kumari
stcnepal

सरकारको ६० वर्ष सम्म निजामती कर्मचारीहरुको सेवा अवधि कायम हुने कानूनी व्यवस्था गर्ने तयारी

काठमाडौं ।सरकारले ६० वर्ष सम्म निजामती कर्मचारीहरुको सेवा अवधि कायम हुने कानूनी व्यवस्था गर्ने तयारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको संघीय निजामती ऐन, २०४९ को संशोधन विधेयकमा ५८ वर्षे सेवा अवधिलाई बढाएर ६० वर्षे बनाउन खोजिएको हो । विधेयकको मस्यौदा सहमतिका लागि अर्थमन्त्रालयमा पठाइएको छ ।अहिले कर्मचारीको उमेर हद ६० वर्ष कायम गरिएको छ । तर कोही कर्मचारी सचिव भएर ५८ वर्ष पुग्नुअघि नै ५ वर्ष पुरा गरेमा अनिवार्य अवकाश हुनेछन् । मुख्यसचिवको पदावधि २ वर्षको प्रस्ताव गरिएको छ ।

विधेयकमा यसअघिको निजामती सेवा ऐन र स्वास्थ्य सेवा ऐन एकिकरण गरे एकिकृत निजामती सेवा ऐन ल्याउन खोजिएको देखिन्छ । विधेयकले कानूनी रुप पाएपछि स्वास्थ्य सेवा ऐन खारेज हुने प्रस्ताव गरिएको छ । अर्थमन्त्रालय स्रोतले उपलब्ध गराएको विधेयकको मस्यौदामा ऐन जारी भएपछि ५८ वर्षको सेवा अवधि दुई वर्षका लागि ५९ कायम हुने उल्लेख छ । अनि दुई वर्षपछि त्यसलाई बढाएर ६० बनाइनेछ । एकैपटक ५८ बाट ६० वर्षे उमेर हद कायम गर्दा नयाँ जनशक्तिले सेवामा प्रवेश गर्न नपाउने भन्दै मन्त्रालयले दुई चरणमा गरी उमेर हद बढाउन प्रस्ताव गरेको हो ।

प्रस्तावित व्यवस्था अनुसार, अब खरिदार पदमा ९० प्रतिशत खुला प्रतिस्पर्धा बाट पदपूर्ति हुनेछ भने बाँकी १० प्रतिशत जेष्ठताका आधारमा पदपूर्ति गरिनेछ । यसअघि ७० प्रतिशत खुला प्रतिस्पर्धा बाट पदपूर्ति हुने र बाँकी २० प्रतिशत आन्तरित प्रतिस्पर्धा बाट पदपूर्ति हुन्थ्यो । बाँकी १० प्रतिशत जेष्ठताका आधारमा पदपूर्ति हुन्थ्यो । नासुमा आधा खुला बाट र आधा जेष्ठताका आधारमा बढुवा हुने प्रस्ताव गरिएको छ । अधिकृत पदमा ७० प्रतिशत खुला प्रतिस्पर्धा बाट पदपूर्ति हुने व्यवस्था यथावत राख्न खोजिएको छ । सहसचिव पदमा १० प्रतिशत मात्रै खुलाबाट पदपूर्ति हुनेछ ।

माथिल्लोबाट तल जान पाउने, तलबाट माथिल्लोमा जान कोटा

समान वा तल्लो तहमा जान पाउने, तर माथिल्लो तहमा आउन नपाउने प्रस्ताव छ । हालको निजामती सेवा ऐनलाई संघीय व्यवस्था अनुकुल बनाउन संशोधन विधेयक प्रस्ताव गरिएको हो । प्रस्तावित संशोधन विधेयकमा संघीय निजामती सेवामा रहेका स्थायी कर्मचारीलाई प्रदेश वा स्थानीय सेवाको पदमा उम्मेद्वार हुन उमेरको हद नलाग्ने व्यवस्था गरिएको छ । अनि प्रदेश निजामती कर्मचारीलाई स्थानीय सेवामा उम्मेद्वार हुन पनि उमेरहद नलाग्ने प्रस्ताव छ । स्थानीय सेवाका कर्मचारी पनि प्रदेश सेवामा उम्मेद्वार हुन पाउँछन् । उनीहरुले सेवा परिवर्तन गरेमा पुरानो अवधि समेत गणना हुनेछ ।

तर माथिल्लो तहमा आउनका लागि भने कर्मचारीहरुले अन्तर तह प्रतियोगिता भित्रको सीमित कोटामा प्रतिस्पर्धा गर्नुपर्नेछ । विधेयकमा भनिएको छ, ‘अन्तर तह प्रतियोगिताको माध्यम बाट तह परिवर्तनको अवसर प्रदान गर्ने व्यवस्था ।’ अन्तरतह प्रतिस्पर्धामा कुनैपनि तह बाट अर्को तहमा प्रतिस्पर्धा गर्न रोकाबट छैन । विधेयकमा प्रदेश भित्रको कुनै स्थानीय तहमा पद रिक्त भएमा अनि बढुवा बाट पदपूर्ति गर्नुपर्ने भएमा प्रदेश भित्रका सबै स्थानीय तहका एक तह मुनीका कर्मचारीहरु बढुवाको प्रतिस्पर्धा गर्न पाउने व्यवस्था प्रस्ताव छ ।

स्थानीय तहमा कार्यरत कर्मचारीहरु प्रदेश भित्रको अर्को स्थानीय तहमा सरुवा हुन पाउने व्यवस्था पनि विधेयकमा प्रस्ताव गरिएको छ । तर त्यसका लागि हरेक प्रदेश सरकारले निश्चित आधार र मापदण्ड बनाउनुपर्नेछ ।

footer