राजन कार्की
नेपालमा पनि लोकतन्त्र छ र ? यो प्रश्न अब विश्वभरि नै उठ्न थालेको छ । दण्डहीन मुलुक भएको, फौजदारी अभियोग लागेकाहरुले संसद, सरकार, संविधान चलायमान बनाएजस्तो गरेकाले विश्व आश्चर्य चकित परेको छ ।
कुनै पार्टी पनि स्वच्छ देखिदैन । हरेक पार्टीभित्र भ्रष्टहरुको राइँदाइँ चलेको छ । भ्रष्ट, राष्ट्रघाती, जनमतघातीहरु यत्रतत्र सर्वत्र छन् । आत्मनिर्भर बन्दै गएको मुलुकलाई माँग्नेदेश बनाइदिए यी नेताहरुले । बहुदलको ३४ पछि र लोकतन्त्रको १८ वर्षपछि नेपाल ९५ प्रतिशत परनिर्भर बन्नपुगेको छ । पुरानो व्यवस्थामा ६ हजार युवा वैदेशिक रोजगारीमा गएका थिए, यिनले व्यवस्था हाँकेपछि, नयाँ नेपाल बनाउन परिवर्तन भएपछि ८० लाख युवा वैदेशिक रोजगारीमा गएका छन् । हरेक युवाको मुखैमा छ–यो देशमा अवसर छैन । गरिखान पाइदैन । विदेश नगए के गर्ने ? साना साना बालबालिकाहरुसमेत भन्न थालेका छन्–१२ कक्षा पढेपछि विदेश जाने हो । यो स्थिति राष्ट्रका लागि चिन्ताको विषय हुनुपर्ने हो । न राजनीति, न अर्थविज्ञ, न समाजशास्त्री, न नागरिक समाज, कसैलाई पनि देशको भविष्यको चिन्ता छैन ।
सुगौलीसन्धि गर्न खटिएका राजा गिर्वाण विक्रमका दूत थिए गजराज मिश्र र चन्द्रशेखर उपाध्याय, जसले देशमाथि घात गरे । अंग्रेजसँग बकस लिएर देशमाथि गद्धारी गरे । तीभन्दा भिन्न रहेनन् लोकतन्त्रका नायकहरु । त्यस्तै घाती चरित्र बहुदलमा देखियो, जनआन्दोलनपछि सुधार होला भनेको त लोकतन्त्रमा पनि जनविश्वासघात, देशघात बढेर गएको छ । देशवाद मर्दो अवस्थामा पुग्यो, जुन दुःखदायी छ । यस्ता घातीहरु जति दिन देशमा हालीमुहाली भएर रहने छन्, देशमाथि संकट बढ्दै जानेछ । बढ्दै गएको छ ।
यो सबै समस्या देशमा अभिभावक नभएकाले भएको हो । नयाँ नेपाल बनाउँछु भन्नेहरु आफै, परिवार बनाउनतिर लागे । देश टुहुरो हुनपुग्यो । परम्परागत शक्ति अर्थात राजा यी कथित लोकतान्त्रिक भनिने नेता र पार्टीहरूको काँधमा राखेर विदेशीले चलाएका वाणहरूको शैयामा महाभारतका भीष्म झैं लम्पसार सुतिरहेका छन् । उनले बुझेका छन्– देशभक्तलाई यसरी वाणमा सुताउने देशवादी होइनन् । तर उनी वाण फ्याँकेर उठ्ने साहस गर्दैनन्, किनकि उनको विचारमा जनता जाग्नुपर्छ, जनताले आवश्यकता ठान्नुपर्छ । त्यसैले भीष्म भनिरहेका छन्– म यहीँ छु । जनताले खोजेका बेलामा उ उठ्छु । जनताले खोजेका छन् तर जनबिद्रोह भइसकेको छैन ।
जनता जाग्न थालेका छन् । यसैले त नेपालमा आज कोही लोकप्रिय छ भने राजतन्त्र र हिन्दुवाद लोकप्रिय छ । यो लोकप्रियता बिद्रोहको आगो ओकल्न थालेको छ । यही आगोले राष्ट्रघाती चरित्रको बिनास हुने निश्चित छ ।
लोकतन्त्र चरित्रले चल्नुपर्ने हो । विधिले चल्नुपर्ने हो । निरंकूश र अपराधिक मानसिकताले चलाएको लोकतन्त्र जड्याहले हाँकेको गाडीजस्तो बनेको छ । जो जुनसुकै बेला दुर्घटनामा पर्नसक्छ । यी जो लोकतन्त्रको आवरणमा विदेशी काखमा खेलिरहेका छन्, मस्ती मारिरहेका छन् । वास्तवमा यिनले लोकतन्त्र बुझेकै छैनन्, त्यसैले लोक विपदले, भोकले, रोगले मरिरहेका छन्, देश रोइरहेको छ । यिनीहरू खुशीले अट्टहास हाँस्छन्, स्थिति दर्दनाक छ । यथार्थमा यो लोकतन्त्रभित्र राक्षसीतन्त्र हावी भएको छ ।
यस्ता स्वार्थी पनि लोकनेता हुन्छन् ? लोकनेता लोक बिपदमा पर्दा शोक गर्छ र लोक बचाउन हदैसम्मको त्याग गर्छ । यी त भ्रष्टाचार गर्छन् । त्याग र बलिदान यिनको व्यवहारमा छैन । यिनीहरु त जुका हुन्, जो लोकलाई चुस्नु लोकतन्त्र हो भन्ठान्छन् । लोकतन्त्र नामधारी स्वार्थी राजनीति गर्नेहरू रक्तपिपासु ड्य्राकुल्ला लाग्छन्, लोक मर्दा भोज खान्छन् । महाभारतको कथाका दुर्योधन र दुशासन र नेपालको राजनीतिक नेता उस्तै लाग्छन् । गुण्डाचरित्र हावी भएपछि लोकतन्त्र विश्वमै बदनाम भएको छ ।
इतिहास साक्षी छ, सातसाले कांग्रेस, रक्सौलमा वीपीलाई भेट्न धेरैबेर कुर्नुपरेको र भेटे पनि वीपीले उपेक्षाभाव देखाएर कुरा गर्न नचाहेपछि कम्युनिष्ट बने विष्णुबहादुर मानन्धर, जसले पन्द्र सालको आमनिर्वाचन जित्ने चार मध्येका रौतहटबाट बिजयी कम्युनिष्ट थिए । मानन्धरलगायतका कम्युनिष्टहरू राजतन्त्र बिरोधी बनेर निस्किए । देशलाई अन्तर्राष्ट्रिय खेलमैदान बनाइदिए । तत्कालीन अवस्थामा गौरीशंकर छात्रसमिति पनि थियो, यो समितिका लक्ष्मण घिमिरे, शिवबहादुर खड्का, विपिन कोइराला, भवेन्द्र खड्का, श्रवण कोइराला, हेमन्त कोइराला, भरत बरालहरूले पञ्चायतमात्र होइन, राजतन्त्रै फाल्नुपर्छ भनेर रगतको सहीछाप गरेको इतिहास पनि छ । तर यी कम्युनिष्टहरु यसरी बिग्रिए कि यिनले सर्वहारालाई झन झन सर्वहारा बनाएर बिल्लिबाठ पारिदिए ।
कांग्रेसले धेरैपल्ट अवसर पायो । अहिले पनि कम्युनिष्ट कांग्रेस मिलेर सत्ता चलाएका छन् । यी सबै सत्ताधारी, संसदधारीहरु जनतामारा बनेका छन् । जनतामा यिनीहरुमाथि रत्तिभर पनि विश्वास लाग्न छाडेको छ । यहीकारण हो, विश्वमा लोकतन्त्र बदनाम भएको छ । जो ३४ वर्षदेखि सत्ताधारी बनेका छन्, यिनीहरु मार्कोसभन्दा धनी भइसकेका छन् । त्यो धन जनताको हक अधिकार खोसेर कमाएको हो । यिनीहरुमा राजनीति भनेको व्यापार हो भन्ने लागेको छ, त्यसैले ठग्नु यिनको राजनीति बनेको छ ।
विदेशीको सामल, शक्तिसमेत गुहारेर ०३६ र ०४६ सालमा कांग्रेस, कम्युनिष्टले दलमाथिको प्रतिवन्ध फुकुवा गर्न न्वारानमा खाएको घ्यूको बल निकालेकै हो । ०४६ सालमा त भारतीय नेताहरू डीपी त्रिपाठी, हरकिसन सिंह, डा.फारूकी, एमजे अकवर, सुब्रमण्यम स्वामीहरूको लस्कर गणेशमान सिंहको चाक्सीवासीमा आएर राजतन्त्रमात्र होइन, नेपालै सिध्याउने चर्को भाषण समेत गरेका थिए । देशमाथि विदेशीले गरेको गाली, अपमानसमेत सहेर आजका सत्ताधारीहरु सत्तामा पुगेका हुन् । शक्तिशाली बनेका हुन् ।
यी कति स्वाभिमानी होलान् ?
अहिले भारतले यिनलाई १२ बुँदे लक्ष्मण रेखामा बाँधेको छ । यिनीहरु भारतको इसारा बिना दायाँबायाँ गर्न सक्दैनन्, आत्मनिर्णय गर्ने अधिकार यिनले भारतलाई बन्दकी राखेका छन् ।
यहीकारण हो, ०६३ र ०६५ ुाmमा जुन परिवर्तन भयो, त्यो परिवर्तनमा नेपाली नेताहरूको भूमिका मात्र शिखण्डीको थियो । निर्णायक भारत थियो । राजतन्त्र फाल्न ००७ साल, २०१० र रगतका ल्याप्चे लगाउनेहरूले गर्न सकेनन्, उनीहरूले अर्काको टेको समर्थन लिएर सम्पन्न गरेको देखिन्छ । यी परिवर्तनका लङ्गडाहरू पात्र थिएनन् भने संविधानसभामा आठ वर्ष देउसी खेल्दैनथे, संविधान जारी भएपछिका २ कार्यकाल यसरी लोकतन्त्रका नाममा लोक लुट्दैनथिए । आज नेपाल त्यति ठूलो परिवर्तनपछि असफल राष्ट्रको भीरबाट गुल्टिने हालतमा किन पुग्यो ? पराधीन हुनपुगेको छ ।
संसद, सरकार, शितल निवास सबै पराधीन छन् । वर्तमान पीडादायी छ । विदेशीलाई चाहिने शिखण्डी हुन्, शिखण्डीलाई चाहिने स्वार्थ हो । स्वार्थको पछि लाग्ने विवेकहीनहरू भनेका अवसरवादी हुन् । शिखण्डी र अवसरवादीहरूलाई बाह्रै महिना दशैं आइरहेछ, घुस्याहहरूलार्ई लोकतन्त्र आँखा चिठ्ठा बनेको छ । देशभक्तिको सशक्त भाषण गरिदिएपछि जनता मख्ख पर्छन्, जनता नेतामुखी बन्दै गएका छन् । जनताले समेत आफ्नो स्वाभिमानलाई गुमाउँदै गएको देखिन्छ ।
नेपाल बनाउन त्यति ठूलो नरसंहार मच्चाइयो, धर्म र व्यवस्था फेरियो । भोको पेट, नाङ्गो जीउ, सडकको बास उस्तै छ । रगत चढाएर लोकतन्त्र आयो, कहाँ आयो ? जनताले नेतातन्त्रको चरित्रहीनतालाई कहिले बुझ्ने ?
घण्टाघरको सुईले पलपल भनिरहेको छ– लोकतन्त्र कौडी पिचासहरूलाई आयो । सत्ताका भूत बन्न रूचाउनेहरूलाई आयो । राजनीतिलाई व्यवसाय बनाउनेहरूलाई आयो । यी रछ्यान हुन्, यिनमा चोखो मन र जनताको बलमा उभिने इच्छाशक्ति छैन । अन्धो नेताले लोकतन्त्रको चस्मा लाए के नलाए के ? विवेकहीन फोस्राहरू फुस्रा गफ हाँकिरहेका छन् अब त जनता जाग । अब पनि नजाग्ने हो भने यिनै नेताले नेपाललाई सिध्याउने खतरा बढेर गएको छ ।
जनताले बुझ्नुपर्छ गिर्वाणविक्रमको अधिकार बोकेर गएका गजराज मिश्र र चन्द्रशेखर उपाध्यायले बृटिश इण्डियाको स्वार्थमा जसरी विश्वासमाथि घात गरे, वर्तमान नेपालका नेताहरुले जनमत र पद्धतिमाथि नै घात गरिरहेका छन् ।
जनताले आज नबुझे कहिले बुझ्ने ?