kumari
stcnepal

नक्कली भुटानी शरणार्थी काण्ड राज्य विरुद्धको अपराध

 

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहको पर्दाफास भएपछि राजनीतिक बृत्तमा र सरकारी उच्च तहमा बसेका व्यक्तिहरुमा समेत आतंक मच्चिएको छ । राजनीतिक बृत्तको सहयोग र समर्थन विना ठुलो काण्ड हुन सक्ने सम्भावना नै हुँदैन । सरकारी निकायले तयार पारि सार्वजनिक सम्म नभएको प्रतिवेदन नै सट्टापट्टा गर्न गिरोह कसरी सफल भयो अहिलेको गम्भीर प्रश्न भनेको यहि हो । गृह मन्त्रालय जस्तो सम्वेदनशिल मन्त्रालयबाटै प्रतिवदेन सट्टापट्टा गरिनुमा सरकारी उच्च स्तरका कर्मचारीहरुको प्रमुख हात रहेकाले गर्दा यो काण्डलाई निकै महत्वपूर्ण रुपमा हेरिएको छ ।
तत्कालिन गृह सचिव टेक नारायण पाण्डेले कार्यदलले तयार पारेको प्रतिवेदन अध्ययन गर्ने नाममा हात पारेका र उनैले सो प्रतिवेदन सट्टापट्टा गरी सक्कली प्रतिवेदन गिरोहसम्म पु¥याएको हुन सक्छ । अहिले पाण्डे प्रहरी हिरासतमा रहेका छन् । गृह प्रशासनको अनुभव नै नभएका र कहिल्यै गृह प्रशासनमा नबसेका व्यक्तिलाई गृह मन्त्रालयको सचिव बनाउनु नै रहस्यमय रहेको थियो ।
तत्कालिन गृहमन्त्री बालकृष्ण खाँणले आफूँ गृहमन्त्री भएको एक महिना नपुग्दे राजनीतिक दबावमा पाण्डेलाई भूमिसुधार तथा व्यवस्था मन्त्रालयबाट गृहसचिवमा सरुवा गराएका थिए । मन्त्री खाँण २०७८ असार २९ गते गृहमन्त्री बनेका थिए भने त्यसबेला कांग्रेसको सभापति शेरबहादुर देउवा नै प्रधानमन्त्री रहेका र देउवाकै सहयोगमा मन्त्री खाँणले पाण्डेलाई गृह सचिव बनाउन सफल भएका थिए । अहिले तत्कालिन गृहमन्त्री खाँण समेत प्रहरी हिरासतमा नै रहेका छन् ।
तत्कालिन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा गृहमन्त्री रहेका रामबहादुर थापा बादलले आफ्नो सुरक्षा सल्लाहकारमा इन्द्रजित राईलाई नियुक्त गरेका र उनै राईको सहयोग र सल्लाहमा मन्त्री थापाले भुटानी शरणार्थीका समस्यालाई समाधान गर्न कार्यदल बनाएका थिए । भुटानी शरणार्थीहरु धेरै तेस्रो मुलुकमा गई सकेका र केही मात्र बाँकी रहेकाले त्यो प्रक्रिया नै बन्द भईसकेको भएपनि केही गिरोहको सहयोग र समर्थनमा नक्कली भुटानी शरणार्थी काण्ड देखाएर गिरोहले ठुलो मात्रामा रकम हात पार्ने प्रयास स्वरुप नक्कली भुटानी शरणार्थी काण्ड रचिएको प्रष्ट भएको छ ।
नेपाली नागरिकलाई अनागरिक बनाएर नेपालीलाई नै भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने सपना देखाउँदै करोडौँ करोड रकम हात पार्ने उदेश्यले नै यो काण्ड रचिएको करिब करिब प्रष्ट भएको छ । नेपाली नागरिकलाई अनागरिक बनाएर अमेरिकाको सपना देखाउने र त्यसलाई सहयोग समर्थन गर्नेहरु राष्ट्रघाती र देशद्रोही हुन् । त्यस्ता राष्ट्रघाती र देशद्रोहीहरुको कुनै देश र कुनै धर्म हुँदैन । उनीहरु पैसाका लागि जे पनि गर्न सक्छन् भन्ने प्रमाण त यस काण्डले देखाएको छ । त्यही कारणले गर्दा यस काण्डमा संलग्न भएका जोसुकै हुन् र जुनसुकै पार्टीको नेता भएपनि उनीहरुमाथि कडा भन्दा कडा कारबाही हुनैपर्दछ ।
यो नक्कली भुटानी शरणार्थी काण्ड राज्यविरुद्धको अपराध, संगठित ठगी, मानव बेचविखन, किर्ते सम्पत्ति शुद्धीकरण, प्रमाण नष्ट र सार्वजनिक पदको दुरुपयोग र भ्रष्टाचार समेत हो । त्यसैले यस काण्डका रचयिता र यस काण्डलाई सहयोग र समर्थन गर्नेहरु सबैलाई यी माथि उल्लेख गरिएका विषयहरुमा मुद्दा चलाउने यथेष्ठ प्रमाणहरु रहेका छन् । प्रहरी प्रशासनले पहिले ठगी प्रकरणमा अनुसन्धान गरिरहेको भएपन विभिन्न तथ्यहरु ख्ुल्दै गएकाले गर्दा अब यस काण्डमा संलग्न भएकाहरुलाई राज्यविरुद्धको अपराधमा समेत मुद्दा चलाइनु पर्दछ । राज्यका ठुला ठुला पदमा बसेका व्यक्तिहरुले नै दस्तावजे साटफेर गर्ने गरि नेपाली नागरिकलाई अनागरिक बनाउने र देशको प्रतिष्ठा मै आँच पुग्ने गरी अपराध गरेका हुनाले राज्यविरुद्धको कसुरमा समेत मुद्दा चलाउन यथेष्ठ प्रमाण रहेको छ ।
तत्कालिन गृहमन्त्री, गृहसचिव, गृहमन्त्रीका सुरक्षा सल्लाहकार लगायतलाई अन्य आरोपितहरु भन्दा बढी कसुरमा मुद्दा चलाइनु पर्दछ । राज्यका ठुलो पदमा बसेका व्यक्तिहरुले नागकिरलाई अनागरिक बनाउने कार्य गर्नु र दस्तावेज नै साटफेर गर्नु राज्यविरुद्धको अपराध हो । यो काण्डमा जोसुकै र जुनसुकै पार्टीका नेता तथा कार्यकर्ता संलग्न भएका भएपनि उनीहरुमाथि मुद्दा चलाईनुपर्दछ । तर मुद्दा चलाइँदा प्रतिशोध र विपक्षीहरुलाई टुँगो लगाउने भन्दै निर्दोष व्यक्तिहरुलाई फसाइँनु हुँदैन भने दोषीलाई कुनै सर्तमा पनि बचाइनु हुँदैन ।
नक्कली भुटानी शरणार्थी काण्डले गर्दा नेपालको प्रतिष्ठामै आँच पुगेको हुनाले अब अहिलेसम्म भएका सबै ठुला ठुला भ्रष्टाचारका फाइलहरु खोलिनुपर्दछ । तत्कालिन माओवादीका पूर्व लडाकुहरु राखिएको क्यान्टोनमेन्टमा भएको भनिएको भ्रष्टाचार, ललिता निवास जग्गा काण्ड, वाइडवडी जहाज काण्ड, ओम्नी काण्ड, यति काण्ड, बुढीगण्डकीमा भएको भनिएको भ्रष्टाचार काण्ड लगायतका सबै भ्रष्टाचारका काण्डहरु खोलेर भ्रष्टाचारमा संलग्न भएकाहरुलाई कानुनी दायरामा ल्याएमात्र नेपालको प्रतिष्ठा बढ्न सक्छ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नै बुढी गण्डकी योजनामा पुष्ककमल दाहाललाई शेर बहादुर देउवा र केपी ओलीले ३÷३ अर्ब रकम खाएको पटक पटक बताईसकेका हुनाले सो काण्डको फाइल समेत खोलेर सत्य तथ्य बाहिर ल्याउनैपर्दछ । अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री रहेका र उनको यो कार्यकाल नै प्रधानमन्त्रीको अन्त्यको कार्यकाल हुन सक्ने भएकाले गर्दा आफूमाथि लाग्दै आएको आरोपबाट मुक्त हुनपनि उनले क्यान्टोनमेन्टमा भएको भनिएको भ्रष्टाचारको फाइल खोली सत्यतथ्य बाहिर ल्याउनु उनैको हितमा हुनेछ ।
आफू प्रधानमन्त्री रहेका बेला आफ्ना विपक्षी रहेका नेकपा एमालेका अध्यक्ष र नेकपा एमालेप्रति मात्र उनको कडा रुप देखिएको खण्डमा त्यो प्रधानमन्त्री दाहालकै लागि समेत महंगो गर्न सक्छ । सत्ता गठबन्धनमा रहेका दल र आफ्नो दलप्रति मात्र उदार रहेर विपक्षी दललाई मात्र बद्नाम गराउने गरी कार्य सञ्चालन गरि अघि बढेको खण्डमा र अहिले सतहमा आएको नक्कली भुटानी शरणार्थी काण्डमा एमालेका नेताहरुलाई मात्र दोषी देखाउने प्रयास गरिए त्यो मान्य हुन सक्दैन । जुनसुकै पार्टीका नेता तथा कार्यकर्ताहरु यस काण्डमा मुछिएको भएपनि सबैलाई कडा कारबाही हुनै पर्दछ भन्ने हाम्रो मान्यता रहेको छ ।

footer