कांग्रेस मा १ सभापति, १ वरिष्ठ उपसभापति, चार उपसभापति, एक महिला तीन महामन्त्री र ११ निर्वाचित सहमहामन्त्री हुने
वि.सं.२०८३ असोज १९ सोमवार १८:५२
shares

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकार बढाएको छ । १५ औँ महाधिवेशनको बन्दसत्रले केन्द्रीय समितिको आकार बढाउने महामन्त्री प्रदीप पौडेलको प्रस्ताव पारित गरेको हो ।
महाधिवेशन प्रतिनिधि नै ७७ सय पुगेकाले समितिको आकार बढेको बताए । यसअघि कांग्रेसको केन्द्रीय समिति १६७ सदस्यीय थियो । अहिले बढाएर २९७ जना रहने बनाइएको महामन्त्री पौडेलले बताए ।विधान संशोधन गर्दै १ सभापति, १ वरिष्ठ उपसभापति, चार उपसभापति, एक महिला तीन महामन्त्री र ११ निर्वाचित सहमहामन्त्री हुने बताए। उनका अनुसार ४ सहमहामन्त्री सभापतिले मनोनीत गर्नेछन् ।
२९७ जना केन्द्रीय सदस्यमध्ये ६६ जना सभापतिले मनोनीत गर्ने उनले बताए । उनका अनुसार प्रतिनिधि संसदीय दलका नेता र प्रदेश सभापति केन्द्रीय कार्यसमितिको पदेन सदस्य हुनेछन् ।
केन्द्रीय कार्यसम्पादन समिति पनि ३१ बाट बढाएर ४१ पुर्याइएको बताए । यस्तै, कोषाध्यक्ष र प्रवक्ता सभापतिले पदाधिकारीको हैसियतमा मनोनीत गर्ने व्यवस्था गरेको प्रवक्ता देवराज चालिसेले बताए । उनका अनुसार आवश्यकता अनुसार सहप्रवक्ता पनि सभापतिले मनोनीत गर्नसक्नेछन्।



































