२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सर्वोच्च अदालतको आदेश : शरणार्थीका सन्तानलाई देश छोडेर बाहिर जान बन्देज नलगाउन सरकारका नाममा आदेश

117
shares

काठमाडौं । सर्वोच्च अदालतले भुटानी शरणार्थीका परिवारका सदस्य तथा सन्तानहरूलाई देश छाड्न बन्देज नलगाउन सरकारका नाममा आदेश जारी गरेको छ ।

शरणार्थीका सन्तानलाई देश छाड्न अनुमति नदिँदा उनीहरूको कानूनी पुनर्वास, पारिवारिक पुनर्मिलन र सुरक्षित आवागमनको अवरोध भएको ठहरिने भन्दै सर्वोच्च अदालतले उनीहरुलाई निषेध नगर्न आदेश दिएको हो ।‘शरणार्थीको स्वतन्त्र आवगमन र पारिवारिक पुनर्मिलनमा अनावश्यक, असंगत वा कारणविहीन अवरोध सिर्जना गर्न नदिने मापदण्डहरू बाध्यकारी मानकको रुपमा स्थापित छन्’ एक शरणार्थी परिवारलाई विदेश जान अनुमति नदिएको विषयमा परेको रिट निवेदनमा परमादेश जारी गर्दै सर्वोच्च अदालतले भनेको छ, ‘नेपाल लगायत कुनै पनि राज्यले पुनर्स्थापना प्रक्रियामा अवरोध नगरी अझ सहजीकरण गर्ने दायित्व बहन गर्नुपर्ने हुन्छ।’

शरणार्थीका सन्तानहरूलाई बाबुआमासँगको पुनर्मिलन रोक्नुले पारिवारिक एकता पनि भाँडिने भन्दै सर्वोच्च अदालतले त्यसलाई अन्तराष्ट्रिय संरक्षणका सिद्धान्तको प्रतिकूल भनेको हो ।‘यस्तो कार्य जिम्मेवार निकायको अकर्मण्यता र कानूनी शासनको सिद्धान्त प्रतिकूल मान्नुपर्ने हुन्छ’ सर्वोच्च अदालतले आदेशमा भनेको छ, ‘जहाँ राज्यको दायित्व रहन्छ त्यहाँ सरकार मुकदर्शक भएर बस्न मिल्दैन। शरणार्थीको पुनर्मिलनको अवरोध हटाउन उचित र आवश्यक सहजीकरण गर्नुपर्दछ ।’सोनिका अंकारी, सन्ध्या अंकारी र श्रीजन अंकारी झापाको बेलडाँगी शरणार्थी शिविरमा जन्मिएका दिदी भाई हुन् । उनीहरुका बाबु मोनीकुमार सन् १९९० को दशकमा भुटानमा भएको दमन र मानव अधिकार उल्लंघनका कारण शरणार्थी बनेर झापा आएका थिए ।

शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयको तेस्रो मुलुक पुनस्र्थापना कार्यक्रम अनुसार उनीहरुको बाबु मोनीकुमार सन् २०१५ मा अमेरिका गएका थिए । र, सन् २०२४ मा उनीहरूकी आमा गीता गिरी पनि अमेरिका पुगेकी थिइन् ।त्यसपछि उनीहरूका तीन जना छोराछोरीले गत जेठमा यात्रा अनुमति पात्रका लागि सिफारिस मागेर जिल्ला प्रशासन कार्यालय, झापामा निवेदन दिए ।जिल्ला प्रशासन, झापाले शरणार्थी व्यवस्थापन सूचना प्रणालीमा दर्ता नभएकाले उनीहरूलाई यात्रा अनुमतिको सिफारिस दिन नसकिने निर्णय गरिदियो ।गृह मन्त्रालयको दाबी अनुसार, उनीहरूको बाबु शरणार्थी भएका र तेस्रो मुलुकमा पुनस्र्थापना भएकाले अभिलेखबाट लगत कट्टा भएको हो । अनि उनीहरूकी आमा शरणार्थी नभएकाले उनीहरूलाई शरणार्थीको हैसियतमा निकास अनुमति दिन नसकिएको हो ।

उनीहरूको जन्मदर्ताको अभिलेख रहेको, डीएनए परीक्षणबाट बाबुआमा र सन्तान भएको पुष्टि भएको अनि बाबुआमा शरणार्थीको हैसियतले अमेरिकामा पुगेको निष्कर्ष सहित सर्वोच्च अदालतले उनीहरूलाई यात्रा अनुमति नभएकोमा प्रश्न उठाएको हो ।कानून अनुसार सम्पूर्ण प्रक्रिया पुरा गरेर दिएको निवेदनमाथि जिल्ला प्रशासन कार्यालय, झापाले परीक्षण गरी प्रस्ताव अनुमतिबारे तत्काल निर्णय गर्नुपर्ने थियो । तर प्रमाणले अनुमति हुने वा नहुने कुनै निर्णय नगरेकोमा प्रश्न उठाउँदै सर्वोच्च अदालतले भनेको छ, ‘यस्ता कार्य शरणार्थीको परिवारको देश छोड्ने अधिकार र परिवारको अधिकारको रचनात्मक उलंघन ठहर्छ ।’

बाबु शरणार्थीकै हैसियतमा अमेरिकामा पुगेको, वैवाहिक अंगीकृत सम्बन्धका आमासमेत अमेरिका पुगेको अवस्थामा सन्तानहरूलाई प्रशासनिक तहबाट निकास अनुमति दिन निषेध गर्न नहुने सर्वोच्च अदालतको ठहर हो ।‘शरणार्थीका बालबालिकालाई देश छोड्न अनुमति अस्विकार गर्नुको अर्थ कानूनी पुनर्वास, पारिवारिक पुनर्मिलन तथा सुरक्षित आवगमनको अवरोध हो’ सर्वोच्च अदालतले फैसलामा भनेको छ, ‘उनीहरूलाई अमेरिकामा पुनर्वासको निमित्त निकास अनुमतिपत्र दिलाउनु भनी परमादेश जारी गरिदिएको छ ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports