linktrix Long Ad
Salt Trading Long Ad

दाहालको राष्ट्रिय सहमति कांग्रेसको पाउँमा विलिन

637
shares

 

करिब दुई वर्षपछि सहकार्यमा जुटेको नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धन दुई महिनामै भत्किएको छ । नेकपा एमालेसँग पुस १० गते भएको सहमति अनुसार प्रधानमन्त्री बनेका पुष्पकमल दाहालले एमालेलाई राष्ट्रपति दिन तयार नभएपछि राजनीतिले अर्को मोड लिएको छ । प्रधानमन्त्री दाहालले पुस २६ गते संसदबाट विश्वासको मत लिने बेलामा कांग्रेसले एमाले माओवादी गठबन्धनबाट प्रधानमन्त्री बनेका दाहाललाई विश्वासको मत दिएर गठबन्धन भत्काउन ढोक्सा थापेको थियो । नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धन भत्काउन प्रधानमन्त्री दाहाल राम्ररी प्रयोग भएका छन् । अहिले सम्म दाहालले कांग्रेस र एमालेलाई प्रयोग गरेर सत्ताको नेतृत्वमा पुगेका भएपनि अब अरुको लागि प्रयोग हुनुपर्ने अवस्थामा उनी पुगेका छन् ।
कांग्रेसले आफूलाई विश्वासको मत दिएकै दिनदेखि प्रधानमन्त्री दाहालले राष्ट्रिय सहमतिको नारा जप्दै आउनु भएको थियो । राष्ट्रिय सहमतिका नाममा प्रधानमन्त्री दाहालले तमासा देखाउनु भएको छ । संसदमा तेस्रो ठुलो दल भएपनि सत्ताको नेतृत्व लिन सफल भएका दाहालले आफ्नो स्वार्थका लागि जोसँग जस्तोसुकै सहमति गर्दछन् भने अहिले प्रमाणित भएको छ । कांग्रेसले प्रधानमन्त्री बन्न अस्वीकार गरेपछि नेकपा एमालेको शरणमा पुगेर प्रधानमन्त्री बनेपछि फेरी दुई महिनामै कांग्रेस लगायतका दलहरुसँग अर्को सहमति गरेर सत्ता गठबन्धन भत्काउनु भनेको अस्थिर राजनैतिक चरित्र बाहेक अन्य केही हुन सक्दैन । राष्ट्रिय सहमतिको नाममा दाहालले आफ्नो सिद्धान्त, नीति र विचारलाई कांग्रेसको पाउँमा विलिन गराएका छन् ।
माओवादी केन्द्रको पदाधिकारी बैठकले सिद्धान्त, नीति र विचार मिल्ने पार्टीहरुसँग सहकार्य गर्ने निर्णय गरेको भएपनि ठीक त्यसको उल्टो निर्णय गरेर दाहालले आफ्नो स्वार्थ पूरा गरिरहेका छन् । आफूलाई अप्ठ्यारो पर्दा सहयोग गरेर उद्दार गरेको नेकपा एमालेलाई धोका दिएर आफ्नो स्वार्थ केही समयका लागि पुरा गरिएपनि त्यो टिकाउ हुन सक्ने सम्भावना नै देखिँदैन । कांग्रेसले प्रधानमन्त्री स्वीकार गर्न अस्वीकार गरेपछि एमालेका अध्यक्ष केपी ओलीको निवासमा पुगेर गरेको सहमति जस्तै फेरी दाहालले कांग्रेससँग गरेका छन् । त्यो सहमति अनुसार शेरबहादुर देउवा र माधव नेपाल आलोपालो प्रधानमन्त्री हुने सहमति भएको छ । अर्थात पाँच वर्षमा ३ जना प्रधानमन्त्री बन्ने भएका छन् । राष्ट्रिय सहमति भनेको मुलुकको हित र देश विकासका लागि हुनुपर्ने भएपनि दाहालले नेकपा एमालेसँग भएको सहमति तोड्नैका लागि राष्ट्रिय सहमतिको माला जपिरहेका रहस्य अहिले खुलेको छ । नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग वार्ता गरेको नाटक गरेर उनले भित्र भित्रै कांग्रेससँग सहमति गरिसकेका थिए । एमालेलाई झुक्याउनको लागि मात्र उनले राष्ट्रिय सहमतिको कुरा उठाएका थिए । तर उनले आफैँले गरेको सहमति आफैँले उल्लघन गरेर कांग्रेससँग अर्को सहमति गरेपनि केही महिनापछि दाहाल पानी बेगरको माछा जस्तो हुने निश्चित रहेको छ । त्यसबेला दाहाललाई कसले उद्दार गरिदिने त ?
पछिल्लो समयमा राजनीतिलाई सत्ता हत्याउने हतियारका रुपमा प्रयोग गरिएको छ । नीति, सिद्धान्त भन्दा पनि जसरी हुन्छ सत्तामा पुग्ने प्रवृत्तिले गर्दा जनताका समस्याहरु सममाधान हुन सक्ने सम्भावना नै छैन । दुई महिनामै सरकार परिवर्तन हुनु सत्ता गठबन्धन तोडिनु र अर्को सत्ता गठबन्धन बन्नु आफैँमा लज्जाको विषय हो । कम्युनिष्ट हौँ भन्ने कम्युनिष्ट सिद्धान्त बोकेका पार्टीहरुसँग गठबन्धन गर्नुपर्नेमा दक्षिणपन्थी पार्टीसँग गठबन्धन गर्नु दाहालको अर्का अपराध हो । दक्षिणी छिमेकी मुलुकको सहयोग र समर्थन विना प्रधानमन्त्रीमा टिकिरहन नसक्ने आंकलन गरेर दाहालले कांग्रेसलाई राष्ट्रपति दिएरै भएपनि आफू प्रधानमन्त्रीमा टिकिरहने रणनीति लिएको प्रष्ट भएको छ । केही दिन अगाडि नेपाल भ्रमणमा आएका भारतका विदेश सचिवको गोप्य मन्त्रण पछि दाहाल कांग्रेसलाई राष्ट्रपति दिन तयार रहेकाले दाहाल पनि भारतकै आदेश पालक नै भएको प्रष्ट हुँदै गएको छ । भारतले कम्युनिष्टहरुलाई राष्ट्रपति बनाउँदा आफूलाई कष्टकर हुने बताएकाले गर्दा कांग्रेसको ढोक्सामा दाहाल आफैँल परेका छन् ।
कांग्रेसले राष्ट्रपति पाएपछि कांग्रेसमा हौसला बढेको छ । सत्तामा जान नपाएको कांग्रेसले अब संघीय सरकार हुँदै केही प्रदेश सरकारमा मुख्यमन्त्री र मन्त्री पाउने भएको छ भने प्रधानमन्त्री दाहालकै सल्लाहमा सुदुरपश्चिममा नेकपा एमाले नेतृत्वको सरकार ढलेको र कांग्रेसको नेतृत्वमा सरकार बनेको हुनाले केन्द्रमा फेरिएको समिकरणले गर्दा सुदुरपश्चिमको सरकारले विश्वासको मत पाउने निश्चित जस्तै भएको छ । नेकपा एमालेले माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने प्रस्ताव गरेपछि माधव नेपालको मनोबल बढेको भएपनि अन्तिम समयमा आएर उनी उधारो एक वर्षे प्रधानमन्त्री बन्न तयार हुनु भनेको माधव नेपालको लागि अर्को राजनीतिक दुर्घटना हो ।
प्रधानमन्त्री दाहालको अस्थिर राजनीतिक चरित्र र कांग्रेस सरकारमा सहभागि भएपछि मुलुकमा सुशासन विकास र सम्बृद्धिको सम्भावना न्यून देखिन्छ । अहिलेसम्मको अवस्था हेर्दा कांग्रेसले दाहाललाई एक वर्षसम्म बोक्न सक्छ । त्यसपछि विश्वासको मत फिर्ता लिएर प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि संविधानको धारा ७६ को ३ अनुसारको सरकार गठन गर्नुपर्ने बाध्यता रहेकाले गर्दा नै संसदको ठुलो पार्टीको हैसियतमा कांग्रेस नै रहकाले राष्ट्रपति कांग्रेसले आफूले पाउनुपर्ने अडान लिएको थियो । जुन कुरा दाहालले पु¥याई दिए । अबको १ वर्ष भित्रमा दाहालको अवस्था कस्तो होला अब कुन दलले उनलाई विश्वास गर्लान् त भन्ने हामीले ठानेका छौँ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports