रुसको युक्रेनमाथि सयौँ ड्रोन र दर्जनौँ क्षेप्यास्त्र प्रहार गर्दै रातभर व्यापक आक्रमण
वि.सं.२०८२ पुस २६ शनिवार १९:३०
shares

किएभ । रुसले युक्रेनमाथि सयौँ ड्रोन र दर्जनौँ क्षेप्यास्त्र प्रहार गर्दै रातभर व्यापक आक्रमण गरेको छ।
यस भीषण आक्रमणमा राजधानी किएभमा कम्तीमा चार जनाको ज्यान गएको छ भने २५ भन्दा बढी मानिस घाइते भएका छन्। करिब चार वर्षदेखि जारी युद्धमा रुसले दोस्रो पटक आफ्नो शक्तिशाली नयाँ हाइपरसोनिक ब्यालेस्टिक मिसाइल ‘ओरेसनिक’ प्रयोग गरेपछि विश्वको ध्यान तानिएको छ। यसलाई पश्चिमा मुलुक र नेटो सहयोगीहरूतर्फ रुसको कडा चेतावनीका रूपमा विश्लेषण गरिएको छ।
आक्रमणका कारण चिसो मौसममा किएभका करिब छ हजार अपार्टमेन्ट भवनहरूमा ताप प्रणाली र पानी आपूर्ति ठप्प भएको छ। तापक्रम माइनस आठ डिग्री सेल्सियससम्म झरेको बेला अस्पताल र प्रसूति वार्ड जस्ता अत्यावश्यक सेवामा समेत समस्या उत्पन्न भएपछि नगरपालिकाले पोर्टेबल बायलर प्रयोग गरी सेवा सुचारु गर्ने प्रयास गरिरहेको छ। किएभ सहर सैन्य प्रशासनका अनुसार ज्यान गुमाउनेमा एक स्वास्थ्यकर्मी समेत छन्। युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आक्रमणका क्रममा कतारी दूतावासमा समेत क्षति पुगेको जानकारी दिँदै अमेरिकाबाट यसको ‘स्पष्ट र कडा प्रतिक्रिया’ आउनुपर्ने माग गरेका छन्।
रुसले पश्चिमी सहर लिभिभलाई लक्षित गरी ओरेसनिक मिसाइल प्रहार गरेको पाइएको छ, जसको भग्नावशेष फेला परेपछि युक्रेनी सुरक्षा निकायले अनुसन्धान सुरु गरेको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यो मिसाइल ‘उल्कापिण्ड’ जस्तै तीव्र गतिमा जाने र कुनै पनि रक्षा प्रणालीले यसलाई रोक्न नसक्ने दाबी गर्दै आएका छन्। रुसी रक्षा मन्त्रालयले भने आफ्नो राष्ट्रपति निवासमाथि युक्रेनले गरेको ड्रोन आक्रमणको प्रतिशोध स्वरूप यो कारबाही गरिएको बताएको छ, जसलाई युक्रेन र अमेरिकाले अस्वीकार गरेका छन्।
युरोपेली नेताहरूले रुसको यो कदमलाई ‘बढ्दो र अस्वीकार्य’ भन्दै कडा निन्दा गरेका छन्। युरोपेली सङ्घ (इयु) का शीर्ष विदेश नीति प्रतिनिधि काजा कल्लासले रुसको जवाफ सधैँ विनाश मात्र हुने टिप्पणी गरेकी छिन्। घटनापछि युक्रेनी विदेशमन्त्री आन्द्रिइ सिबिहाले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद् र युक्रेन–नेटो परिषद्को आपत्कालीन बैठक आह्वान गरिने जानकारी दिएका छन्। यसैबीच भ्याटिकनबाट पोप लियो चौधौँले तत्काल युद्धविराम र संवादमार्फत शान्तिको बाटो खोज्न अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेका छन्।






































