इजरायलमा मारिएका विपिन जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री सहितका उच्च पदस्थहरूले श्रद्धाञ्जली अर्पण गरे
वि.सं.२०८२ कात्तिक ३ सोमवार १५:५६
shares
काठमाडौं । इजरायलमा मारिएका विपिन जोशीको पार्थिव शरीरमा प्रधानमन्त्रीसहितका उच्च पदस्थहरूले श्रद्धाञ्जली अर्पण गरेका छन् ।
सोमबार (आज) केहीबेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको शवमा अहिले श्रद्धाञ्जली अर्पणको कार्यक्रम चलिरहेको छ ।उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरू, परराष्ट्र मन्त्रालयका अधिकारीहरू पनि विमानस्थल पुगेका छन् ।उनको शव आजै कञ्चनपुरको भिमदत्तनगरपालिका स्थित उनको घरमा लगिने छ । कञ्चनपुरमै उनको अन्तिम दाह संस्कार गरिने बताइएको छ ।
अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरुले उनको मृत्यु पुष्टि गरेका थिए ।इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने क्रममा हमासले विपिनको भनेर इजरायली सेनालाई शव हस्तान्तरण गरेको थियो ।उनको डीएनए परीक्षणबाट शव विपिनकै भएको पुष्टि भएको थियो भने फरेन्सिक जाँचमा अपहरण भएताका नै मृत्यु भएको पाइएको इजरायल स्थित नेपाली दूतावासका अधिकारीहरुले बताएका छन् ।
विपिनको शव नेपाल ल्याउनुअघि आइतबार इजरायलको राजधानी तेल अवीवस्थित खटिभा ८ को स्मारक, बेनगुरिएन विमास्थलमा श्रद्धाञ्जली दिइएको थियो । उनको शव रहेको कफिनमा नेपाली झण्डा ओढाइएको छ ।




































