आइपीएल : मुम्बई शीर्षस्थानमा उक्लिँदा राजस्थान प्लेअफ होडबाट बाहिरियो
वि.सं.२०८२ वैशाख १९ शुक्रवार ०८:१३
shares
मुम्बईले दिएको २१८ रनको लक्ष्य पछ्याएको राजस्थान १६.१ ओभरमा ११७ रनमा अलआउट भयो । जोफ्रा आर्चरले सर्वाधिक ३० रन बनाउँदा कप्तान रियान परागले १६ रन बनाए ।
मुम्बईका लागि ट्रेन्ट बोल्ट र कर्ण शर्माले ३-३ विकेट लिँदा जसप्रित बुमराहले २ तथा दीपक चहर र हार्दिक पान्ड्याले १-१ विकेट लिए ।त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा २ विकेट मात्र गुमाएर २१७ रनको योगफल खडा गरेको थियो । ओपनरद्वय रोहित शर्मा र रायन रिकेल्टनले अर्धशतक बनाएका थिए ।
रोहितले ५३ तथा रिकेल्टनले ६१ रन बनाए । पहिलो विकेटका लागि यी दुई मिलेर ११६ रनको साझेदारी गरेका थिए । दुई ब्याटर आउट भएपछि कप्तान हार्दिक र सुर्यकुमार यादव मिलेर ९४ रनको अविजित साझेदारी गर्दै बलियो योगफलमा पुर्याएका थिए ।हार्दिक र सुर्यकुमार दुवै समान ४८ रनमा अविजित रहे । राजस्थानका लागि महीश थिक्साना र रियान परागले १-१ विकेट लिए ।
यस जितसँगै शीर्षस्थानमा उक्लिएको मुम्बईको ११ खेलमा १४ अंक छ । राजस्थानको ११ खेलमा ६ अंक मात्र छ ।राजस्थान प्लेअफ होडबाट बाहिरिने दोस्रो टिम हो । बुधबार चेन्नई प्लेअफ होडबाट बाहिरिने पहिलो टिम बनेको थियो ।




































