सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

छ महिनामै बाडियो झण्डै १० करोड रूपैयाँ कार्यकर्तालाई

416
shares

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले ६ महिनामा आर्थिक सहायताको नाममा साढे ९ करोड रुपैयाँभन्दा बढी रकम वितरण गरेको पाइएको छ ।

आर्थिक सहायताको नाममा बाँडिने यस्तो रकम धेरैजसो सरकारमा सहभागी दलका प्रभावशाली नेता तथा कार्यकर्तालाई दिने गरिन्छ ।गृह मन्त्रालय स्रोतका अनुसार आर्थिक वर्ष २०७८/७९ सुरु भएपछिको ६ महिना (साउन देखि पुससम्म)मा आर्थिक सहायताको नाममा ९ करोड ५५ लाख २० हजार रुपैयाँ वितरण गरिएको छ ।

आर्थिक सहायता गृह मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपछि वितरण गर्ने गरिन्छ, तर कतिपय आर्थिक सहायताको प्रस्ताव सिधै मन्त्रिपरिषषदबाट निर्णय भएपछि मात्र गृहमा आउने गरेको स्रोतको दाबी छ ।यस विषयमा गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलसँग जिज्ञासा राख्दा आर्थिक सहायता प्राप्त गर्ने व्यक्तिको जानकारी दिन नमिल्ने बताएका छ ।

‘जानकारी दिन मिल्दैन । हाम्रोमा सबै रेकर्ड पनि छैन । निर्णय मन्त्रिपरिषद्ले गर्छ, पाउने व्यत्तिको सम्पूर्ण विवरण पनि मन्त्रिपरिषद्सँगै हुन्छ,’ गृह प्रवक्ता पोखरेलको भनाइ छ ।गत आर्थिक वर्ष २०७७/७८ मा तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले आर्थिक सहायताको नाममा ७ करोड ८८ लाख रुपैयाँ वितरण गरेको थियो ।

अघिल्लो एक आर्थिक वर्षमा वितरण गरिएभन्दा बढी रकम देउवा नेतृत्वको सरकारले यस आर्थिक वर्षको पहिलो ६ महिनामा वितरण गरिसकेको छ ।चालु आर्थिक वर्षको सुरुवाती ६ महिनामा सरकारले प्रत्येक महिना औषतमा १ करोड ५९ लाख २० हजार रुपैयाँ आर्थिक सहायताको नाममा वितरण गर्दै आएको छ ।

नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी कार्यविधि, २०६८ (दोस्रो संशोधन २०७३) को आधारमा यस्तो आर्थिक सहायता वितरण गर्दै आइएको छ । आर्थिक सहायताका नाममा मनपरी रकम वितरण हुनथालेपछि यसलाई रोक्न कार्यविधि बनाइएको थियो । कार्यविधि बनाइए पनि आर्थिक सहायताका नाममा राज्य कोष दोहन गरी नेता कार्यकर्ता पोस्ने कार्य भने रोकिएको छैन ।

राष्ट्रिय जीवनका महत्वपूर्ण व्यक्तिलाई औषधोपचार तथा आर्थिक सहायता तोकिएको दरमा उपलब्ध गराउने कार्यविधिमा उल्लेख छ । कार्यविधिमा औषधोपचारका लागि बाहेक अन्य प्रयोजनका लागि कुनै पनि व्यक्तिलाई आर्थिक सहायता उपलब्ध नगराइने कुरा स्पष्ट लेखिएको छ ।कार्यविधिमा पूर्व प्रधानमन्त्रीलाई बढीमा १५ लाख रुपैयाँ दिन मिल्ने जनाइएको छ । अन्य विभिन्न क्षेत्रमा उल्लेख्य योगदान पुर्याएकालाई बढीमा ७ लाख रुपैयाँसम्म आर्थिक सहायता दिन सकिने व्यवस्था कार्यविधिमा गरिएको छ ।

कार्यविधिमा यस्तो आर्थिक सहायता प्राप्त गर्नेको विवरण वेबसाइट मार्फत सार्वजनिक गर्नुपर्ने स्प्ष्ट किटान गरिएको छ । तर गृहले केही वर्षयता यस्ता विवरण सार्वजनिक गरेको छैन । यस्तो विवरण माग्दा गृहले ‘दिन नमिल्ने’ बताउँदै आएको छ ।

कसले कति बाँडे ?

२०७० सालमा दोस्रो पटक संविधानसभा निर्वाचन भएपछि देशमा ६ वटा सरकार बनेका छन् । ६ वटा सरकारको नेतृत्व चार जना व्यक्तिले गरेका छन् । दोस्रो संविधानसभा निर्वाचनपछि क्रमशः सुशील कोइराला, केपी शर्मा ओली, प्रचण्ड र शेरबहादुर देउवाले सरकारको नेतृत्व गरेका थिए ।

अर्थ मन्त्रालयको तथ्याङ्क अनुसार २०७० मा सम्पन्न दोस्रो संविधानसभा निर्वाचन पछि बनेका सरकारले हालसम्म २ अर्ब १५ करोड १९ लाख २९ हजार ७२ रुपैयाँ आर्थिक सहायताको नाममा वितरण गरेका छन् ।नेपाली कांग्रेसका तत्कालिन सभापति सुशील कोइराला २०७० माघ २८ गतेदेखि २०७२ असोज २४ गतेसम्म प्रधानमन्त्री रहेका थिए । उनले करिव २० महिना सरकारको नेतृत्व गर्दा आर्थिक सहायता शीर्षकमा ३७ करोड २८ लाख ८७ हजार ४२० रुपैयाँ वितरण गरेका थिए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलो पटक २०७२ असोज २४ देखि २०७३ साउन १८ गतेसम्म प्रधानमन्त्री बनेका थिए । उनी दोस्रो पटक २०७४ फागुन ३ देखि २०७८ असार २९ गतेसम्म प्रधानमन्त्री बनेका थिए । पहिलो र दोस्रो पटक गरी उनी करिव ५१ महिना प्रधानमन्त्रीको कुर्सीमा रहे । यो अवधिमा उनले आर्थिक सहायताको नाममा ६९ करोड ६ लाख ६० हजार ५५० रुपैयाँ वितरण गरेको अर्थको तथ्याङ्कले देखाउँछ ।

यो अवधिमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले २०७३ साउन १९ देखि २०७४ जेठ २३ गतेसम्म सरकारको नेतृत्व गरेका थिए । करिव १० महिना प्रधानमन्त्रीमा कुर्सीमा रहँदा उनले आर्थिक सहायताको नाममा ५९ करोड ४६ लाख ७१ हजार १०२ रुपैयाँ वितरण गरेका थिए ।

दोस्रो संविधानसभा निर्वाचनपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुई पटक प्रधानमन्त्री भएका छन् । उनले २०७४ जेठ २३ गतेदेखि २०७४ फागुन २ गतेसम्म सरकारको नेतृत्व गरेका थिए । उनले यो करिव ८ महिनाको अवधिमा आर्थिक सहायता शिर्षकमा ३९ करोड ८१ लाख ९० हजार रुपैयाँ वितरण गरेका थिए ।

देउवा २०७८ असार २९ गते पुनः देशको प्रधानमन्त्री नियुक्त भए । त्यसयताको ६ महिनामा देउवाले आर्थिक सहायताको नाममा ९ करोड ५५ लाख २० हजार रुपैयाँ वितरण गरेका छन् । दोस्रो संविधानसभा निर्वाचनपछि देउवा नेतृत्वको दुई वटा सरकारले (करिव १४ महिनामा) आर्थिक सहायताको नाममा कूल ४९ करोड ३७ लाख १० हजार रुपैयाँ बाँडेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports