दुई दिन बिदा दिने निर्णयको आलोचना, पहिला नै असफल भएको पूर्व सचिवहरूको भनाई
वि.सं.२०७९ वैशाख १५ बिहीवार ०७:२९
shares

काठमाडौं । सरकारले आगामी जेठ १ गतेदेखि सातामा दुई दिन बिदा दिने निर्णय गरेकाे छ । उक्त निर्णयकाे दुई पूर्वसचिवले आलाेचना गरेका छन् ।
भर्खरै मात्र सचिव बाट अनिवार्य अवकाश पाएका गोपीनाथ मैनालीले यसअघि नै हप्तामा दुई दिन बिदा दिने निर्णय गरेकाे तर असफल भएकाले अध्ययन गरेरमात्र यो निर्णय लिनु उचित हुने बताएका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘हप्तामा दुई दिन बिदा दिने प्रयोग पहिला पनि भएको हो । पछि फिर्ता लिइएको हो । समष्टिगत असर अध्ययन गरेर निष्कर्षमा पुग्दा उचित हुने थियो ।’
यस्तै पूर्वसचिव केशव भट्टराईले पनि सबै भन्दा बढी सार्वजनिक बिदा दिने मुलुक नेपाल भए पनि अझै सातामा थप एक दिन बिदा दिनुले निजी क्षेत्रमा समेत नकारात्मक प्रभाव पर्ने बताएका छन् । उनले मुलुक नै ठप्प पारेर आर्थिक विकास कसरी हुने भन्ने प्रश्न पनि गरेका छन् ।
उनले ट्विटरमा लेखेका छन्, ‘संसारमा सबै भन्दा बढी सार्वजनिक बिदा दिने मुलुक हो नेपाल । अझ आइतबार बिदा थपिने भएछ । सरकारी बिदामा बैंक समेत बन्द हुन्छन् । यति धेरै बिदाले निजी क्षेत्रमा समेत नकारात्मक प्रभाव पार्छ । मुलुक नै ठप्प पारेर आर्थिक विकास कसरी होला ? अहोरात्र काम गर्नुपर्ने स्थितिमा बिदै बिदा, क्या गज्जब !’







































