चाडपर्वमा ग्यास सहज बनाउन जुनसुकै ब्रान्डका सिलिन्डर यी ४ स्थानमा साटन पाईने शुल्क नलाग्ने
वि.सं.२०८३ असोज २३ शुक्रवार १३:१३
shares

काठमाडौँ । चाडपर्वको समयमा काठमाडौँ उपत्यकामा एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न जुनसुकै ब्रान्डको खाली सिलिन्डर बुझाएर उपलब्ध अर्को ब्रान्डको भरी सिलिन्डर लिन पाइने व्यवस्था औपचारिक रूपमै लागू हुने भएको छ।
नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघबीच भएको छलफलपछि घटस्थापनादेखि फूलपातीसम्म यो व्यवस्था कार्यान्वयनमा ल्याउने सहमति जुटेको हो। यस व्यवस्थाअनुसार उपभोक्ताले आफूसँग भएको जुनसुकै कम्पनीको खाली सिलिन्डर तोकिएका केन्द्रहरूमा बुझाएर त्यहाँ मौजुद रहेको जुनसुकै ब्रान्डको भरी सिलिन्डर लिन पाउनेछन्। यसरी फरक ब्रान्डको सिलिन्डर साट्दा उपभोक्ताले कुनै पनि अतिरिक्त शुल्क तिर्नु नपर्ने निर्णय भएको छ।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख क्षेत्रहरूलाई समेटेर साझा बिक्री केन्द्र (आउटलेट) मार्फत यो सेवा उपलब्ध गराइनेछ। निगममा भएको वार्तापछि अध्यक्ष चन्दले भने, “हामीले संयुक्त रूपमा निर्णय गरिसकेका छौँ। घटस्थापनादेखि फूलपातीसम्म उपभोक्ताले कुनै पनि अतिरिक्त शुल्क नतिरी सिलिन्डर साट्न पाउनेछन्। काठमाडौँ उपत्यकामा बजारीकरण गरिने सबै ब्रान्डका सिलिन्डर यस व्यवस्थामा समेटिएका छन्।”
संघले प्रारम्भिक रूपमा उपत्यकाका विभिन्न भागका उपभोक्तालाई पायक पर्ने गरी पाँचवटा स्थान तय गरेको छ :
१. बालाजु : नेपाल ग्यासको आउटलेट
२. सीतापाइला : एभरेस्ट, सुगम लगायतका कम्पनीहरूको केन्द्र
३. सुकेधारा : बाबा ग्यासको बिक्री केन्द्र
४. पेप्सीकोला : सगर ग्यासको आउटलेट
५. हरिसिद्धि (ललितपुर) : श्रीराम ग्यासको केन्द्र (सम्भावित)
अध्यक्ष चन्दका अनुसार उपभोक्ताको चाप र आवश्यकता हेरेर अन्य स्थानहरू पनि थप गर्न सकिनेछ।
यसअघि नेपाल आयल निगमका प्रबन्ध निर्देशक नागेन्द्र शाहले चाडपर्वमा थोरै सिलिन्डर हुने उपभोक्ताले अभावका कारण सास्ती खेप्न नपरोस् भन्दै उद्योगीहरूलाई ठोस समाधान ल्याउन आग्रह गरेका थिए। पछिल्लो समयको अविरल वर्षा, बाढीपहिरो र सार्वजनिक बिदाका कारण उपत्यकामा आपूर्तिमा देखिएको असहजता हटाउन उद्योगीहरूले यो साझा संयन्त्र बनाएका हुन्।
आउटलेटहरूमा जम्मा हुने विभिन्न कम्पनीका खाली सिलिन्डरहरू पछि सम्बन्धित उद्योगीहरूले नै आपसमा साटासाट गर्ने भएकाले उपभोक्तालाई कुनै झन्झट नहुने संघले स्पष्ट पारेको छ।





































