बुद्धका देशका बुद्धु, वीरका देशका कायर भयौं
वि.सं.२०८१ भदौ २१ शुक्रवार १३:०७
shares

राजन कार्की
बुद्ध जन्मेको देशका हामीलाई विश्वसमुदायले बुद्धु भन्छन् । वीर पुर्षाको वीरताले सिर्जेको देशका हमीलाई विश्व समुदायले कायर भन्छन् । आखिर किन ? वर्तमान पुस्ता न शान्त छ, न वीर । नेतृत्व कायर छ, युवापुस्ता निकासी गरेर लुटतन्त्र चलाएर लोकतन्त्रको भ्रम छरिरहेछ । नेतृत्व असक्षम छ, अदूरदर्शी छ, राजनीतिलाई व्यापार बनाएर सम्पत्ति जोडिरहेछ ।
नेपाल आफैमा पुण्यभूमि । बुद्ध जन्मेको देश । नेपाललाई नयाँ नेपाल बनाउँछु भनेर कम्मर कस्ने बहादुरहरू कायर बनेका छन् । हाम्रा नेताहरू कायर हुन् भन्ने सवालको जवाफमा एक बुद्धमार्गीको कथन यस्तो छ–
निर्वाणा प्राप्त गरेपछि बुद्ध प्रवचन दिइरहेका थिए । प्रवचन सुन्न बसेका मध्ये एकजना जिम्मेवार मान्छे उँघीरहेको थियो, बेला बेलामा घुरिरहन्थ्यो ।
वीच वीचमा बुद्धले बत्स सुतेका हौ ? भनेर सोध्थे, बत्स झल्यास्स हुन्थ्यो र छैन महात्मा भन्थ्यो ।
बुद्धको जीवन र जगतबारेको प्रवचन चलिरह्यो । पटक पटक बुद्धले बत्सलाई निदायौ कि भनेर सोधिरहे, उसले झसँङ्ग, झल्यास्स हुँदै जवाफ दिदै गयो– छैन महात्मा ।
प्रवचनको अन्तमा बुद्धले फेरि सोधे– बत्स जिवित छौ । पहिलेझैं उसले जवाफ दियो– छैन महात्मा । श्रोताहरू हाँसे, बत्स झस्कियो ।
बुद्ध उपस्थित समूहतिर हेरेर मुस्कुराए र अन्तिम प्रवचन सुनाए– जो निन्द्रामा हुन्छ, ऊ मृतक समान हुन्छ । उसमा चेत हुन्न, जीवन हुन्न ।
यस्ता महान पुण्यात्मा बुद्धको देशका नेतृत्व र तिनको राजनीति मृत समान छ, तिनले सञ्चालन गरेको लोकतन्त्रमा जीवन देखिन्न । जीवन भएको भए लोकतन्त्र जिवन्त हुन्थ्यो, जनजीवन बन्थ्यो ।
लोकतन्त्र कागजमा छ, लोकजीवनमा छैन ।
लोकतन्त्र भ्रष्टाचार, अनियमितता, कुनियत, असक्षमता, नेतातन्त्रको स्वार्थछ छ, कानुन व्यवस्थामा छैन । कानुन व्यवस्था खलबलिएको शासन भनेको कुशासन हो, सुशासन होइन । नेपालमा कुशासन चलिरहेको छ ।
अर्थात, धृतराष्ट्र शासन र वर्तमान नेपाली लोकतन्त्र हात्ती र हात्तीछाप चप्पल उस्तै उस्तै छ ।
बालिग हुने उमेर भइसक्यो, लोकतन्त्र कछुवा गतिमा सर्दैछ । चेतना देखिन्न । देखिन्छ त बस, भ्रष्ट चरित्र, अकर्मण्यता । अवस्था फेर्न यो पद्धतिले सक्दैन अब । पद्धति नै फेर्नुपर्ने अवस्था आयो ।
यसकारण यो पद्धति, पद्धति हाँक्ने नेतृत्व मृतसमान छन् ।
यो पद्धति मरिसक्यो भनुँ भने संविधान छ, संसद, सरकार छ, अदालत, राज्यसंयन्त्र छन् । बाँचेको छ भनुँ भने जता पनि स्वार्थ छ, लेनदेन छ, परिवारवाद छ, निरंकूशता छ । विधिले काम गर्दैन । विधिले काम नगर्ने पद्धति भनेको निरंकूशता हो । निरंकूशता भनेको लोकतन्त्र मरेको अवस्था हो ।
ब्रम्हनालतिर फर्केर हेरे संविधान घिटीघिटी अवस्थामा छ । राजनीतिक दलहरू यसरी निदाए कि उनीहरू ज्यूँदा छन् कि मरिसके छुट्याउन मुस्किल छ । भाङ खाएर लठ्ठिएको अवस्थामा छन् । उनीहरुको विवेकशून्यता घनिभूत भएको छ । यसकारण त उनीहरुलाई आफ्नै वचतबद्धताको ख्याल छैन । घोषणापत्र, प्रतिवद्धता केहीको भेउ छैन । मह दलेका जनवाद, सर्वहारावाद, लोकवादका नाराहरू साह्रै स्वादिला थिए, आलोपालो सत्तामा पुगेर जुन प्रकारको कुशासन गरे, जनता र देशमाथि खातै खात लाग्ने घातै घात गरे, त्यो सब देख्दा लाग्छ, राजनीतिक दलहरू जिवन्त छैनन् । मृतसमान छन् ।
मृतसमान राजनीतिले समाज बदल्छ, विकास निर्माण गर्छ भन्नु आकाशतिर फर्केर थुक्नुजस्तै हो ।
नेपाली जनमानस यो राजनीति, पद्धति, नेतृत्व देखेर चुनावमा हतारिएर यिनैलाई जिताउँछन्, अनि फुर्सदले पछुताउँछन् ।
मृतक रोजेपछि गर्ने शोक नै हो । देखिन मसान नै हो । लोकतन्त्र मसानघाट भन्दा कम छैन । लोकतन्त्रमा जीवन छैन । लोकलज्जा भनेको नैतिक बन्धन हो । लोकलज्जा पालना गर्ने हो भने लिखित संविधान नै चाहिदैन । लिखित संविधान नभए पनि बेलायत लोकतन्त्रको सर्वोच्च उदाहरण बनेकै छ त ? नेपालमा लोकतन्त्र छ, लोकलज्जा केही पनि बाँकी छैन । प्रत्येक नेता व्यभिचारले डामिएका छन् ।
व्यभिचारी राजनीतिमा लोकका आवाजको कदर नहुनु स्वभाविक हो । लोकतन्त्रको नाम बदनाम छ । लोकलज्जा नभएकाले लोकतन्त्र बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो बनेको छ ।
बुद्धका देशका नेता बुद्धु बने । वीरका सन्तान कायर बने । राष्ट्रलाई अस्तित्वको संकटमा पु¥याइदिए ।
महात्मा गान्धी भन्थे– वीरता मनमा हुन्न, मर्नमा हुन्छ । वीरता लोकको इज्जत लुट्नुमा हुन्न, लोकको इज्जत बचाउनुमा हुन्छ ।
नेपालको लोकतन्त्रले, परिवर्तनले त लोकको इज्जत लुटे, देशको सम्मान सखाप पारे । राष्ट्रको अवस्था महाभारतकी द्रौपदीको दुर्योधन, दुशासनले चीर हरण गरेझैं भएको छ । बचाउने कृष्ण कतै पनि देखिन्न ।
नाम नेत्र बहादुर भएर के गर्ने, आँखा देख्दैन भने । लोकतन्त्र लोकतन्त्र भनेर के गर्ने, लोकतान्त्रिक गरिमा र महिमा मण्डन हुन्छ भने । इरानमा सावाकजस्ता धूर्तलाई आँखाको ज्योति मान्दा राजा पहेलवीले देश त्याग्नुप¥यो । नेपालमा देशी विदेशी धूर्तहरूको जालो हिजो थियो, आज छ, अनेक परिवर्तनका कारण झन खतरनाक बन्दै गएको छ । यो जालो स्वार्थी छ, परिवारवादी छ, आत्मघाती छ । देशमाथि घात गरिरहेको छ ।
नेताको छवि धुमिल हुँदा देश र जनताको सम्मान धुमिल हुनुहुन्न, तर त्यही भइरहेको छ । लोकतन्त्रलाई लोकले नै अव सराप ठान्न मान्न थालिसकेका छन् ।
अवस्था बदल्न नसक्ने व्यवस्था अब बदल्नुपर्छ । बदल्न नसक्ने हो भने जनताले पनि मृत्यु रोज्नुपर्छ । जीवन रोज्नलाई जनाधिकार स्थापित हुनैपर्छ ।
यिनै हुन् लोकतन्त्र आएपछि नेपाल स्वर्ग बन्छ, समानता हुन्छ, सर्वहाराका लागि त बरदान नै हुनेछ भन्ने । बरदान आफैले लिए, आफै सुखी बने । न देशले केही पायो, न आमनागरिकले केही पाए । लोक नदेखिने, लोकआवाज नसुनिने, लोकसँग गरेको प्रतिवद्धता पूरा गर्नु नपर्ने र सत्तामा पटक पटक गएर जनघात र राष्ट्रघात गरेर पनि जवाफदेहीता लिनु नपर्ने कस्तो लोकतन्त्र हो यो ? विश्व चकित छ ।
सम्झनैपर्छ यो वाणी । सुकरात भन्थे, अल्छी त्यो व्यक्ति हो, जसले राम्रो काम गर्नसक्ने क्षमता राख्छ तर गर्दैन । हाम्रा राजनीतिक नेता र दलहरू अल्छी हुन्, अल्छीले गर्ने गफ हो । गफाडी नेताले माखो पनि मार्न सक्दैन । परिवर्तनको १८ वर्ष गफै गरेर बिताइदिए । मृत्यु भनेको यही हो । बुद्धुपन भनेको यही हो ।
माओवादी प्रचण्डको सर्वहारावाद, देउवाको समाजवाद र प्रजातन्त्र, ओलीको बहुदलीय जनवाद, अन्य पार्टीका खुलापन, खुला समाजका सोच सबै हावादारी गफ साबित भए । जनभक्ति र देशभक्तिको भाषण नगर्ने कुनै नेता नै छैनन् । काम फिटिक्कै केही गर्दैनन् । जनभक्ति, देशभक्ति हात्तीको देखाउने दाँतमा सिमित छ । लोकतन्त्रका मामिलामा, देशभक्तिका मामिलामा, स्वराजका मामिलामा यिनको अवस्था भिजेको परालजस्तै छ । जो कहिले उठ्न सक्दैन ।
हुन त जनवादको हुंकार खुब गर्छन् नेपाली कम्युनिष्टहरू । समाजवाद उन्मुख सर्वहाराको नाराबाजी लगाउँछन् । जनतालाई सकसमात्र दिइरहेछ जनवाद, समाजवाद । दुःखी जनता नाना, खाना, छाना र न्याय खोजिरहेका छन् । सरकार कर थोपरिरहेको छ, सेवाका नाममा अनियमितता बढाइरहेछ । ‘नेपालीलाई मार्ने, विदेशीलाई पोस्ने’ ०४६ सालपछि यही उद्यम चलिरहेको छ । राजनीतिमा लेण्डुप हैजा फैलिएको छ । लोकतन्त्र छ, लोकतान्त्रिक बन्न चाहदैनन् । संविधान छ, विधिमा कोही बस्न र चल्न चाहदैनन् । दिल्लीको हाजमोला, जे खायो पचायो, लोकतन्त्रको गायत्री मन्त्र यही हो । यिनको चरित्र मौसमअनुसारको ट्यूनिक मात्र हो ।
देशको माटो मलिलो होस, देश गुलाफ झैं फुलोस् जनताको चाहना यही थियो । गफाडी नेताले प्लास्टिकको गुलाफ दिए । प्लास्टिक क्यान्सरको कच्चा पदार्थ हो । यिनै नेता र यही नीति र सोच कायम रहने हो भने लोकतान्त्रिक स्वाभिमानको श्वासमा विदेशीकरणको दुर्गन्ध झन बढी फैलिनेछ । लोक र देश नदेखिने तन्त्र लोकतन्त्र हुनसक्दैन । नेपालमा लोकतन्त्र छैन ।


































