अध्यागमनको ट्रयाकिङमा विदेशी नागरिक
वि.सं.२०८३ वैशाख ३१ बिहीवार ११:००
shares

काठमाडौ । अध्यागमन विभागको आयोजनामा सरोकारवाला निकायहरुसँग छलफल गरि विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको छ । छलफलमा विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीमा देशको सुरुक्षा र स्वयम् विदेशी नागरिकहरुको समेत सुरक्षाको लागि पनि यो प्रणालीमा आउनु पर्ने छलफलमा उठेका थिए ।
छलफल कार्यक्रममा अध्यागमन विभागले विदेशी नागरिक अनुगमन प्रणाली एफ एन एम आई एस कार्यान्वयनको प्रगतिबारे पनि समीक्षा गरेको छ ।
हालसम्म होटल, ट्रेकिङ्ग एजेन्सी, आन्तरिक विमान कम्पनी र विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने एक हजार पाँच सय ४३ वटा सेवा प्रदायक संस्थाहरु त्यस प्रणालीमा आवद्ध भएको जनाएका छन् । जसमध्ये ९४ वटा होटल उक्त प्रणालीमा आवद्ध भएका छन् भने उक्त प्रणालीमार्फत् करिब एकलाख २५ हजार यात्रुहरुको अभिलेखाङ्कन भएका छन्
उक्त प्रणाली सन् २०२६ जनवरी १ देखि काठमाडौंका तारे होटलहरुमा र मार्च १ देखि विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने सबै सेवा प्रदायकहरु संघ–संस्थाहरुमा लागू भएको छ ।
अध्यगमन विभागका निर्देशक तथा प्रवक्ता टिकाराम ढकालले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीको उद्देश्य विदेशी नागरिकको सुरक्षा, राष्ट्रिय सुरक्षा, विदेशी नागरिकको गतिविधिको अनुगमन तथा अपराध नियन्त्रण, मुलुकमा पर्यटकीय दृष्टिकोणले सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्ने मुख्य उद्देश्य रहेको बताउनु भयो ।
छलफल कार्यक्रममा गृह मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग, आन्तरिक राजस्व विभाग, होटल एसोशिएसन नेपाल (हान), होटल व्यवसायी महासंघ, पर्यटक प्रहरी लगायत सरोकारवाला निकायहरुको सहभागिता रहेका थिए ।
होटल व्यसायीहरु होटल संघ र एसोसिएसनहरुसँग नजोडिएका कारण –एफ एन एम आई एस)मा आवद्धता संख्या कम भएको विषय उठेका थिए । विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीसम्बन्धी सचेतनाको कमी भएकोले आगामी दिनमा क्रमश यस सूचना प्रणालीमा जोड्दै जाने पनि छलफलमा उठेका थिए । साना होटल व्यवसायी यस सूचना प्रणालीमा आवद्ध हुन नसकेको जनाए । सबै स्तरका होटलहरुलाई समेत प्रणालीमा जोड्दै जाने र आगामी दिनमा प्रणालीमा आवद्ध भएका र नभएकाहरुलाई पनि सचेतनामूलक कार्याक्रममा सहभागी गराउने विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताउनु भयो ।
महानिर्देशक तिवारीले विभागले सरोकारवाला निकायसँग समन्वय गरि अनुगमनमा तीव्रता समेत दिने निर्णय जनाउनु भयो ।
होटल लगायत अन्य प्रकृतिका सेवा प्रदायकहरुलाई प्रणालीमा आवद्ध गर्न विभिन्न स्थानमा सचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ । उक्त प्रणालीमा राष्ट्रिय सुरक्षाको विषय भएको र धेरै होटलहरु उक्त प्रणालीमा आवद्ध हुन आउनु पर्ने बताउनु भयो ।
आन्तरिक राजस्व विभाग, पर्यटन विभागबाट होटललाई प्रवाह हुने सेवासँग –एफ एन एम आई एस)मा आवद्ध गर्ने र उक्त प्रणालीमा आवद्ध भएका होटलहरुको सूची अध्यागमनको नेपाली पोर्टमा राखी भिसा आवेदन गर्दाकै बखत आवद्ध होटल छनौंट गर्ने व्यवस्था लागू गर्ने लगायतका विकल्पहरुका बारेमा विभागले छलफल गरेको हो ।



































