देशप्रति मेरो बफादारिता छ : अध्यक्ष ओली
वि.सं.२०८२ कात्तिक ३ सोमवार ११:४०
shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा समृद्धि, समानता र शान्ति–सुव्यवस्थाको स्थापनाका लागि आफू दृढ प्रतिबद्ध रहेको भएको बताएका छन् ।
हालै प्रेस चौतारी नेपालद्वरा काठमाडौंमा आयोजित सम्पादकहरूसँगको संवाद कार्यक्रममा अध्यक्ष ओलीले हरेक नागरिकले सम्मानजनक जीवन बाँच्न पाउने अवस्था निर्माण गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘देशमा समृद्धि ल्याइनुपर्छ, समानता ल्याइनुपर्छ, शान्ति सुव्यवस्था विश्वसनीय ढङ्गले स्थापना हुनुपर्छ, हरेक व्यक्तिले आफ्नो जिउधन, अधिकार र सम्पत्तिको प्रत्याभूति पाउनुपर्ने हो ।’
उनले समाजका प्रत्येक नागरिकले आत्मसम्मानसहित बाँच्न पाउने अधिकारको रक्षा गर्नुपर्ने बताए । देश, जनता र मानवजातिप्रति आफ्नो निष्ठा अडिग रहेको ओलीको भनाई थियो ।
अध्यक्ष ओलीले राष्ट्र र जनताप्रतिको बफादारीलाई आफ्नो राजनीतिक जीवनको मूल आधार भएको बताउँदै, मूल्य, मान्यता र निष्ठा नै स्थायी राजनीति निर्माणको आधार हुने उल्लेख गरे । ‘मेरो बफादारिता कसैलाई मन नपरे पनि देशप्रति मेरो बफादारिता छ, जनताप्रति मेरो बफादारिता छ, मानव जातिप्रति मेरो बफादारिता छ, मैले भनेका मूल्य–मान्यताहरू मेरा निष्ठाका विषय हुन् ।’
आफ्नो प्रधानमन्त्री कार्यकालमा प्रेस स्वतन्त्रता कुण्ठित नभएको पनि उनले दाबी गरे । अहिले सेल्फ सेन्सरसिपको नाम दिएर पत्रकारहरू डराएका बताए । ‘म प्रधानमन्त्री हुँदा पत्रकारहरूले डराएर लेख्नुपर्ने अवस्था थिएन, आत्मसेन्सर गर्ने वा आफैँलाई रोक्ने आवश्यकता थिएन ।’



































