प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो ,बोधगयामा भारतीय प्रधानमन्त्री मोदीले स्वागत गर्ने
वि.सं.२०८२ भदौ १ आइतवार १४:१२
shares

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्रीले आइतबार सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर भारतीय समकक्षी नरेन्द्र मोदीको तर्फबाट भारत भ्रमणको निम्तो बुझाएका छन् ।
दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौं आएका मिस्रीले परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल भ्रमण गरेका हुन् । प्रधानमन्त्री ओली भदौ ३१ देखि असोज २ सम्म भारत भ्रमणमा रहनेछन् ।उनको भ्रमण बिहारको बोधगयामा केन्द्रित हुनेछ, जहाँ उनले मोदीसँग भेटवार्ता गर्नेछन् । बुद्धले ज्ञान प्राप्त गरेको महाबोधी सांस्कृतिक केन्द्रमा हुने यो वार्तामा बिहारका मुख्यमन्त्री नितीश कुमार र अन्य उच्च अधिकारीहरूले ओलीलाई स्वागत गर्नेछन् ।
मिस्रीले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेट्ने छन् । भेटमा नेपाल-भारत साझेदारी, पूर्वाधार, र विकास सहयोगका विषयमा छलफल हुनेछ ।ओलीले बोधगयापछि नालन्दा विश्वविद्यालयको भ्रमण गरी विशेष समारोहलाई सम्बोधन गर्नेछन्, जहाँ उनलाई मानार्थ डी९लिट उपाधि प्रदान गरिने सम्भावना छ । मोदीले ओलीका लागि दिवाभोजको आयोजना गर्नेछन्, र दुवै नेताबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता र संयुक्त पत्रकार सम्मेलन हुनेछ ।


































