निर्वाचन आयोगले कांग्रेस सँग माग्यो जवाफ
वि.सं.२०७९ वैशाख २१ बुधवार ०८:३९
shares

काठमाडौं ।निर्वाचन आयोगले सत्तारूढ दल नेपाली कांग्रेस सँग जवाफ मागेको छ । आयोगले तीन दिन भित्र जानकारी सहितको जवाफ दिन भनेको छ ।
कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिको नाम बाट ‘ओलीजी गफ गर्छन्, हामी काम गर्छौँ, रुख चिह्नमा मतदान गरी’ शीर्षकको पर्चा सामाजिक सञ्जालमा देखिन आएको भन्दै आयोगले सो पर्चा राखेको हो/होइन भनी जवाफ मागेको हो ।
आयोगको पत्रमा भनिएको छ, “उक्त सामग्री निर्वाचन आचारसंहिता, २०७८ को दफा ४ को देहाय (ठ) र (ढ) विपरीत देखिएकाले सो पर्चा सामाजिक सञ्जाल तथा अन्य स्थान बाट तुरुन्त हटाई सो सम्बन्धमा स्पष्ट गरी तीन दिन भित्र जवाफ उपलब्ध गराइदिन हुन आदेशानुसार अनुरोध गरिन्छ ।”
आचारसंहिता कार्यान्वयन गर्ने प्रतिबद्धता सो दलले यसअघि गरिसकेको सन्दर्भमा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष तथा भयमुक्त बनाउने तर्फ आयोगले पुनः स्मरण गराएको छ ।







































