पेट्रोलियम पदार्थको मूल्य घटने तर कहिले ?
वि.सं.२०७९ पुस १ शुक्रवार १६:३६
shares

काठमाडौं ।नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गर्ने तयारी गरेको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अहिले नेपाल बाहिर रहेका छन् । निगमले भारत बाट मूल्य घटेर आएपछि नेपालमा पनि घटाउने तयारी गरेको हो । निगम कर्मचारीका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएको छ । आईओसीले आज शुक्रबार पठाएको सूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेल १२ रुपैयाँ ३१ पैसा तथा हवाई इन्धन १० रुपैयाँ ६१ पैसा घटेको बताइएको छ ।
केही समयदेखि घटेर मूल्यसूची आएकाले नेपालमा पनि उपभोक्ताका लागि इन्धनको मूल्य केही घटाउने तयारी रहेको निगम कर्मचारीको भनाइ छ । कर्मचारीका अनुसार बोर्ड अध्यक्ष देश बाहिर रहेको र उनी फर्किए लगत्तै बोर्ड बैठक राखेर मूल्य समायोजन गर्ने तयारीमा निगम छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै आईओसीले मूल्य घटाएर पठाएको हो ।नेपालमा मूल्य नघटाउँदा सम्म निगमलाई अब पेट्रोलमा प्रतिलिटर करिब २० रुपैयाँ, डिजेलमा करिब १३ रुपैयाँ नाफा छ । निगमले आईओसीलाई करिब १३ अर्ब रुपैयाँ बक्यौता बुझाउन बाँकी छ भने सरकारलाई बुझाउनुपर्ने ऋण रकम ७ अर्ब रुपैयाँ छ । विगतमा कच्चा तेलको मूल्य उच्च भएका बेला सोअनुरुप नेपालमा मूल्य समायोजन गर्न नसक्दा निगमको बक्यौता तथा ऋण रकम थपिएको हो ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य झरेको छ । शुक्रबार साढे ३ बजे सम्म अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ८०.३ डलरमा झरेको छ । त्यस्तै मुर्बान तेलको प्रतिब्यारेल ७९.२, डब्लूटीआई तेलको मूल्य ७५.१ डलरमा झरेको छ । डेढ महिनामा समग्रमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १५ डलर हाराहारीमा घटेको छ ।
तेल उत्पादक मुलुकहरुको संगठन ओपेक प्लसले नोभेम्बर महिनामा कटौती गरेको परिमाणलाई हाल निरन्तरता दिएको छ । युरोपियन मुलुकले रसियन कच्चा तेलको मूल्यमा प्रतिब्यारेल ६० डलरको ‘क्याप’ लगाइदिएका छन् । जसले गर्दा चीन र भारतले रसियन तेलको आपूर्ति बढाएका छन् । रसियाले युक्रेनमा आक्रमण गरेपछि युरोपियन मुलुकहरुले रुसको राजस्व आम्दानी घटाउन तथा आपूर्ति अवरोधका लागि विभिन्न प्रयास गरिरहेका छन् ।






































