चीन र भारतको विश्वव्यापी व्यापारमा स्थिरता ल्याउनका लागि रणनीतिक रुपमा अघि बढ्ने प्रतिबद्धता
वि.सं.२०८२ भदौ १५ आइतवार १७:३८
shares

काठमाडौ । कर नीतिका कारण अमेरिकासँग चिढिएका एसियाका दुई शक्तिशाली राष्ट्र चीन र भारतले विश्वव्यापी व्यापारमा स्थिरता ल्याउनका लागि रणनीतिक रुपमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी चिनफिङबीच शनिबार शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनको अवसरमा तियानजिनमा सम्पन्न द्विपक्षीय भेटवार्तामा दुवै नेताले विश्वव्यापी व्यापारमा स्थायित्व ल्याउनेतर्फ दुई मुलुकको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।भेटमा प्रधानमन्त्री मोदीले भारत र चीन दुवैले ‘रणनीतिक स्वायत्तता’को अभ्यास गर्ने उल्लेख गर्दै दुई देशबीचको सम्बन्धलाई तेस्रो देशको चश्माबाट हेर्नु नहुने स्पष्ट गरे ।
द्विपक्षीय, क्षेत्रीय र विश्वव्यापी मुद्दा तथा चुनौतीहरू जस्तै आतंकवाद र बहुपक्षीय मञ्चहरूमा निष्पक्ष व्यापारमा साझा समझदारी विस्तार गर्नु आवश्यक रहेको ठहर गरेको भारतको विदेश मन्त्रालयको विज्ञप्तिमा छ । आपसी व्यापार सम्बन्ध विस्तारका लागि रणनीतिक दृष्टिकोणबाट अघि बढ्नुपर्नेमा उनीहरूको जोड थियो ।सन् २०२४ को अक्टोबरमा कजानमा भएको भेटपछि यो दोस्रो उच्चस्तरीय संवाद हो । यो भेटमा दुवै नेताले विगत एक वर्षमा सीमावर्ती क्षेत्रमा शान्ति कायम हुनु र द्विपक्षीय सम्बन्धमा सकारात्मक गति आएको उल्लेख गरेको भारतको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा छ ।
प्रधानमन्त्री मोदीले सीमामा शान्ति र स्थायित्वलाई दीर्घकालीन साझेदारीको आधार रहेको उल्लेख गर्दै दुवै देशबीचको असहमति विवादमा नफर्कियोस् भन्नेमा आफ्नो दृढता व्यक्त गरेका छन् ।व्यापार सन्तुलनलाई द्विपक्षीय सम्बन्धको मुख्य मुद्दा बनाउँदै, लगानी विस्तार र व्यापार घाटा न्यूनीकरणका उपायहरू खोज्ने प्रतिबद्धता पनि भेटमा गरेका छन् । पर्यटक भिसा पुनः सञ्चालन र कैलाश मानसरोवर यात्रा पुनः सुरु भएपछि मानिसहरूबीचको सम्पर्क थप सशक्त बनाउने विषयमा पनि छलफल भएको छ । दुवै नेताले प्रत्यक्ष उडान र भिसा प्रक्रिया सहज बनाउने प्रयासलाई तीव्रता दिने पनि बताए ।






























