तनहुँको आँबुखैरेनीमा सडक भासियो, यातायात दुवैतर्फ अवरूद्ध
वि.सं.२०७९ जेठ २७ शुक्रवार ०७:४०
shares

तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आबुखैरेनी गाउँपालिका वडा नं. ४ ड्याम नजिक सडक भासिएको छ । गएराति देखि परेको अबिरल वर्षाको कारण करिब २० मिटर सडक भासिएपछि दुईतर्फी नै यातायात बन्द भएको छ ।
सडकको भाग तल बाट भासिएकाले बेलिब्रिज नराखे सम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । तत्काल मर्मत सम्भार पनि गर्न नसक्ने भएपछि सवारी साधनहरुलाई जता बाट आएको हो, त्यतैतर्फ फर्काइएको उनले बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका अनुसार कार सहित केही सवारी साधन मर्स्याङ्दी नदीमा खसेको अनुमान गरिएको छ । ट्राफिक प्रहरी प्रमुख गोकर्ण नेपालले भने, ‘गएराति देखि परेको अविरल वर्षाले सडक भासिएर नदीमा पुगेको छ । केही सवारी साधन पनि खसेको हुनसक्ने अनुमान गरिएको छ । तर मानवीय क्षति भएको छ कि छैन एकिनका साथ भन्न सकिन्न ।’






































