एमालेले भाद्र १३ गते बोलायो केन्द्रीय कमिटीको बैठक
वि.सं.२०८२ भदौ ५ बिहीवार ०८:०६
shares

काठमाडौं। नेकपा (एमाले)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा यही भदौ १३ गते बिहान ११ बजे १०औं केन्द्रीय कमिटीको बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । उनका अनुसार दोस्रो विधान महाधिवेशनको तयारीका लागि बैठक बोलाइएको हो । उनले बैठकमा महाधिवेशनमा पेस गर्ने विधान संशोधन प्रस्ताव प्रतिवेदनबारे छलफल गरिने जानकारी दिए ।
विधान संशोधन प्रस्ताव प्रतिवेदन पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पेस गर्नेछन् । एमालेले विधान संशोधन प्रस्तावमाथिको सुझाव पठाउन मातहतका कमिटीलाई यही भदौ १० गतेसम्मको समयसीमा दिएको छ ।कार्यालय सचिव डा. अधिकारीले विधान संशोधनसम्बन्धी सुझावलाई समेटेर प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा पेस गरिने र छलफलपछि पारित गरिने बताए । यसअघि नवौं केन्द्रीय कमिटी बैठक गत साउन ५ र ६ गते बसेको थियो ।
दोस्रो विधान महाधिवेशनमा दुई हजार १२८ जना प्रतिनिधि र थप २६४ जना आयोजक गरी दुई हजार ३९२ जनाको सहभागिता हुनेछ ।एमालेको दोस्रो विधान महाधिवशेन ललितपुरको गोदावरीस्थित सनराइज हलमा यही भदौ २० देखि २२ सम्म हुनेछ ।




































