हेलिकोप्टर चार्टरमा नयाँ भाडा शुल्क, कम्तिमा १लाख २८ हजार देखि १६ लाख सम्म
वि.सं.२०८३ साउन २० बुधवार ०८:४८
shares

काठमाडौं । सरकारले इन्धनको मूल्य बढाएसँगै हेलिकोप्टर चार्टर तथा उद्धार उडानका लागि नयाँ दररेट सार्वजनिक भएको छ । नयाँ दररेट १५ सेप्टेम्बर २०२६ देखि लागु हुने वायु सेवा सञ्चालक संघले जनाएको छ ।
संघले सार्वजनिक गरेको नयाँ दररेटअनुसार काठमाडौं–काठमाडौं (एभरेस्ट क्षेत्र) अन्तर्गत फाप्लुको दर २९ सय अमेरिकी डलर, लुक्ला तीन हजार डलर, फाक्दिङ ३४ सय डलर, नाम्चे तथा आसपासका क्षेत्र ३७ सय डलर र तेङबोचे/देबुचे/पाङबोचे/थामे क्षेत्रको दर ३८ सय डलर तोकिएको छ ।एभरेस्ट बेस क्याम्पसम्मको दर ४६/५३ सय डलर तथा क्याम्प–१ र क्याम्प–२ का लागि क्रमशः ८७ सय र ९३ सय डलर तोकिएको छ ।
मकालु–कञ्चनजंघा क्षेत्रमा मकालु बेस क्याम्पको दर ५८ सय डलर, मकालु हाई क्याम्प ७ हजार डलर, घुन्सा ६४ सय डलर र कञ्चनजंघा बेस क्याम्प ७५ सय डलर तोकिएको छ ।त्यस्तै, रोल्वालिङ तथा लाङटाङ क्षेत्रमा चारिकोट दुई हजार डलर, लामाबगर २६ सय डलर, लाङटाङ–क्याङजिन दुई हजार डलर र गोसाइँकुण्ड १७ सय डलरको दर तोकिएको छ । मनास्लु क्षेत्रमा जगत/फिलिम २२ सय डलर, र मनास्लु बेस क्याम्प ३७ सय डलर तोकिएको छ ।
दुर्गम डोल्पो, सिमीकोट तथा अपि क्षेत्रमा भने दर तुलनात्मक रूपमा उच्च छ । दुनै/जुफाल ७५ सय डलर, साल्दाङ ९२ सय डलर, फोक्सुन्डो ८६ सय डलर, रारा ११ हजार डलर, सिमीकोट १२ हजार डलर डलर, हिल्सा १३ हजार ५०० डलर, लिमि १३ हजार ८०० डलर तथा साइपाल/अपि क्षेत्रका लागि १५ हजार डलर दर तोकिएको छ ।
यससँगै नेपालीका लागि हेलिकोप्टर उद्धार चार्टरको जिल्लाअनुसार ब्लक टाइम दर पनि सार्वजनिक गरिएको छ । जिल्लागत दरमा इलाम र झापाका लागि सात लाख ६३ हजार रुपैयाँ, पाँचथर सात लाख, ताप्लेजुङ सात लाख ६३ हजार, भोजपुर तथा धनकुटा पाँच लाख ९ हजार र मोरङ तथा संखुवासभाका लागि पाँच लाख ७३ हजार रुपैयाँ तोकिएको छ । काठमाडौं, भक्तपुर, काभ्रे र ललितपुरका लागि एक लाख २८ हजार रुपैयाँ तथा नुवाकोटका लागि एक लाख ५३ हजार रुपैयाँ दर तोकिएको छ ।
दुर्गम तथा हिमाली जिल्लामा उद्धार दर अझ बढी छ । डोल्पाका लागि १० लाख १७ हजार, हुम्ला १३ लाख ९९ हजार, जुम्ला १२ लाख ७२ हजार, मुगु १२ लाख ७२ हजार, बाजुरा १२ लाख ७२ हजार, डोटी र कैलाली १३ लाख ९९ हजार, बैतडी तथा डडेल्धुरा १५ लाख २६ हजार र दार्चुलाका लागि १६ लाख ५३ हजार रुपैयाँ तोकिएको छ ।
प्रदेशगत रूपमा हेर्दा सुदूरपश्चिमका धेरै जिल्लामा उद्धार चार्टरको शुल्क उच्च देखिएको छ । कञ्चनपुरका लागि १५ लाख २६ हजार, अछाम १२ लाख ८ हजार र बझाङका लागि १३ लाख ३५ हजार रुपैयाँ तोकिएको छ । बाँके ९ लाख ५४ हजार, बर्दिया १० लाख ८१ हजार, दैलेख ११ लाख ४५ हजार तथा जाजरकोट र सुर्खेत १० लाख १७ हजार रुपैयाँका दरमा छन् । यस्तै, दार्चुलाको सबैभन्दा धेरै १६ लाख ५३ हजार लाग्ने उल्लेख छ ।
पोखराका लागि नेपाली उद्धार चार्टर दर तीन लाख ८२ हजार रुपैयाँ, मुस्ताङका लागि पाँच लाख ७३ हजार, म्याग्दी र बागलुङका लागि पाँच लाख ९ हजार तथा मनाङका लागि तीन लाख ८२ हजार रुपैयाँ तोकिएको छ । नयाँ थपिएका सूचीमा नवलपुरका लागि तीन लाख ८२ हजार र पूर्वी रुकुमका लागि सात लाख ६३ हजार रुपैयाँ उल्लेख छ ।
दररेटमा उल्लेख भएअनुसार नेपाली उद्धार चार्टरका शुल्क १३ प्रतिशत भ्याटसहित हुन् । साथै, इन्धनको मूल्य र अमेरिकी डलरको विनिमय दरमा हुने उतारचढावका कारण यी लागत परिवर्तन हुन सक्ने उल्लेख गरिएको छ ।
अर्कोतर्फ, विदेशी/चार्टर उडानका प्रकाशित दरहरूमा १३ प्रतिशत भ्याट बाहेक रहेको उल्लेख छ । प्रतिबन्धित क्षेत्रमा हेलिकोप्टर अनुमति शुल्क प्रतिपटक २०० अमेरिकी डलर, अस्पताल टचडाउन प्रतिकेस २०० डलर तथा अतिरिक्त वा मार्गबाहिरको ल्यान्डिङका लागि २०० डलर शुल्क लाग्ने उल्लेख छ । विमानस्थल बाहिर लाग्ने स्थानीय कर तथा अन्य शुल्क चार्टर पार्टीले नै व्यहोर्नुपर्ने व्यवस्था गरिएको छ ।
नयाँ दररेटले नेपालका प्रमुख हिमाली पदयात्रा क्षेत्रदेखि दुर्गम तथा उच्च हिमाली उद्धारसम्मका हेलिकोप्टर सेवाको शुल्कलाई क्षेत्र र गन्तव्यअनुसार छुट्टाछुट्टै निर्धारण गरेको देखिन्छ । नयाँ दर १५ सेप्टेम्बर २०२६ देखि प्रभावकारी हुने उल्लेख छ ।





































