प्रधानमन्त्री देउवा र अमेरिकी उपमन्त्री उज्रा जेया बीच भेटवार्ता
वि.सं.२०७९ जेठ ८ आइतवार १२:०६
shares

काठमाडौं ।अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री तिब्बती मुद्दाहरूका लागि अमेरिकी विशेष संयोजक उज्रा जेयाले प्रधानमन्त्री शेरबहादुर देउवा सँग भेटवार्ता गरेकी छिन् । चार सदस्यीय भ्रमण टोलीको नेतृत्व गरेकी उपमन्त्री जेयाले प्रधानमन्त्री देउवा सँग आइतबार बिहान बालुवाटार पुगेर भेट गरेकी हुन् ।
भेटका बारेमा प्रधानमन्त्री देउवाले ट्वीटर मार्फत् जानकारी दिएका छन् । ‘अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल सँग भेट्दा खुसी लागेको छ,’ देउवाले ट्वीटरमा लेखेका छन्, ‘भेटका क्रममा दुई देश बीचको सम्बन्ध र आपसी हितका विषयमा विचार आदानप्रदान भएको छ ।’ उनले आइतबार परराष्ट्रमन्त्री नारायण खड्का, गृहमन्त्री बालकृष्ण खाण र मुख्य सचिव शंकरदास वैरागी सँग भेट्ने कार्यक्रम छ ।
गत १७ मे देखि भारत र नेपालको भ्रमणमा रहेकी उपमन्त्री जेया आजै अमेरिका फर्किने छन् । उनी भारतमा तीन दिन बिताएर शुक्रबार नेपाल आएकी हुन् । भारतमा जेयाले हिमाञ्जल प्रदेश स्थित धर्मशालामा पुगेर निर्वासित तिब्बती धर्म गुरु दलाई लामा सँग भेट गरेकी थिइन् ।त्यसपछि उनले शनिबार अपरान्ह काठमाडौं स्थित तिब्बती शरणार्थीहरू सँग अन्तरक्रिया गरेकी थिइन् ।




































