आज पनि घट्यो काठमाडौंको न्यूनतम तापक्रम
वि.सं.२०८१ माघ २६ शनिवार ०८:४६
shares

काठमाडौंको न्यूनतम तापक्रम तीन दिनदेखि लगातार घटिरहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानको समयमा काठमाडौंको न्यूनतम तापक्रम तीन दिन देखि लगातार घटिरहेको छ।बुधबार ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ८.६ डिग्री मापन भएको थियो। त्यसयता बिहानीपखको तापक्रम घटिरहेको तथ्यांकले देखाएको छ।बिहीबार यही समयमा काठमाडौंको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस मापन भएको थियो भने शुक्रबार ५.६ डिग्री सेल्सियस मापन भएको थियो।
आज बिहान ५:४५ बजेको मापन अनुसार काठमाडौंको न्यूनतम ४.६ डिग्री सेल्सिय रहेको मौसमविद बिनु महर्जनले जानकारी दिइन्।हिउँंद घर्किन लागिसक्दा पनि पानी पर्ने छाँटकाँट नदेखिँदा र बिहानको समयमा मौसम सफा रहँदा न्यूनतम तापक्रम घटेको हो।’काठमाडौंमा बिहानको समयमा बादल नलाग्दा आकाश खुला छ। त्यसकारण तापक्रम केही घटिरहेको छ,’ मौसमविद् महर्जनले भनिन्।
अधिकतम तापक्रम भने त्यति धेरै घटबढ भएको छैन। शुक्रबार काठमाडौंको अधिकतम तापक्रम २३ डिग्री सेल्सियस मापन भएको थियो। त्यसअघि बुधबार २३.८ डिग्री सेल्सियस थियो।शनिबार दिउँसो पनि काठमाडौंको अधिकतम तापक्रम २३ देखि २५ डिग्री सेल्सियसकाबीच रहने महाशाखाको पूर्वानुमान छ।
एक साताअघि गत शनिबार काठमाडौंको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस मापन भएको थियो।त्यसपछि आइतबार ४.५, सोमबार ४.८, मंगलबार ६.५ , बुधबार ८.६ , बिहीबार ७.५ र शुक्रबार ५.६ डिग्री सेल्सियस मापन भएको थियो।



































