इन्धनको मूल्य केही घट्यो
वि.सं.२०७९ पुस २ शनिवार ०७:३५
shares

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शुक्रबार राति १२ बजे देखि लागु हुनेगरी पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको निगमले जनाएको छ । मूल्य घटेसँगै अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेल/मटितेलको प्रतिलिटर मूल्य १७५ पर्नेछ । यसअघि पेट्रोल लिटरको १८१ र डिजेल/मटितेल १७८ रुपैयाँ थियो ।
हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत नै रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । भारतीय आयल कर्पोरेसन (आईओसी)ले शुक्रबार नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएको थियो । पछिल्लो पाँच महिनायता नाफामा रहेको निगम नयाँ मूल्य पछि पनि ठूलो नाफामा छ । तर, सञ्चित नोक्सानी र बक्यौता ऋण १९ अर्ब रहेको कारण देखाउँदै निगमले यो पटक पनि उपभोक्ता मूल्य अन्तरार्ष्ट्रिय बजार अनुसार मूल्य समायोजन गरेन ।
निगमका प्रवक्ता विनितमणि उपाध्याय विगतमा निगमले उपभोक्तालाई यो भन्दा पनि ठूलो मूल्य वृद्धि बाट जोगाएका कारण अहिले निगमको वक्यौता तिर्न उपभोक्ताले सघाउनुपर्ने तर्क गर्छन् । ‘अहिले सञ्चित नोक्सानी र ऋणका कारण निगम ठूलो संकटमा छ, यसलाई उपभोक्ताले सघाउनु पर्यो,’ प्रवक्ता उपाध्यायले भन्छन् , ‘पहिले चर्को मूल्य वृद्धिमा निगमले उपभोक्तालाई जोगायो, अहिले उहाँहरुले चर्को मूल्यमा हामीलाई सघाउनुपर्यो ।’ आयल निगमको नाफा र घाटाको हिस्सा उपभोक्तालाई बराबर बाँड्न निगम आफैंले बनाएको स्वचालित मूल्य समायोजन प्रणाली लागू नगरेको एक वर्ष भन्दा बढी भइसकेको छ ।
निगमले पेट्रोलियम पदार्थको आयात र बिक्रीलाई अन्तर्राष्ट्रिय मूल्य बाट प्रभावित हुन नदिन २०७१ सालमा स्वचालित मूल्य निर्धारण कार्यविधि लागू गरेको थियो । १५ दिनको खरिद मूल्यलाई आधार मानेर निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने र बढाउने गर्दै आएको थियो । तर रुस युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेका कारण स्वचालित मूल्य प्रणाली लागू गर्न नसकिएको प्रवक्ता उपाध्याय बताउँछन् ।पछिल्लो एक महिनामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा निरन्तर गिरावट आएको छ । १९ अर्ब घाटा पूर्ति गरेर निगमले सञ्चित नाफा केही अर्ब नपुर्याएसम्म अन्तरार्ष्ट्रिय बजार अनुसार मूल्य समायोजन नगर्ने निगमो योजना छ ।




































