रवि र रास्वपा फरक फरक हुन् कि रवि नै रास्वपा हुन् ?
वि.सं.२०८१ कात्तिक २२ बिहीवार ११:४४
shares

२०७९ को संघीय संसद र प्रदेशसभाको निर्वाचन भन्दा केही समय अघिदेखि ठुला भनिएका दलहरु कांग्रेस, एमाले र माओवादी केन्द्र दल विरोधी भाष्यले व्यापक रुपमा स्थान पाउँदै आएको थियो । यसअघि भएको स्थानीय तहको निर्वाचनमा केही स्थानीय तहमा बालेन साह लगायतका केही स्वतन्त्र व्यक्तिहरुले विजय प्राप्त गरेका थिए । उनीहरुले युवा मतदाता केन्द्रीत चुनावी रणनीति अपनाएका थिए । त्यही सफलतालाई हेरेर राजनीतिमा रवि लामिछाने सहितका केही व्यक्तिहरु हाम फालेका थिए । रवि लामिछानेले ठुला भनिएका दलहरु कांग्रेस, एमाले र माओवादी केन्द्र सहितका दलहरु निकम्मा भएको र जनताको आकांक्षा अनुसार विकास, सुशासन र न्याय स्थापना गर्न नसकेका हुनाले नयाँ दल चाहियो भन्ने गरेका थिए । अहिले पनि केही स्वतन्त्र व्यक्तिहरु बालेन लगायत काममा सक्रिय रहेका छन् भने काम गर्दै जाँदा ठुला दलहरुसँग बालेनको मतभेद रहँदै आएको छ ।
ठुला भनिएका दलहरुको काम गराई र कार्यशैलीप्रति बालेनको मतभेद कहिलेकाही सडकमै पोखिँदै आएको छ । बालेन लगायतका स्वतन्त्र जनप्रतिनिधिहरु प्रति मुख्य दल र अन्य दलहरु प्रति सकारात्मक र नकारात्मक भाव प्रष्ट रुपमै देखिँदै आएको छ । अर्थात दुवैथरी बीचमा सामान्य सम्बन्ध र बुझाईमा केही भिन्नता देखिएको छ । रास्वपा भनेको रवि हो कि रास्वपा भनेको स्वतन्त्र पार्टी हो अब त्यो छुट्टिनुपर्ने अवस्था आएको छ ।
रवि नेतृत्वको दललाई ठुला भनिएका दलहरुले पहिला पालैपालो प्रयोग गर्दे आएका र रास्वपा प्रयोग हुँदै आएको थियो । निर्वाचन जितेको पहिलो पटक नै रास्वपाका सभापति रहेका रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्न लालयित रहेका र संघीय संसदमा गणितका आधारमा सरकार निर्माण गर्न रवि नेतृत्वको पार्टीको मुख्य भूमिका रहेकाले उनलाई उपप्रधान सहित गृहमन्त्री बनाउन एमाले र कांग्रेस सहमत भएका थिए । तर यस्तो गर्दा गर्दै आफूहरु कमजोर अवस्थामा पुग्ने हो कि भन्ने डर कांग्रेस, एमालेलाई थियो । रवि लामिछानेका विभिन्न काण्डहरु बाहिर आइरहँदा पनि पुष्पकमल दाहाल नेतृत्वको सरकारले समेत उनलाई उपप्रधान सहित गृहमन्त्री बनाएको थियो । रवि लामिछाने राजनीतिमा आउँदै गर्दा नेपाल सरकार, अदालत, प्रहरी लगायतका कानुनी संरचनामा रविको तेस्रो ट्रायल थियो ।
पहिलो पटक सांसद बन्नु अघि नै उनलाई आफ्नै सहकर्मीको हत्या दुरुत्साहन अभियोगमा प्रहरीले हिरासतमा लिएको थियो । त्यही प्रहरी हिरासतलाई प्रयोग गरेर मिडिया र जन परिचालनले चुनाव क्षेत्रका रुपमा चितवनलाई स्थापित गरे । त्यहीबाट उनी पहिलो पटक निर्वाचन जितेर सांसद बन्दै सिंहदरबारमा प्रवेश गर्न सफल भए । निर्वाचन जितेर उपप्रधानसहित गृहमन्त्री बने लगत्तै दोहोरो नागरिकताको मुद्दा सतहमा आयो । उनी दोषी देखिए परिणाम स्वरुप उनको सांसद पद गुम्यो । तर त्यो अवस्थाबाट पनि उनी अपत्याशित र अनौठो ढँगले उम्किन सफल भए । फेरी त्यही बेला भएको उपनिर्वाचनमा उनी रास्वपाको उम्मेदवारका रुपमा सांसदमा विजयी भए । दोषी ठहर भएर मुद्दा समेत दर्ता गरी सांसद पद खाली भएको अवस्थामा रवि एकाएक त्यही निर्वाचनमा उम्मेदवार बन्ने वातावरण कसरी बन्यो र जनताले पनि पहिलाको भन्दा बढी मत दिएर किन उनलाई जिताए यस विषयमा राजनीतिक क्षेत्र र जनतामा पनि व्यापक रुपमा बहस र छलफल भएको पाइँदैन । तर त्यही हुँदाहुँदै पनि सामाजिक अभियन्ता केही राजनीतिक कर्मीमा कतै रवि नै सही होइनन् भन्ने दोधार देखिन्छ । यसैको परिणामस्वरुप राज्य संरचनाको बारम्बार धज्जी र खिल्ली उडिरहेको छ र राज्य संयन्त्र र यसका अङ्गहरु थप कमजोर बन्दै गएका छन् ।
रविका बारेमा राज्य संरचनाको मनसाय गलत रहेको भन्ने देखिँदैन । कहीँ कतैबाट त्यसको पुष्टि हुन सकेको छैन । रवि नै गृहमन्त्री बनेका बेला राज्य संयन्त्रलाई स्वतन्त्र ढँगले काम गर्न दिएको देखिएको थिएन । पुराना या ठुला दल गलत भन्ने भाष्य बनाउन रविमार्फत नै यस्तो प्रयास हुनु अस्वभाविक थिएन । तर लामो समयसम्म राज्य संरचनालाई नेतृत्व प्रदान गरेका भनेर रविले खेदेकै प्रमुख राजनीतिक दलका मुख्य नेतृत्व पनि रवि लाइनकै नेतृत्व गर्ने प्रमुख पात्र बन्न पुगे । नेपाली राज्य संरचनाले विना हस्तक्षेप नियमित काम गर्न पाएको भए रवि लामिछाने उपनिर्वाचनमा चुनाव लड्न नै पाउने थिएनन् । जब यसलाई तत्कालिन महान्यायाधिवक्ताबाट गिजोलियो र काठमाडौ सिडियो कार्यालयले एक कदम अघि बढेर केही घण्टामै अर्को नागरिकता दियो त्यो आफू लोकप्रिय हुने कदम बाहेक अन्य केही थिएन । यी सबै कार्यमा तत्कालिन माओवादी नेतृत्वको सरकार प्रमुख पुष्पकमल दाहालको सफ्टकर्नरले काम गरेको थियो । त्यही कारणले गर्दा अर्को नागरिकता लिएको भोली पल्टै उनलाई पुन उपसहित गृहमन्त्री बनाइयो यी सबै कारणहरुले गर्दा रविलाई अहिलेको अवस्थामा पु¥याउने माओवादी केन्द्र र पुष्पकमल दाहाल नै जिम्मेवार रहेका छन् । नेपाली नागरिकता नै नभएका व्यक्तिलाई निर्वाचन आयोगले कसरी निर्वाचन लड्न अनुमति दियो ? नागरिकता दोहोरो मुद्दामा किन उनीमाथि कानुनी कारबाही भएन यी सबै कार्यहरुले गर्दा र अहिले माओवादीको व्यवहार हेर्दा रविलाई उच्चाल्ने काम माओवादीले नै गरेको हामीले ठहर गरेका छौँ ।

































