लिङ्देनको सरकारले भिजिट भिसा प्रकरण छानबिनका लागि उच्चस्तरीय आयोग गठन नगरे सडक आन्दोलनमा जान बाध्य हुने चेतावनी
वि.सं.२०८२ भदौ १५ आइतवार १६:१७
shares

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले भिजिट भिसा प्रकरण छानबिनका लागि उच्चस्तरीय आयोग गठन नगरे सडक आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् ।
आइतबार झापामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफूले सो माग सम्बोधन नभएसम्म संसद् अवरुद्ध बनाउने कार्यलाई निरन्तरता दिने र आवश्यक परे राष्ट्रिय स्वतन्त्र पार्टीसहित आफ्नो पार्टी सडक आन्दोलनमा जानसक्ने चेतावनी समेत दिए ।आफूहरूले सदन अवरुद्ध गरेपनि त्यसलाई बेवास्ता गर्ने र अघि बढाउने काम गरिएको बताउँदै सभामुख देवराज घिमिरेको भूमिकाप्रति पनि उनले असन्तुष्टि जनाए ।
आफूहरूको मागलाई सरकारले पनि उपेक्षा गरेको भन्दै उनले आक्रोश व्यक्त गरे । अध्यक्ष लिङ्देनले सो प्रकरणमा छानबिनका लागि गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर सहजता प्रदान गर्नुपर्ने पनि बताए ।उनले भने,’भिजिट भिसा प्रकरणमा नैतिकता छ भने गृहमन्त्रीले राजीनामा दिएर छानबिनका लागि सहयोग गर्नुपर्छ भनेर हामीले भन्यौँ । उहाँले राजीनामा दिएर सहयोग गर्नुहुन्न भने पनि छानबिन आयोग त गठन हुनुपर्यो नि त । भोली दोषी ठहरियो भने त उहाँ कारबाहीमा परिहाल्नु हुन्छ । राजीनामा पनि दिई हाल्नु हुन्छ भनेर भन्दा पनि सुन्दा पनि नसुनेर जुन ढङ्गले संसद्लाई सभामुखले अगाडि बढाइराख्नुभएको छ । सरकारले पनि जुन ढङ्गले उपेक्षा गरिराखेको छ ।
मलाई लाग्छ–त्यो नेपाली जनताले हेरिराखेको छ । र, आगामी दिनमा नेपाली जनताले यसको मूल्याङ्कन गर्ने नै छ । हामी कम्तीमा पनि यो सेसनमा हामी यसरी नै निरन्तर विरोधमा रहन्छौँ । र, आवश्यक पर्यो भने दुई वटा पार्टी सडकमा आउनसक्ने अवस्था पनि हुन्छ ।’उनले फरक प्रसङ्गमा आफूले पार्टीमा नयाँ साथीहरूलाई जिम्मेवारी दिने क्रममा गल्ती भए सच्चिएर अघि बढ्न तयार रहेको पनि बताए ।






























