गर्दै आएकाले पनि प्रतिस्पर्धामा छन् । मेघा टेलिभिजनका समाचार प्रमुख रोशन दानीले काठमाडौँको चन्द्रागिरि नगरपालिकाको उपप्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन्। राष्ट्रिय जनमोर्चामा आबद्ध दानीले पाँचदलीय गठबन्धनका तर्फ बाट उम्मेदवारी दिएका हुन् ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य शान्ता आङबुहाङले महासङ्घको केन्द्रीय सदस्य बाट राजीनामा दिएर ताप्लेजुङको आठराई त्रिवेशी गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी छन्। अर्घाखाँचीको सूर्याेदय एफएममा कार्यरत पत्रकार अयान विकले अर्घाखाँचीको शीतगङ्गा–१० को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिए । सुदूरपश्चिम बाट कैलालीको जानकी गाउँपालिकाको उपाध्यक्षमा गीता चौधरीले उम्मेदवारी दिएकी छन् । रेडियो नेपाल सुदूरपश्चिम प्रदेश प्रसारण केन्द्र दीपायलमा विगत लामो समय देखि कार्यरत पत्रकार सुनिता रावलले डोटीको शिखर नगरपालिकाकाको उपप्रमुख पदमा उम्मेदवारी दिएकी छन्। उनले नेपाली कांग्रेसका तर्फ बाट उम्मेदवारी दिएकी हुन्।
प्रेस चौतारी नेपालका पूर्वउपाध्यक्ष तथा नेपाल पत्रकार महासङ्घ रुपन्देहीका पूर्वअध्यक्ष मोहन चापागाईंले रूपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिए । उनी महासङ्घको साधारण सदस्यता त्यागेर उम्मेदवार बनेका हुन् । चौतारीका पूर्वउपाध्यक्ष वीरबहादुर गिरीले जाजरकोटको बारेकोट गाउँपालिकाको अध्यक्ष पदमा, म्याग्दीका संस्थापक सुरत केसी, बेनी नगरपालिकाको प्रमुख, काभ्रे जिल्लाका पूर्वाध्यक्ष कञ्चन अधिकारी पाँचखाल नगरपालिकाको प्रमुख, बाजुराका संस्थापक सदस्य अमर खड्का बाजुराको बढीमालिका नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका छन् ।
त्यसैगरी बाजुराकी पत्रकार नन्दा थापा उपप्रमुखमा, मोरङका पत्रकार भक्त राई सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको अध्यक्ष, गायत्री आचार्य मेलुङ गाउँपालिकाको उपाध्यक्ष र सकिल खानले डुडुवा गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । सप्तरी जिल्लाका चारजना पत्रकार पनि स्थानीय तहको निर्वाचनान होमिएका छन् । पत्रकार महासङ्घ मधेस प्रदेशका सचिव भोला पासवान जनता समाजवादी पार्टी नेपालका तर्फ बाट सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिकाको प्रमुख पदमा उम्मेदवार छन्। महासङ्घका कुनै पनि संरचनामा रहेका पदाधिकारी वा सदस्यहरू उम्मेदवार बनेमा महासङ्घको विधानको मर्म र व्यवस्था अनुसार सोही समय देखि कायम रहेको पद बाट स्वतः मुक्त हुने महासङ्घले जनाएको छ ।
तिलाठी कोइलाडी गाउँपालिकाको उपाध्यक्षमा जनता प्रगतिशील पार्टीका तर्फ बाट पत्रकार हेमशङ्कर सिंह, नेकपा (एकीकृत समाजवादी) पार्टी बाट राजविराज–८ को वडाध्यक्षमा पत्रकार शतिश दत्त, पत्रकार महासङ्घ सप्तरीका सहसचिव चन्दनकुमार यादवले नेकपा (माओवादी केन्द्र) का तर्फ बाट सोमवार उम्मेदवारी दिएका छन्। आसन्न स्थानीय तहको निर्वाचनमा पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै तटस्थ भूमिका निर्वाह गर्न महासङ्घका महासचिव रोशन पुरीले आह्वान गरेका थिए ।
यसैगरी नेकपा (माओवादी केन्द्र)का तर्फ बाट कमलेश मण्डल महोत्तरीको मटिहानी नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका छन् । त्यस्तै वीरगञ्ज महानगरपालिकाको प्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी बाट गिरिश गिरीले उम्मेदवारी दर्ता गराएका छन् । यी लगायत विभिन्न जिल्लामा थुप्रै पत्रकारले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएको बताइएको छ । महासङ्घको सदस्यता प्राप्त गरेका कोही पनि सदस्यले निर्वाचनमा उम्मेदवार बन्न चाहेमा महासङ्घको गरिमा, साख र साझा चरित्रको ख्याल गर्दै सदस्यता परित्याग गरेर मात्रै उम्मेदवार बन्न सबै सदस्यहरूलाई निर्वाचन आचारसंहिता २०७८ को प्रतिकूल काम नगर्न समेत आह्वान गरिसकेको छ ।
महासङ्घले निर्वाचन आचारसंहितामा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक म्यासेन्जर, ट्विटर, युट्युब र इन्स्टाग्राम जस्ता विद्युतीय माध्यमको प्रयोग गरी कुनै पनि सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा शेयर, लाइक, कमेन्ट वा प्रतिकमेन्ट गर्न नहुने जनाउँदै आएको छ । प्रेस काउन्सिल नेपालले जारी सामाजिक न्याय र सद्भावमा प्रतिकूल असर पार्न नहुने, समाचारको गोप्य स्रोत खोल्न नहुने, निजी स्वार्थपूर्तिका लागि प्रयोग गर्न नहुने र विज्ञापनलाई समाचारका रुपमा प्रस्तुत गर्न नहुने लगायत १५ बुँदा पत्रकारले गर्न नहुने भनिएको छ ।




































