२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

देशका अधिकांश भूभागमा मौसम बदली

234
shares

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागकी मौसमविद् माधवी सिग्देलले सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय रहेकाले त्यहाँका हिमाली र पहाडी भूभागमा भारी वर्षा भइरहेको बताएकी छन्।

शुक्रबारको मौसम बुलेटिन सार्वजनिक गर्दै उनले देशका अधिकांश भूभागमा मौसम बदली रहेको जानकारी दिइन्। अहिले देशका हिमाली र पहाडी भूभागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा साधारणतया बादल लागेको छ। बाँकी तराईका भूभागमा आंशिक बदलीदेखि हुस्सु लाग्ने क्रम जारी छ। सुदूरपश्चिममा वर्षा भइरहँदा बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

पछिल्लो २४ घण्टाको तथ्याङ्क प्रस्तुत गर्दै मौसमविद् सिग्देलले सुदूरपश्चिम प्रदेशको दार्चुलास्थित धरमपानी मौसम मापन केन्द्रमा सबैभन्दा धेरै ६१ मिलिमिटर वर्षा भएको जानकारी दिइन्। यसैगरी पोखराको मालेपाटनस्थित केन्द्रमा ४८.२ मिलिमिटर वर्षा मापन गरिएको छ।यस अवधिमा बागमती, गण्डकी र मधेस प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ। कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि हल्कादेखि मध्यम वर्षा भएको विभागको तथ्याङ्कले देखाएको छ।

आगामी २४ घण्टाको पूर्वानुमान गर्दै विभागले देशका धेरैजसो स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ। दिउँसोको समयमा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका ३० देखि ५० प्रतिशत स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ।मधेस प्रदेशसहित कोशी र सुदूरपश्चिमका थोरै स्थानमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुनेछ। रातिको समयमा मधेस प्रदेशका साथै कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागका १० देखि ३० प्रतिशत स्थानमा मध्यम वर्षाको सम्भावना छ।

बागमती र गण्डकीको तराई क्षेत्रसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा हिमपात वा वर्षा हुने पूर्वानुमान गरिएको छ। लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रमा भने राति मौसम सफा रहने र बिहानीपख हुस्सु लाग्नेछ।मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहेँलो रङको चेतावनी जारी गरेको छ। यी क्षेत्रका बासिन्दालाई मौसमबारे निरन्तर अद्यावधिक रहन आग्रह गरिएको छ।

देशका अन्य भूभागमा भने हरियो रङको सङ्केत दिइएको छ। देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा हुने भएकाले कृषि क्षेत्रमा असर पर्न सक्ने मौसमविद् सिग्देलले बताएकी छन्। उनले भनिन्, ‘पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र अन्य भूभागमा मध्यम वर्षा हुने सम्भावना रहेकाले कृषिमा असर पर्न सक्छ, त्यसैले आधिकारिक वेबसाइट र सामाजिक सञ्जालमार्फत मौसमको पछिल्लो जानकारी लिँदै गर्नुहोला।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports