एमालेमा प्रवेश गर्दै के भने शेयर लगानीकर्ता अग्रवालले ?
वि.सं.२०८२ माघ १० शनिवार १५:५७
shares

काठमाडौं । शेयर लगानीकर्ता तथा जसपा नेपालका पूर्वकेन्द्रीय सदस्य दीपेन्द्र अग्रवालले पुँजी बजारको सुरक्षित भविष्य सुनिश्चित गर्न नेकपा (एमाले)मा प्रवेश गरेको बताएका छन् ।
शनिबार नेकपा (एमाले)को केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अग्रवालले नेकपा (एमाले) तीन पुस्ताको पार्टी भएको उल्लेख गरे । उनले आफ्नो बाबु, आफू र आफ्नो छोरा समेत एमालेसँग आबद्ध रहेको बताउँदै एमालेप्रति आफ्नो परिवारको लामो राजनीतिक सम्बन्ध रहेको स्पष्ट पारे । देशमा धेरै राजनीतिक दल भए पनि एमाले राष्ट्र र राष्ट्र प्रेमले ओतप्रोत पार्टी भएको उनको दाबी छ ।
अग्रवालले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रवादी छविका कारण आफूले एमाले रोजेको बताए । नेपालको चुच्चे नक्सा जारी गर्ने निर्णय होस् वा भूकम्पले क्षतविक्षत भएको देशलाई पुनः उठाउने काममा केपी ओलीले खेलेको भूमिकालाई भुल्न नसकिने योगदानको रूपमा उल्लेख गरे ।सामान्य व्यवसायबाट अघि बढेको व्यक्ति भएको उल्लेख गर्दै अग्रवालले सम्पूर्ण शेयर लगानीकर्ताको अधिकारका लागि निरन्तर आवाज उठाउँदै आएको बताए । सोही क्रममा आफूविरुद्ध विभिन्न मुद्दा लगाइए पनि लाखौं शेयर लगानीकर्ताको समर्थन र आशीर्वादकै कारण आजको अवस्थामा आइपुगेको उनको भनाइ छ ।
अग्रवालले पारदर्शी, सुरक्षित र लगानीमैत्री पुँजी बजारको माग गर्दै आएको उल्लेख गरे । हाल पुँजी बजार विचौलियाको प्रभावमा रहेको भन्दै साना लगानीकर्ताको आवाज राज्यस्तरमा कहिल्यै नसुनिने गरेको गुनासो पनि व्यक्त गरे ।केपी शर्मा ओली नेतृत्वको सरकार रहेका बेला नेपाली शेयर बजारले सकारात्मक अनुभव गरेको उनको दाबी छ । उनका अनुसार त्यो केवल संयोग नभई एमाले नेतृत्वको नीतिगत स्पष्टता र सकारात्मक सोचका कारण लगानीकर्ताको मनोबल उच्च र बजार भरोसायोग्य बनेको हो ।‘एमालेको सरकार हुँदा ७२ लाख शेयर लगानीकर्ताको मनोबल उच्च रह्यो, अब हामी सबै एक ठाउँमा उभिनेछौँ,’ उनले भने ।अग्रवालले केपी शर्मा ओली पुनः प्रधानमन्त्री बनेपछि नेपाली शेयर बजारले फेरि पीडा भोग्न नपर्ने विश्वास व्यक्त गरे । पुँजी बजारका समस्या समाधान गर्ने प्रतिबद्धताकै आधारमा आफूहरूले एमाले रोजेको उनको भनाइ छ ।
एमाले प्रवेशलाई कुनै व्यक्तिगत स्वार्थ नभई समयको आवश्यकता भएको उल्लेख गर्दै अग्रवालले यसलाई राजनीतिक यात्रा मात्र नभई आर्थिक सुधारको अभियानसमेत भएको बताए । ‘पुँजी बजारको सुरक्षित भविष्यका लागि नेकपा (एमाले)मा प्रवेश गरेका छौँ,’ उनले भने ।उनले नेपाली शेयर बजारलाई ‘नेपाली आमाको सम्मान र पहिचान’का रूपमा व्याख्या गर्दै बजारको संरक्षण र भविष्य सुरक्षित गर्न एमालेको सरकार आवश्यक रहेको धारणा व्यक्त गरे ।


































