आज मधेश प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिदै
वि.सं.२०८२ मंसिर १७ बुधवार ०८:४२
shares

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज विश्वासको मत लिँदैछन् ।
सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेपछि उनले आज विश्वासको मत लिन लागेको हुन् ।त्यसका लागि आज बिहान साढे आठ बजे प्रदेश सभा बैठक बोलाइएको छ ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम सात दलको गठबन्धनबाट गत असोज २९ गते मुख्यमन्त्री नियुक्त भएका लोसपा नेता जितेन्द्र सोनलले विश्वासको मत नपाउने स्थिति बनेपछि कात्तिक २२ गते प्रदेश सभाबाट राजीनामा घोषणा गरेका थिए ।
तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मधेश प्रदेश सभाको सबैभन्दा ठूलो दलको नाताले एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई कात्तिक २४ गते मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।
अस्वस्थ भएर उपचारका लागि काठमाडौं जान्छु भनेर मधेश भवनबाट निस्किएकी भण्डारीले यादवलाई बर्दिवासको एक होटलमा बिहानै कात्तिक २४ गते झिसमिसे बिहानीमा शपथ खुवाएपछि विवाद बढेको थियो । त्यसबाट असन्तुष्ट दलहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सो रिटमा सुनुवाइ गर्दै सर्वोच्चले २४ घण्टाभित्र विश्वासको मत लिन मुख्यमन्त्री यादवको नाममा मंसिर १५ गते परमादेश जारी गरेको थियो ।१०७ सदस्यीय मधेश प्रदेश सभामा सरकारको विश्वास कायम राख्न कम्तिमा ५४ मत आवश्यक पर्छ । तर ठूलो दल एमालेसँग सभामुखसहित २५ सांसद मात्र छन्, जसमा एकजना निलम्बित छन् ।उसको साथमा एक–एक सिटको नेपाल संघीय समाजवादी र राप्रपा पार्टी छ ।
पार्टीको नीतिविपरीत प्रदेश सरकारमा सहभागी भएर वन तथा वातावरणमन्त्री बनेकी कञ्चन बिच्छाको सांसद पद नै धरापमा छ । उनको सांसद पद खारेज गर्न राप्रपाले आइतबार नै प्रदेश सभालाई पत्राचार गरिसकेको छ ।सात दलीय गठबन्धनमा भने ७३ सांसद छन् । अहिलेसम्म गठबन्धनका दल एक ठाउँमा छन् । गठबन्धनमा कांग्रेसका २२, जसपा नेपालका १८, जनमतका १३, नेकपा माओवादी केन्द्रका ९, लोसपाका ८, नेकपा एकीकृत समाजवादीका ७ र नागरिक उन्मुक्ति पार्टीका १ सांसद छन् ।
यो अंक गणित कायमै रहे एमालेबाट मुख्यमन्त्री नियुक्त यादवले विश्वासको मत पाउने स्थिति देखिँदैन ।





































