सुदूरपश्चिम प्रदेशका आठ स्थानमा सहुलियत मूल्य पसल सञ्चालनमा
वि.सं.२०८३ असोज २३ शुक्रवार ०८:४७
shares

चाडपर्वका बेला उपभोक्तालाई दैनिक उपभोग्य वस्तु सहुलियत दरमा उपलब्ध गराउने उद्देश्यले सुदूरपश्चिम प्रदेशका आठ स्थानमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याइएको छ। साल्ट ट्रेडिङ कर्पोरेसनले कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र बैतडीका विभिन्न स्थानमा पसल सञ्चालन गरेको हो।
साल्ट ट्रेडिङका अनुसार कैलालीको धनगढी, टीकापुर र अत्तरिया, कञ्चनपुरको महेन्द्रनगर र बेलौरी, डोटीको दिपायल, डडेलधुरा तथा बैतडीको पाटनमा सहुलियत मूल्य पसल सञ्चालन भइरहेका छन्।सहुलियत पसलमा चिनी प्रतिकिलो १ सय रुपैयाँमा बिक्री भइरहेको छ। बजार मूल्यभन्दा प्रतिकिलो २५ रुपैयाँसम्म सस्तोमा चिनी पाइने भएपछि खरिद गर्ने उपभोक्ताको भीड बढेको साल्ट ट्रेडिङले जनाएको छ।
साल्ट ट्रेडिङ कर्पोरेसन धनगढीका प्रमुख रूपबहादुर कुँवरका अनुसार तराईका सहुलियत पसलबाट एक जनालाई पाँच किलोसम्म र पहाडी जिल्लामा तीन किलोसम्म चिनी बिक्री गर्ने व्यवस्था गरिएको छ। धनगढीस्थित कार्यालय परिसरमा रहेको पसलबाट मात्रै दैनिक करिब २५ क्विन्टल चिनी बिक्री भइरहेको उनले जानकारी दिए।त्यसैगरी सहुलियत पसलमा नुन प्रतिकिलो २४ रुपैयाँमा उपलब्ध गराइएको छ। दाल, चामल र चिउरामा प्रतिकिलो सात रुपैयाँसम्म छुट दिइएको छ।
चाडपर्वका समयमा दैनिक उपभोग्य वस्तुको माग बढेसँगै बजार मूल्यसमेत बढ्न सक्ने भएकाले उपभोक्तालाई राहत दिन सहुलियत मूल्य पसल सञ्चालन गरिएको साल्ट ट्रेडिङले जनाएको छ।यी पसल बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भइरहेका छन्। उपभोक्ताले चाडपर्वमा मात्रै नभई वर्षभरि नै सहुलियत मूल्य पसल सञ्चालन गर्नुपर्ने माग गरेका छन्।




































