लोक कल्याणकारी विज्ञापनको बिल बिजक बुझाउने म्याद असोज १५ गते सम्म थप
वि.सं.२०८३ असोज ७ बुधवार १०:५९
shares

काठमाडौँ। विज्ञापन बोर्डले लोक कल्याणकारी विज्ञापन प्रकाशन गरेका पत्रपत्रिकालाई बिल–बीजकसहितका आवश्यक कागजात बुझाउने समय थप गरेको छ।
बोर्डले आर्थिक वर्ष २०७९/८० को पत्रपत्रिका वर्गीकरण पुनरावलोकनसहितको अन्तिम नतिजासम्बन्धी प्रतिवेदन, २०८२ मा समावेश भएका पत्रपत्रिकाका लागि यस्तो समय थप गरेको हो।
बोर्डका प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे (खत्री) का अनुसार यसअघि गत साउन र भदौ महिनामा लोक कल्याणकारी विज्ञापन प्रकाशन गरेका तथा संशोधित कार्यविधिले तोकेको मापदण्ड पूरा गरेका पत्रपत्रिकालाई बिल–बीजकसहितका कागजात असोज ७ गतेसम्म विज्ञापन बोर्ड वा सम्बन्धित हुलाक निर्देशनालय तथा जिल्ला हुलाक कार्यालयमा बुझाउन भनिएको थियो।
तर वर्गीकरणमा परेका केही पत्रपत्रिका अझै सूचीकरण तथा नवीकरण हुन बाँकी रहेको देखिएपछि कागजात बुझाउने समय थप गरिएको बोर्डले जनाएको छ। अब साउन र भदौ महिनामा लोक कल्याणकारी विज्ञापन प्रकाशन गरेका सम्बन्धित पत्रपत्रिकाले असोज १५ गतेसम्म बिल–बीजकसहित आवश्यक कागजात बुझाउन सक्नेछन्।
बोर्डले यसबारे सम्बन्धित पत्रपत्रिका तथा हुलाक निर्देशनालय र जिल्ला हुलाक कार्यालयलाई समेत परिपत्र गरेको छ।




































