kumari
stcnepal

नेपाल दूरसञ्चार कम्पनीले ४० प्रतिशत लाभांश बितरण गर्ने

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । राष्ट्रिय सभा गृह काठमाडौंमा आइतवार सम्पन्न साधारण सभाले नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । आर्थिक वर्ष २०७९/८० को मुनाफा रकम मध्येबाट प्रतिशेयर ४० रुपैयाँका दरले शेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएको कम्पनीले जनाएको छ ।

साधारण सभामा करिब ९२ प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीहरूको उपस्थिति रहेको थियो । यस्तै, सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीमाथि छलफल गरी सर्वसम्मतले पारित गरेको छ ।​

यसैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिश बमोजिम आव २०८०/८१ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउन्टेन्टद्वय नरेन्द्र भट्टराई र महेशकुमार गुरागाईलाई लेखापरीक्षक नियुक्त गरेको छ ।

यस्तै, उनीहरूको पारिश्रमिक समेत निर्धारण गरिएको कम्पनीले जनाएको छ ।​ त्यसैगरी सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको रुपमा मनिषजङ्ग जोशी निर्विरोध निर्वाचित भएका छन् । सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले साधारण सभामा उपस्थित शेयरधनीहरूलाई स्वागत गर्दै कम्पनीको १६ औं वार्षिक प्रतिवेदन पेश गरेका थिए ।

footer