गणतन्त्र गन्हायो दाहालकै कारण
वि.सं.२०८१ चैत ६ बुधवार १३:४४
shares

काठमाडौ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन दलहरु असफल भएपछि खास गरेर माओवादी केन्द्रले समाजवादी मोर्चा गठन गरेर त्यही मोर्चा मार्फत सत्तामा पुग्ने प्रयास गरिरहेको छ । सो मोर्चाको काम भनेको पूर्वराजासहित राजवादीहरुलाई गाली गलौज गर्नु र वर्तमान कांग्रेस–एमाले गठबन्धनको नेतृत्वको सरकारलाई घेराबन्दीमा पार्नु नै मुख्य उदेश्य रहेको प्रष्ट रुपमै देखिएको छ । राजावादीलाई गाली गर्नु भन्दा गणतन्त्रवादीहरु नै पहिला सच्चिनु आवश्यक रहेको छ । अहिले समाजवादी मोर्चामा रहेका प्राय सबै दलहरु पटक पटक सत्तामा पुगेका छन् । २०६२÷६३ को आन्दोलन पछि सबै भन्दा बढी सत्तामा पुग्ने माओवादी केन्द्र नै हो ।
सत्तामा रहँदा दलहरुले राम्रो काम गर्नु भन्दा पनि पार्टीगत स्वार्थ र व्यक्तिगत स्वार्थलाई हेरेर अघि बढेका हुनाले उनीहरु प्रति जनताको वितृष्णा बढेको हो । सरकारमा रहेका बेला राम्रो काम गर्न सकेको भए जनतामा असन्तुष्टि नै बढ्ने थिएन । समाजवादी मोर्चामा रहेका प्रमुख घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ३ पटक मुलुकको प्रधानमन्त्री रहिसकेका छन् ।
कांग्रेस–एमालेको गत असार १७ गते भएको गठबन्धन भन्दा अघिसम्म उनले एमालेको समर्थनमा प्रधानमन्त्री रहँदा उनले कांग्रेस–एमालेलाई धम्क्याउँदै आफूलाई सत्ताबाट हटाएर देखाउन चेतावनी समेत दिँदै आएका थिए । जब कांग्रेस एमालेले गठबन्धन गरेर सत्तामा पुगे तब दाहाललाई छटपटी बढेको हुनाले नै अन्य केही दलहरुलाई साथमा लिएर समाजवादी मोर्चामार्फत सत्तामा पुग्ने खेलमा उनी सक्रिय रहेका छन् ।
केही दिन पहिला अर्थात फागुन २५ गते राजावादीहरुले काठमाडौमा गरेको बृहत प्रदर्शन पछि पुष्पकमल दाहाल पूर्वराजालाई अनेक प्रकारका झुठा आरोप लगाउँदै आएका छन् । राजावादीका प्रदर्शनलाई गाली गर्नुको अर्थ थिएन । राजनीतिक दलहरुले हालसम्म के गरे ? आफ्नो स्वार्थभन्दा माथि उनीहरु उठ्न नसकेका र आफ्नो पार्टीगत र व्यक्तिगत स्वार्थ पूरा गर्न लागि परेका हुनाले नै उनीहरुका विरुद्ध जनता खनिएका हुन् । दाहाल नै प्रधानमन्त्री रहेका बेला ललिता निवास जग्गा प्रकरणमा मुछिएका माधव नेपाल र बाबुराम भट्टराईलाई कानूनी कारबाही नगरी उन्मुक्ति दिने यिनै दाहाल होइनन् र ? आफ्नो स्वार्थका लागि जे गर्न पनि तयार दाहालकै कारण गणतन्त्र नै गन्हाएको हो ।






































