कांग्रेसको भातृ संस्था प्रेस युनियनको निर्वाचनमा उम्मेदवारको लर्को
वि.सं.२०७९ असार २४ शुक्रवार १६:५९
shares

काठमाडौं ।लोकतन्त्रवादी पत्रकारहरुको छाता संगठन नेपाल प्रेस यूनियनको नवौं राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । सत्तारुढ नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको रुपमा रहेको युनियनको आगामी साउन ६ र ७ गते बाग्मती प्रदेशको राजधानी हेटौंडामा हुने महाधिवेशनका लागि लोकतान्त्रिक धारमा रहेका पत्रकारहरुले सामाजिक सञ्जाल मार्फत विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने लहर पनि चलेको छ ।
प्रेस युनियनको नजिकिदै गरेको महाधिवेशनमा अध्यक्ष तथा पदाधिकारीहरुमा उम्मेदवारी दिनेको लर्को नै लागेको छ । साथै हिजो देखि पार्टी नेता तथा अगुवा पत्रकारबीच सर्वसम्मतिका लागि पहल हुन थालेपछि पार्टीले टीका लगाएर नेतृत्व चयन गर्न लागेको भन्दै चर्को बिरोध हुन थालेको छ । कांग्रेसका शीर्ष नेता एवं अग्रज पत्रकारहरुले आ-आफ्ना गोजीका चाकडीबाज पत्रकारहलाई प्रेस यूनियनको नेतृत्वमा ल्याउन खोजेको भन्दै क्रियाशील पत्रकारहरुले सामाजिक सञ्जालमा बिरोधका आवाज घन्काउन थालेका छन् ।
करिब ९ बर्षपछि हुन लागेको यो महाधिवेशनमा निर्वाचन कै माध्यम बाट नेतृत्व चयन गर्नुपर्ने आवाज बलियो रहेको छ । सहमतिका लागि भन्दै पार्टी प्रवक्ता प्रकाशशरण महतको अग्रसरतामा डा. सुरेश आचार्य, बद्री सिग्देल, किरण पोखरेल, रमेश विष्ट र कविर राणाको अनौपचारिक समिति बनाइएको छ । लामो समयको अन्तराल पछि हुन लागेको यूनियनको महाधिवेशनमा अध्यक्षको दावी गर्नेहरुको संख्या करिब एक दर्जन पुग्न थालेको छ भने पदाधिकारीहरुमा पनि दर्जनौं पत्रकारहरुले आआफ्नो दावेदारी प्रस्तुत गरेका छन् । अध्यक्षमा उम्मेदवारी घोषणा गर्नेहरुमा प्रेस यूनियनका सल्लाहकार एवं ८ औं महाधिवेशनमा अध्यक्षका प्रत्यासी शिव लम्साल, नेपाल पत्रकार महासंघकी पूर्व उपाध्यक्ष अनिता बिन्दु बलियो दावेदारका रुपमा देखिएका छन् । पत्रकार लम्साल संस्थापन इतर बाट प्रतिनिधित्व गर्छन भने बिन्दु संस्थापन समुहमा छन् ।
त्यस्तै संस्थापन इतर समुह बाट वर्तमान वरिष्ठ उपाध्यक्ष दीपक आचार्य र संस्थापन समुह बाट वर्तमान कोषाध्यक्ष सरोज अधिकारीले दावी गरिरहेका छन् । प्रेस युनियनका पूर्व वरिष्ठ उपाध्यक्ष तथा लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजका अध्यक्ष दामोदरप्रसाद दवाडी, पुराना नेता एवं नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष उमिद वागचन्द, नेपाल पत्रकार महासंघका पूर्वसचिव रामप्रसाद दाहाल, भुवन भट्ट, नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष डीआर पन्त, नेपाल प्रेस युनियनका पूर्वसचिव सन्तोष न्यौपाने र वर्तमान उपाध्यक्ष इश्वरी ओझाले पनि अध्यक्षको आकांक्षा प्रस्तुत गरेका छन् । तर यिनीहरुको समुह खुलेको छैन् ।
नेपाल दलित संघ बर्दियाकी सचिव समेत रहेकी उनी क्रियाशील महिला पत्रकार बर्दियाको संस्थापक अध्यक्ष पनि हुन् । अन्य दर्जनौ सामाजिक संघसंस्थामा पनि आबद्ध उनले यसपटक उपमहासचिव जितेरै छाडेने अठोट व्यक्त गरेकी छन् । ११ औं महाधिवेशन हुनुपर्ने बेलामा बल्ल नवौं महाधिवेशन हुन लागेकाले पनि पदाधिकारीहरुमा आकांक्षीहरुको लर्को लागेको हो । नेतृत्व विकासमा लामो समय अवरोध भएकाले पनि आकांक्षीहरुको दावेदारी धेरै देखिनु स्वभाविक भएको नेताहरुले बताएका छन् । उम्मेदवारी घोषणा गर्नेहरुले देशव्यापी प्रचारप्रसारलाई तीव्र पारेका छन् भने नेताहरु सँगको लविङ पनि जोडदार रुपमा गरिरहेका छन् ।
यस्तै वरिष्ठ उपाध्यक्षमा पुराना पत्रकार लिलाराज खनालले उम्मेदवारी घोषणा गरेका छन् भने उपाध्यक्षमा वर्तमान उपमहासचिव सलोजा दाहाल, पत्रकार ऋषिकान्त पौडेल, जनार्दन घिमिरे, कल्पना शर्मा, दीलिपाश्री अधिकारी लगायत छन् । सलोजा संस्थापन इतर समुहकी हुन भने कल्पना र दीलिपा संस्थापन समुहका हुन् । अन्यको समुह खुलेको छैन् । कार्यकारी पदको रुपमा रहेको महासचिवमा खिला कार्की, दीलिप पौडेल, नकुल अर्याल, भीष्मराज ओझा, शिवराज योगी, रमेश वाग्ले, केशव साउद र विमल ज्ञवालीले उम्मेदवारी घोषणा गरेका छन् ।
अर्को महत्वपूर्ण पद उपमहासचिवमा कुसुम बिक (सेञ्चुरी), युवराज गौतम, सुलोचना गौतम, भुवन शर्मा गरी चार जनाले उम्मेदवारी घोषणा गरेका छन् । कुसुम नेपालबहस डटकमकी समाचार प्रमुख हुन् । सानै उमेर देखि पत्रकारिता गर्दै आएकी कुसुमले फूलबारी एफएम, रासस, रेडियो अन्नपूर्ण, देशान्तर र नाइस टीभीमा समाचार वाचिकाको रुपमा जिम्मेवारी निभाएकी छन् । नेपाल दलित संघ बर्दियाकी सचिव समेत रहेकी उनी क्रियाशील महिला पत्रकार बर्दियाको संस्थापक अध्यक्ष पनि हुन् । अन्य दर्जनौ सामाजिक संघसंस्थामा पनि आबद्ध उनले यसपटक उपमहासचिव जितेरै छाडेने अठोट व्यक्त गरेकी छन् । त्यस्तै सुलोचना गौतम पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलकी धर्मपत्नी हुन् । उनी दाङमा बसेर पत्रकारिता गर्छिन ।
सचिव पदमा पनि दर्जनौं आकांक्षी देखिएका छन् । इमान्दार एवं पुराना पत्रकार कालिका महतदेखि खगेन्द्र भण्डारी, तीर्थराज बस्नेत, लोकेन्द्र भट्ट, मेनुका ढुंगाना, राधा खनाल, विजय रेग्मी, एलपी देवकोटा, टीकाराम सुनार लगायतले सचिवमा आकांक्षा प्रकट गरेका छन् । माधव धिताल, मित्र भण्डारी, पदम जोशी लगायतले कोषाध्यक्षको उम्मेदवारी घोषणा गरी प्रचारमा लागेका छन् । यस्तै आदिबासी जनजाति सदस्य पदमा सुवास मुखिया सुनुवारले आज उम्मेदवारी घोषणा गरेका छन् ।
पदाधिकारी लगायत सदस्य पदमा विभिन्न समावेशी पदहरु सिर्जना गरि आकांक्षीहरुलाई समेटने प्रयास भैरहेको छ । यसपटक विधान संशोधन हुने भएकाले उपाध्यक्ष करिब १३ वटा, उपमहासचिव ५ वटा, सचिव ७ भन्दा बढी राख्ने तयारी भैरहेको बताइन्छ । युनियनमा पदाधिकारी कति संख्यामा रहने, कति सदस्यीय कार्यसमिति हुने भन्ने अझै टुंगो लागिसकेको छैन । यसको जिम्मा वरिष्ठ उपाध्यक्ष दीपक आचार्य नेतृत्वको समितिलाई दिइएको छ ।
कांग्रेसको शुभेच्छुक संस्था भएपनि हरेक पटक नेताहरुको हस्तक्षेप हुने गरेको छ । यूनियनको नेतृत्वमा आउन चाहनेहरु पार्टीका शक्तिकेन्द्र धाउने परम्परा नै बनेको छ । वास्तविक शक्तिकेन्द्र त देशभरबाट आएका प्रतिनिधि पार्षदहरु भएपनि प्रेस युनियनमा आबद्ध पत्रकार नेताहरू नै पार्टी नेताहरूकै छत्रछाँयामा रमाउने प्रवृत्ति हावी रहेको छ । सोही प्रवृत्तिका कारण युनियनमा पार्टीको प्रत्यक्ष /अप्रत्यक्ष हस्तक्षेप हुँदै आएको हो ।




































