महाअभियोग प्रस्ताव निष्क्रिय भइसकेको छ : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र
वि.सं.२०७९ भदौ १५ बुधवार १४:०८
shares

काठमाडौं ।निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो महाअभियोग प्रस्ताव स्वत: निष्क्रिय भएको बताएका छन् । बुधबार बयानका लागि महाअभियोग सिफारिस समितिमा गएका उनले आफू संसदको सम्मानका लागि मात्र आएको बताए ।
उनले महाअभियोग प्रस्तावमा संसदले संविधान र संसद नियमावली पालना नगरेको टिप्पणी गरेका छन् । ‘यति गम्भीर विषयमा पनि संविधान र नियमावली किन पालना गरिनएन’ उनले भने, ‘यो प्रस्ताव निष्क्रिय भइसकेको छ ।’ आफू पछाडिको व्यक्तिलाई प्रधानन्यायाधीश बनाउन खोजिएको भन्दै जबराले त्यसैका लागि आफू विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरिएको बताए । ‘…दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउन गरिएको हो’ उनले भने । प्रधानन्यायाधीशलाई कमजोर बनाएर न्यायपालिकालाई कमजोर बनाउन खोजिएको पनि जबराले बताए ।
जबरालाई नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले न्यायिक नेतृत्व माथि सबैतिर बाट प्रश्न उठेको र जबराले नै त्यो ठाउँ दिएको भन्दै त्यस्तो वातावरण किन बन्यो भनी प्रश्न गरेकी थिइन् । जवाफमा जबराले आफूले गरेका काम नियम कानुन र संवैधानिक अधिकार भन्दा बाहिर बाट नभएको दावी गरे । ‘सरोकारवाला र राजनीतिक दलहरूको सुझाव अनौपचारिक रुपमा पनि लिने अधिकार हुन्छ तर संवैधानिक रुपमा प्राप्त अधिकार र जिम्मेवारी निर्वाह गर्दा दलहरू बाटै प्रश्न उठाएर न्यायलयलाई कमजोर बनाउने काम भयो यो म बाट भएको त होइन नि’ उनले जवाफ दिए ।




































