आज पुष्पलाल स्मृति दिवस मनाइँदै
वि.सं.२०८३ साउन ७ बिहीवार ०८:४५
shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलालको ४८ औं स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ । नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी लगायतका कम्युनिस्ट पार्टीले विविध कार्यक्रम गरी दिवस मनाउन लागेका छन् ।
विसं १९८१ असार १५ गते रामेछापमा पिता भक्तलाल र आमा तुलसीकुमारीका माहिला छोराका रूपमा जन्मिएका पुष्पलालले प्रवासमा बसेर नेकपाका गतिविधि अगाडि बढाएका थिए । उनी सहिद गङ्गालालको भाइ हुन् ।पुष्पलालले कार्लमाक्स र फेडरिक एङगेल्सद्वारा लिखित ‘कम्युनिस्ट मेनिफेस्टो’को पहिलोपटक नेपाली भाषामा अनुवाद गर्नुका साथै विभिन्न कृति र लेखमार्फत नेपाली समाजको वर्ग विश्लेषण गरेका थिए ।
विसं २००६ वैशाखमा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर उनले भारतको कोलकातामा नेकपा स्थापना गरेका थिए ।नेकपा स्थापना गर्नुअघि विसं १९९८ मा उनले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासंँग मिलेर नेपाली प्रजातान्त्रिक सङ्घ गठन गरेका थिए ।नेपाली कांग्रेस लगायत प्रजातान्त्रिक शक्तिसंँग मिलेर संयुक्त जनआन्दोलन गरी पञ्चायती व्यवस्था परास्त गर्नुपर्छ भन्ने मत राखेका थिए । उनको विसं २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा निधन भएको थियो ।
स्मृति दिवसका अवसरमा आज नेकपा (एमाले) राजधानी प्रदेश कमिटीले एक कार्यक्रमको आयोजना गरेको छ ।यस्तै, नेपाली कम्युनिस्ट पार्टी लगायतले पनि स्मृति दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरेको जनाएका छन् ।






































