चुनाव कि संसद पुनस्र्थापना ? जरुरी के हो ?
वि.सं.२०८२ पुस ३ बिहीवार १३:२७
shares

झट्ट हेर्दा चुनावको बिकल्प छैन । तर चुनाव हुनसक्ने वातावरण देखिदैन । एमालेले उद्घोष गरिसक्यो– जसरी पनि संसद पुनस्र्थापना गरिछाडिन्छ । चुनाव र संसद पुनस्र्थापना दुबै मुद्धा बहसमा छ, यो बहस हिंसामा परिणत हुन खतरा पनि उत्तिकै छ । खासगरी चुनाव र संसद पुनस्र्थापनाको मुद्दामा जेनजी पुस्ताको असहमतिले फेरि द्वन्द्व र भिडन्त हुने जोखिम बढेको देखिन्छ । यसकारण नेपालको राजनीतिक परिदृश्य साह्रै जटिल स्थितिमा छ । यो जटिलताको निकास चुनाव हो, चुनाव होइन । यसकारण त नेपालको राजनीतिक र कूटनीतिक बृत्तमा बाक्लै बहस सुनिन्छ– चुनाव भए के होला, नभए के होला ?
विश्लेषकहरु भनिरहेका छन्– निकास सहमति, संवाद, सहकार्य नै हो । पहिलेजस्तै अहंकार देखाउने र सत्तालोलुपतामा लाग्ने हो भने भदौ २३ र २४ दोहोरिनसक्छ । यति भयानक घटनापछि पनि ठूला दल र स्वार्थी नेताहरुमा चेत खुलेको देखिदैन । उनीहरु पश्चाप गर्ने, गल्ती कमजोरीप्रति माफी माग्ने, जनतालाई जनार्दन मान्ने, जनताप्रति जवाफदेही हुनैपर्छ भन्ने मान्यता राख्दैनन् । हामी लोकतन्त्र हौ, लोकतन्त्रवादी हौं, हामीलाई सबैले मान्नुपर्छ भन्ने भष्मासुरे प्रवृत्तिमा छन् । १४औं शताव्दिमा म नै राजा हुँ भन्ने घटना र लोकतन्त्रका बादशाहहरु उस्तै चरित्र र प्रवृत्तिका देखिन्छन् । यो भनेको दुर्घटनाको ग्यारेण्टी हो । लोकतन्त्र खरानी भइसक्यो, खरानीको व्यापार गरेर पनि कमाउनै पर्छ, लुट्नैपर्छ भन्ने सोचाइले राष्ट्रलाई दुर्गतिको खाडलमै जाक्ने भयो जस्तो लाग्छ ।
प्रजातन्त्रको बिकलप छैन, प्रजातन्त्र जनताको आवश्यकता हो । प्रजातन्त्रमा पार्टी चाहिन्छ । पार्टी पनि यत्ति धेरै नहोस् कि जता पनि पार्टी पार्टी देखियोस्, जनताले कुन पार्टी ठिक भनेर छनौट गर्न पनि मोहन कोइरालाको कविता अथवा रागिनी उपाध्यायको चित्र पढ्न हेर्न सकिने, बुझ्न नसकिने जस्तो नहोस् । मोहन कोइरालाको कविता पढ्न सकिन्छ, बुझ्न सकिन्न । रागिनी उपाध्यायको कला हेर्न सकिन्छ, बुझ्न सकिन्न । प्रजातन्त्र प्रजाको जीवनकला, जीवनगाथा हुनुपर्छ । जब जनताले प्रजातन्त्रलाई अपनत्व ग्रहण गर्छन्, तव प्रजातन्त्र जीवन्त बन्छ ।
लोकतन्त्र लोकजीवन बन्नसकेन । बिगत १० वर्षदेखि जनताले प्रजातन्त्र भनेको भ्रष्टाचार रहेछ भन्ने बुझे । प्रजातन्त्र भनेको नातावाद, कृपाबाद, व्यभिचार, अपराधतन्त्र भनेर बुझे । यसकारण जेनजीले हस्तक्षेप गरेका हुन् । जेनजीको आन्दोलन आगो बन्यो, हिंसा बन्यो र लोकतान्त्रिक गणतन्त्र चलाउनेहरु पुच्छर लुकाएर भाग्नुप¥यो, लुक्नुप¥यो । प्रजातन्त्र सरल हुनुपर्छ । प्रजातन्त्र जनताले बुझ्ने हुनुपर्छ । प्रजातन्त्रमा जनअपेक्षा, जनचाहना प्रतिविम्बित हुनुपर्छ । प्रजातन्त्रमा प्रजारञ्जन हुनुपर्छ । बिगतको १७ वर्ष प्रजातन्त्र भनेको प्रहरीतन्त्र, नेतातन्त्र, प्रशासकतन्त्र, अपराधतन्त्र बन्यो । यसकारण त नेता स्वयम्ले नेताकै सामु भन्नुप¥यो– कतै नेता पुगे भने कुन चोर आएछ ? यो अवस्था भनेको प्रजातन्त्र होइन, अपराधतन्त्र हो । देशले योभन्दा बढी अपराध थेग्न सक्दैन ।
जेनजी आन्दोलनपछिको स्थिति सामान्यीकरण गर्न फागुन २१ गते आवधिक निर्वाचन घोषणा भएको छ । चुनावमा सहभागी हुन निर्वाचन आयोगमा सवासय भन्दा बढी पार्टी दर्ता भएका छन् । पार्टी खोल्ने प्रतिस्पर्धा चलेको छ । मानौं प्रजातन्त्र भनेको पसलतन्त्र हो ? प्रजातन्त्र भनेको समाजको अवस्था बदल्ने साधन हो भन्ने विषय गौण बनेको छ । प्रजातन्त्र भनेको पार्टी निर्माण गर्नु र पैसा कमाउने हो भन्ने व्यापार बन्नु लोकतन्त्रको सबैभन्दा कुरुप पक्ष बन्न पुगेको छ । आधुनिक युगमा प्रजातन्त्र अपरिहार्य छ । प्रजातन्त्रमा दल जरूरी छ । प्रजातन्त्र चलायमान बनाउने दलहरूले नै हो । दलहरूले जनचेतना भर्छन्, संसदमा बहस गर्छन्, सरकारको नीति निर्माण गर्छन् र जनमत, जनबलअनुसार राज्य सञ्चालन हुनेगर्छ । यसकारण प्रजातन्त्रमा पार्टी जरूरी छ । प्रजातन्त्रको कसी दल हो, जनमतअनुसार चल्ने दलीयतन्त्र हो । यहाँ त जनतालाई भ्रमित पार्नेगरी दलैदल दर्ता भएका छन् । दलहरुको दलदल बनेको छ प्रजातन्त्र । दलदलमा देश बाँच्न सक्दैन । देश बचाउन यो दलदलबाट देश निस्कनैपर्छ । यसका लागि नेपाली जागरुकता अपरिहार्य छ ।
शासन पद्धति प्रजातन्त्र नै हो, प्रजातन्त्रमा दल हुनुपर्छ । दलका नीति, सिद्धान्त, उद्देश्य, योजना जनताले बुझ्न पाउनुपर्छ र कुन दल ठिक भनेर जनताले चुन्न पाउनुपर्छ । नेपालको प्रजातन्त्रमा दल कुशासनको दलदल बन्यो । दल जनअपेक्षामाथिको प्रहार हुनुहुन्नथ्यो । दल जनमतप्रति जवाफदेही हुनुपथ्र्यो । दल, दलका नेता जनताप्रति जवाफदेही र देशप्रति इमानदार बन्नुपथ्र्यो । प्रजातन्त्रको कसी नीति, सिद्धान्त, नैतिकता हुनुपथ्र्यो । यो लक्ष्मणरेखामा न ०४६ सालपछिको बहुदलीय तन्त्र बस्यो, न २०६३ पछिको लोकतान्त्रिक गणतन्त्र । दुबै तन्त्र बदनाम हुनपुग्यो, कालरात्रि हुनगयो । यसको कारण भनेकै दललाई स्वार्थ समूहले भ्रष्टाचार, अनियमितता, स्वार्थको दलदल बनाएकाले हो । यही दलदलको कारकका विरुद्ध जेनजी आन्दोलन, विस्फोटन भयो । एकपल्ट के बिस्फोटन भयो, यसको कारण देश ५० वर्ष पछि धकेलिएको छ । चानचुने सुधारबाट देश उठ्न सक्दैन । यसकारण व्यक्तिस्वार्थको नालीबाट देशलाई निकाल्न युवा जागरण अपरिहार्य छ ।
बिकेन्द्रीकरण र इमानदारिता, जवाफदेहीता प्रजातन्त्र हो । प्रजातन्त्र भनेको राज्यसंयन्त्रको पार्टीकरण होइन । प्रजातन्त्रका आफ्नै मत छन्, मान्यता छन्, सीमा छन् । बहुदल र लोकतान्त्रिक गणतन्त्रका दुबै अवस्थामा राज्यसञ्जाललाई पार्टीकरण गरियो । सामान्य प्रजातान्त्रिक सिद्धान्तको समेत हुर्मत लिइयो । प्रजातन्त्रलाई व्यभिचारकरण गरियो, पार्टीकरण गरियो, लेनदेन र आलोपालोको पद्धति बनाइयो । कार्यपालिकाले व्यवस्थापिका र न्यायपालिकामात्र होइन, संविधानका समूल अङ्ग प्रत्यङ्गमा पार्टीकरण गरिदिंदा अपराधकरण हुनपुग्यो । यसको नतिजा हो कुशासन । यसैको नतिजा हो, जनअसन्तुष्टी । यसैको नतिजा हो जेनजी आन्दोलन, आन्दोलनपछिको बिस्फोटन, बिद्रोह र हिंसात्मक आगजनी । अब पनि नबुझ्ने ? अब पनि नसच्चिने ? जुन जोगी आए पनि कानै चिरिएका भन्ने अवस्था कायम राख्ने हो भने शान्ति, समृद्धि, सुशासन स्यालको सिङ बनिरहनेछ । अराजकता र अस्थिरताको अन्त्य हुनेछैन । अहिलेसम्म सुशासन र लोकतन्त्रका नाममा राष्ट्र पार्टीतन्त्रको आहाल बन्नपुग्यो, परिणाम शान्ति, समृद्धि, समानताको माग गर्ने जनता पीडा भोगिरहेका छन् । यो दुस्परिणामको अन्त्य जरुरी छ । अन्यथा हिंसा र द्वन्द्वको अन्त्यहीन श्रृङ्खला जारी रहनेछ । समयको प्रश्न भनेको समाजवाद कि मृत्यु ? भन्ने छ । समाजवाद अर्थात् सुशासन, मृत्यु अर्थात समाप्ति । देश यही दोबाटोमा आइपुगेको छ । यसको निर्णय आमनेपालीले गर्नुपर्छ ।
संसद पुनस्र्थापना कि चुनाव ? विवाद कायमै छ । चुनाव हुनुपर्छ भन्नेहरु छन् तर चुनावमा सहभागी हुने नहुने, लड्ने नलड्ने, नयाँ पुस्तान्तरण गर्ने नगर्ने अनेक प्रश्रव पीडामा देखिन्छ राजनीतिक माहोल । चुनाव राष्ट्रिय महोत्सव बनाउन कोही जिम्मेवार बनेको देखिदैन । चुनाव भाँड्न संसद पुनस्र्थपना हुनुपर्छ भन्ने आवाज हिजोका भ्रष्टहरु उठाइरहेका छन् । जति बढी जनसहभागिता र पार्टी सहभागीता भयो, उति प्रजातन्त्र जिवन्त हुन्छ, जनजीवन बन्दैजान्छ । तर पछिल्लो समय पार्टीतन्त्र यसरी बढेको छ कि प्रत्यक्ष चुनाव, समानुपातिक र राष्ट्रियसभामा भागबण्डा गर्न र सरकारमा भाग पाउनकै लागि पनि पार्टी खोल्ने प्रतिस्पर्धा नै चलेको छ । सयभन्दा बढी दल दर्ता हुनु भनेको राजनीतिको व्यवसायकरण हो । अभियन्ता, विशेषज्ञले पनि पार्टी खोलेका अथवा खोल्न लगाएका घटना छन् । पार्टी खोल्नु नयाँ फेसन बनेको देखिन्छ । राजनीति फेसन होइन, जनता र देशप्रतिको जिम्मेवारी हो भन्ने चेतना जागेको छैन । जबसम्म राजनीति पसलतन्त्र बनिरहन्छ, तवसम्म जनताको आँखामा पार्टीतन्त्रको कसिंगर बिझाइरहनेछ । देशलाई पार्टीको पसलतन्त्र होइन, नेताको इमान र थोरै पार्टी र सस्तो चुनावी प्रकृया चाहिएको छ ।
चुनाव भए पनि अराजकता, नभए पनि अराजकता । संसद पुनस्र्थापना भए वा नभए पनि अराजकता । यो संशयको अन्त हुनैपर्छ । यसका लागि फेरि पनि जेनजी पुस्तासहितका सबै राजनीतिक शक्तिहरुवीच संवाद, सहमति र सहकार्यका साथ राजनीतिक मुद्दाको हल निकाल्न जरुरी छ । चुनाव, संसद पुनस्र्थापना भन्दा पनि राजनीतिक निकास देशको पहिलो आवश्यकता हो । सबैको चेत खुलास् ।






























