चीन सँग वर्तमान सरकारको नीति ठीक नभएको एमाले उपमहासचिव ज्ञवालीको टिप्पणी
वि.सं.२०७९ जेठ ३० सोमवार ११:४५
shares
dav
काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव एवम् पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीन सँग वर्तमान सरकारको नीति ठीक नभएको टिप्पणी गरेका छन् । सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै उनले भने, ‘बीआरआई अनुदान पाए लिने नत्र नलिने । सित्तैमा पार अलकत्रा खाने ? चीन सँग वर्तमान सरकारको नीति ठिक भएन ।’ ऋण लिने वा अनुदान भन्ने मेरिट बेसमा हुनुपर्ने उनको धारणा छ । ‘हामीले कुनै सहायता सित्तैमा पाइए पनि लिनु हुँदैन तर, आवश्यकता पर्यो भने ऋण पनि लिने हाम्रो नीति हो,’ उनले भने ।
तिब्बत मामिला हेर्ने अमेरिकी मन्त्रीलाई किन बोलाएको भन्दै उनले प्रश्न गरे । ‘उहाँ अरू पनि विषय हेर्नुहुन्छ होला तर छिमेकलाई र उसको चासोलाई बेवास्ता गरेर हामीले गर्दैछौं त्यसले हामीलाई अप्ठेरोमा पार्छ,’ उनले भने, ‘समग्रमा भन्दा वर्तमान सरकारको छिमेक सम्बन्ध ठीक भइरहेको छैन ।’ राजदूत पठाउने विषयमा पनि कुनै देशमा तुरुन्तै र कुनै देशमा नपठाए पनि हुन्छ जस्तो गरिएको भन्दै उनले सरकारको कार्यशैलीको आलोचना गरे ।
भारतले हडपेको कालापानी लगायतका भूमि फिर्ता लिन सरकारले चासो नदिएको तर समस्या नै नभएको चीन सँगको सीमा बारे अध्ययन गरेको भन्दै ज्ञवालीले उक्त अध्ययनको नतिजा के आयो भनेर प्रश्न गरे ।






























