पुष्पकमल दाहाललाई प्रधानमन्त्री ओलीको जवाफ, प्याराफिट र फ्लडलाईटको काम हेर्न कीर्तिपुर जानुहोस
वि.सं.२०८२ असार ३० सोमवार १९:३९
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दल माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदनमा राखेको सवाललगत्तै जवाफ फर्काएका छन् ।
प्रचण्डले दुई तिहाइको सरकारले पहिलो निर्णयमै कीर्तीपुरमा ३०० दिनभित्र फ्लडलाइट र प्याराफिटसहितको अन्तर्राष्ट्रिय रंगशाला सम्पन्न गर्ने घोषणा गरेकोमा ३६५ दिन बितिसक्दा समेत ‘जोडियो त फ्लडलाइट ? बन्यो त प्याराफिट’ ? भन्दै सोधेका थिए ।प्रचण्डले यस्तो कार्यशैलीले सरकारको घोषणा केबल प्रचारबाजीमा सीमित भएको टिप्पणी गरेका थिए ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत् कीर्तिपुरमा बनिरहेको प्यारापिट र जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जान सुझाएका छन् ।ओलीले दाहाललाई प्रधानमन्त्री हुँदा केही गर्नु पनि नपरेको र नगरेको आरोप लगाए ।उनले भने, ‘तपाईं प्रधानमन्त्री हुँदा कुनै पनि कामलाई टाइमलाइन तोकेर गर्छु भन्नु भएन र तपाईंले केही गर्नु पनि परेन र गर्नु पनि भएन । सरकारको कामबारे तथ्य तथ्यांक राखेर तपाईंले प्रधानमन्त्रीको रूपमा जवाफ पनि दिनु परेन । तपाईंका त न कुनै वाचा, न कुनै निर्णय, न कुनै संकल्प, न कुनै काम ।
मैले त दिन तोकेर गर्छु भनेँ, आफैँमाथि प्रश्न आह्वान गरेँ र काम पनि गरेँ ।’उनको थप भनाइ छ, ‘जर्जर छोडेको अर्थतन्त्र अहिले कहाँ पुग्यो, तथ्याङ्क हेर्नुस् भन्ने सुझाव दिन चाहन्छु ।’



































