सुकुम्बासी, भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या सधैंका लागि समाधान गर्ने गृहमन्त्री खाँणको दावी
वि.सं.२०७९ असार ४ शनिवार २०:१८
shares

बुटवल ।गृहमन्त्री बालकृष्ण खाँणले सरकारले सुकुम्बासी, भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या सधैंका लागि समाधान गर्ने दावी गरेका छन् । राष्ट्रिय भूमि आयोगले शनिबार बुटवलमा आयोजना गरेको लुम्बिनी प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रम उद्घाटन गर्दै गृहमन्त्री खाँणले आवश्यक प्रक्रिया पूरा गरी भूमिहीन सुकुम्बासीलाई जतिसक्दो चाँडो जग्गाको स्वामित्व प्रदान गर्ने बताए ।
‘भूमिहीन सकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा धनी पुर्जा वितरण गर्ने गरी काम गर्नुस्’ खाँणले आयोगका पदाधिकारीलाई निर्देशन दिँदै भने, ‘सरकारले के गर्नु पर्ने हो ?, बजेट कति चाहिन्छ, सुरक्षाका लागि के सहयोग गर्नु पर्ने हो, सरकार तयार छ ।’ आयोगका पदाधिकारीलाई जिल्लामा सहयोग गर्नु प्रमुख जिल्ला अधिकारी, मालपोत, नापी लगायत नेपाल सरकारका कुनै पनि कार्यालयको पहिलो दायित्व जिम्मेवारी हुने भन्दै उनले मातहतका सरकारी निकायलाई पूर्ण सहयोग गर्न निर्देशन पनि दिए ।
सार्वजनिक जग्गाको संरक्षण र भूमिहीन तथा अव्यवस्थित वसोबासीको समस्या समाधानको विषयलाई स्थानीय सरकारले पनि पहिलो प्राथमिकता दिएर काम गर्नुपर्ने मन्त्री खाँणले बताए । सरकारको मुख्य लक्ष्य प्राप्तिका लागि आयोगका पदाधिकारीहरुले जिम्मेबार भएर परिणाम देखिने गरी काम गर्नुपर्ने दोहोर्याए । मन्त्री खाँणले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्म पनि अहिलेको सत्तारुढ गठबन्धन कायम रहने बताए ।
बुटवलको मुख्य समस्याको रुपमा देखिएको ज्योतिनगरको पहिरो नियन्त्रण,चौराह–गोलपार्क ६ लेन सडक, तिनाउ पुलको मर्मत तथा वैकल्पिक पुल निर्माण जस्ता महत्वपूर्ण आयोजना सरकारको प्राथमिकतामा रहेको गृहमन्त्री खाँणले बताए । प्रतिनिधि सांसद मीन विश्वकर्माले राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या पूर्ण रुपमा समाधान गर्ने दावी गरे ।








































